18th January | 2020 | Saturday | 2:44:16 AM

नेपालको शानदार सुरुवात

हिमालय टाइम्स   POSTED ON : मंसिर १२, २०७६ (११:२८ AM)

नेपालको शानदार सुरुवात

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा शानदार सुरुवात गरेको छ । साग उद्घाटनअघि बुधबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले शानदार सुरुवात गरेको हो ।

नेपालले बंगलादेशमाथि २५–९, २५–९ र २५–११को सेटमा सजिलै पराजित गरेको हो । खेलभर नेपालले बंगलादेशलाई खुल्न नदिए पनि खेल भने निकै सुस्त देखियो । नेपाली प्रशिक्षक जगदीश भट्टले विपक्षी कमजोर भएकाले खेल सुस्त देखिएको बताए ।

‘बंगलादेश नयाँ र कम अनुभवी टिम हो,’ भट्टले भने, ‘त्यसकारण आजको खेल निकै सुस्त देखियो । उनीहरूले कमजोर प्रदर्शन गर्दा हामीले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न सकेनौं ।’ पहिलो दुई सेटमा नेपालले कुनै पनि बेला बंगलादेशलाई अग्रता लिन दिएको थिएन । यद्यपि सर्भिस बिगार्दा भने नेपालले बेला बेला अंक गुमायो । 

तेस्रो सेटमा भने प्रशिक्षक भट्टले सबै खेलाडीलाई मौका दिने उद्देश्यका साथ कोर्टमा उतारेका थिए । सोक्रममा बंगलादेशले सुरुवातमा अग्रता लिए पनि लगत्तै नेपाल पुनः अघि बढेको छ ।

यसअघि सागका तीन संस्करणमा भलिबलले सहभागिता जनाएको थियो । तीनै संस्करणमा नेपाल कास्य पदकमा सीमित भएको छ । १९९९, २०१० र २०१६ मा कास्यमा सीमित नेपाली भलिबल टोलीले यसपटक स्वर्ण जित्ने लक्ष्य लिएको छ ।

‘बंगलादेशविरुद्धको जितसँगै सागमा नेपालले सुखद् सुरुवात गरेको छ । हामी विगतको भन्दा राम्रो नतिजा ल्याउने लक्ष्यका साथ प्रतियोगिता खेलिरहेका छौं,’ प्रशिक्षक भट्टले भने, ‘स्वर्णको नतिजासहित हामीले चार महिनादेखि तयारी थालेका थियौं । त्यसले नतिजा पनि दिन थालेको छ ।’

यो जितसँगै समूह ‘ए’मा तीन अंक जोडेको नेपालको असरी परीक्षा भने बिहीबार भारतसँग हुनेछ । नेपाल दक्षिण एसियाकै पावर हाउस भारतबीच बिहीबार साँझ ५ बजे खेल हुनेछ । प्रशिक्षक भट्टले भने आफूहरू भारतविरुद्ध खेल्न तयार रहेको बताए ।

‘भारत दक्षिण एसियाको पावर हाउस हो, उनीहरूसँग खेल्दा हामी सम्पूर्ण क्षमतासहित कोर्टमा उत्रनेछौं,’ उनले भने, ‘घरेलु कोर्टमा हुने दर्शकको साथलाई प्रेरणाका रूपमा प्रयोग गर्दै कोर्टमा उत्रिने छौं, भारतलाई जितेको खण्डमा हाम्रा लागि स्वर्ण निश्चित हुन्छ ।’

टोलीकी कप्तान अरुणा शाहीले घरेलु कोर्टमा खेल्दा उत्साहसँगै दबाब भएको बताए । तर हामीले दबाबलाई पनि सकरात्मक रूपमा आत्मसाथ गरेर खेल जित्न सफल भएको उनले बताइन् ।

उषा र हिराको डेब्यू

ओपन स्पाइकर उषा भण्डारी र मिडल ब्लकर हीरा केसीले यही खेलमार्फत नेपाली महिला राष्ट्रिय भलिबल टोलीका लागि डेब्यु गरेका छन् । नेपालले १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पहिलो खेलमा बंगलादेशमाथि सहज जित दर्ता गर्दा दुवैले डेब्यु गरेका हुन् । यी दुवै बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलका लागि घोषित १८ सदस्यीय टोलीमा रहे पनि अन्तिम टोलीमा परेका थिएनन् । सागका लागि घोषित प्रारम्भिक टोलीमै अधिकांश नयाँ अनुहार टोलीमा रहेका थिए । सेन्ट्रल जोन प्रतियोगितामा ६ खेलाडीले डेब्यु गरेपछि अहिले हीरा र उषा पनि टोलीका नयाँ खेलाडीमा थपिएका थिए ।

माल्दिभ्सलाई वाकओभर

यसैबीच बुधबारका लागि तय भएको समूह ‘बी’को खेलमा माल्दिभ्सले वाकओभर पाएर ३ अंक जोडेको छ । पाकिस्तानले सहभागिता नजनाउने भएपछि माल्दिभ्सलाई विजेता घोषित गर्दै ३ अंक दिइएको हो । महिला भलिबलको समूह ‘ए’मा नेपाल, भारत र बंगलादेश छन् । समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन् ।


Views: 63