18th January | 2020 | Saturday | 6:18:43 PM

जब ट्रकसँग एम्बुलेन्स ठोक्कियो...

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७६ (१०:५३ AM)

जब ट्रकसँग एम्बुलेन्स ठोक्कियो...

काठमाडौं । सुनसरीमा एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किँदा एकै परिवारका पाँच जनासहित ६ जनाको मृत्यु भएको छ । 

विराटनगर मोडल अस्पतालबाट शव लिएर जाँदै गरेको एम्बुलेन्ससँग विपरीत दिशाबाट आएको ट्रक ठोक्किँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेहरूमा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका वर्ष ३४ का दुर्गाधन राई, वर्ष २८ का टेकेन्द्र राई, वर्ष ५० का तुलबहादुर राई, वर्ष ३५ का उद्धव राई र वर्ष ३२ का दिनेश राई छन् । उनीहरू पारिवारिक सदस्यहरू हुन् ।  

विराटनगरमा उपचाररत ७५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि उनलाई एम्बुलेन्सबाट ल्याउने क्रममा ट्रकले ठक्कर दिएको हो । मृतक तुलबहादुर शिवमायाका कान्छा छोरा हुन् । दुर्गाधन र टेकेन्द्र नातिहरू हुन् । उद्धव ज्वाइँ हुन् । दिनेश शिवमायाकै दिदीका छोरा हुन् । 

मृतक अर्का व्यक्ति एम्बुलेन्स चालक रहेको एम्बुलेन्स चालक संघ उदयपुरका अध्यक्ष मेहबुब आलमले बताए । चालक उदयपुरको त्रियुगा–७ राजाबासका राजेश दनुवार हुन् ।  

प्रहरीका अनुसार को१त ९३६४ नम्बरको एम्बुलेन्समा उनीहरू सवार थिए । पश्चिमबाट आउँदै गरेको ना२ख ९०८२ नम्बरको ट्रकले एम्बुलेन्समा ठक्कर दिएपछि एम्बुलेन्समा सवार सबैको मृत्यु भएको प्रवक्ता डिएसपी विनोद शर्माले बताए । मृतकहरूको शव सुनसरीको इनरुवा अस्पतालमा राखिएको छ । 

एम्बुलेन्सलाई ठक्कर दिने ट्रक चालकको फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुवै तीव्र गतिमा रहेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

ट्रकसँग ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो परेर बजारिएको थियो । दुर्घटनापछि मृतकहरूलाई एम्बुलेन्सबाट निकाल्न प्रहरीलाई ४ घण्टा लागेको थियो । ‘घटना राति १२ बजे भएको देखिन्छ हामीलाई साढे १२ बजे सूचना प्राप्त भयो । टाढा र एकान्त ठाउँ भएकाले ढिला जानकारी आयो । १२ः५० मा प्रहरी घटनास्थल पुगेर उद्धार सुरु गरेको हो’, प्रवक्ता शर्माले भने, ‘उद्धार गर्न प्रहरीलाई झण्डै ४ घण्टा लागेको थियो ।’

पोखरामा एकै गाउँका ५ जनाको मृत्यु

पोखरामा माटोको ढिस्कोले पुरिएर एकै गाउँमा ५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घटना पोखरा महागरपालिका–२० को मौजा भन्ने ठाउँमा भएको हो । 

प्रहरीका अनुसार ज्यान गुमाउनेमा सल्यानको बागचौर नगरपालिका–४ पेदीखोलाका जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली छन् ।

महानगरपालिकाको कनेक्टिभिटी सडक निर्माणका क्रममा बाटो खनेर रिटेनिङ वाल बनाउँदै गर्दा उनीहरू माटोको ढिस्कोले पुरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता राजकुमार केसीले बताए । 

वाल बनाउने क्रममा ७ जना कामदार रहेका थिए । अन्य दुईजना भने ढिस्को खस्दा भागेर बाँचेको केसीले बताए ।  


Views: 13