18th January | 2020 | Saturday | 2:53:07 AM

उपनिर्वाचनको तयारी पूरा

हिमालय टाइम्स   POSTED ON : मंसिर १३, २०७६ (१०:४० AM)

उपनिर्वाचनको तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको तयारी पूरा भएको जनाएको छ । आयोगले मतदान केन्द्रमा खटिएका कर्मचारीलाई कर्तव्यनिष्ठ भएर आ–आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशनसमेत दिएको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन पनि निर्देश गरेको छ ।

आयोगका अनुसार उपनिर्वाचन सम्पन्न गर्नका लागि ५ हजार ५५२ कर्मचारी मतदानस्थलमा पुगिसकेका छन् । मतदान हुनुअघि सर्वदलीय एवं सर्वपक्षीय बैठक आयोजना गरी उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन पहल गरिने आयोगको भनाइ छ ।

आयोगका अनुसार उपनिर्वाचन हुने क्षेत्रमा मतदाता परिचयपत्र वितरणको काम भइरहेको छ । मतदानका लागि फोटोसहितको मतदाता परिचयपत्र लिएर मतदान केन्द्रमा जान पनि आयोगले मतदाताहरूलाई आग्रह गरेको छ ।

शनिबार बिहान ७ बजेदेखि अपराहृन ५ बजेसम्म मतदानको समय तोकिएको छ । प्रतिनिधिसभाको एक, प्रदेशसभाको तीनसहित ५२ रिक्त पदमा हुने उपनिर्वाचनका लागि सुरक्षाको उचित प्रबन्ध भइसकेको आयोगको भनाइ छ ।


Views: 50