13th December | 2019 | Friday | 3:34:55 PM

‘आजै सच्चिने की भोलि सक्किने’–कांग्रेस

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७६ (५:४९ PM)

‘आजै सच्चिने की भोलि सक्किने’–कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई उपनिर्वाचनको अन्तिम मत परिणामले  ‘आजै सच्चिने की भोलि सक्किने’ सन्देश दिएको बताएको छ । 

उपनिर्वाचनको अन्तिम मत परिणाम पश्चात उसले पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । यो परिणाममा सरकार सच्चिनु पर्ने अभिमत आएको उसले बतएको छ ।

कांग्रेसले सरकारलाई दिएको सन्देशमा भनेको छ–

उपनिर्वाचन सरकार बनाउन या बदल्न भइरहेको छैन तर तपाईको एक मतले सरकारलाई सच्याउन योगदान गर्न सक्छ भनेर हामीले मतदातालाई अपिल गरेका थियौं । मंसिर १४ को उपनिर्वाचनले सरकार सच्चीनु पर्ने सन्देश प्रष्ट सँग दिएको छ ।

१. २१ महिनामा सरकारप्रति मतदाताको असन्तुष्टी बढेको पुष्टी ०७४ को चुनावमा रहेको मतको अग्रता घट्नुले गरेको छ । त्यसबेला एमाले र माओवादी भिन्न दुई नाम र भिन्न दुई चुनाव चिन्ह मैदानमा थिए । तर त्यतिबेलाको जति मत एउटै पार्टी र एउटै चुनाव चिन्ह हुँदा प्राप्त नहुनु ‘मतदाताको मन बदलिंदै गएको प्रष्ट चित्र हो’ ।

२. एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केहि वडाध्यक्षको अंक हासिल भएको तथ्य अघिल्तीर राखेर सरकारका पक्षमा जनमत जस्ताको तस्तै कायम छ भन्ने आत्मसन्तोष लिन सकिने सुविधा सरकार या नेकपासँग छँदैछ । तर त्यसभन्दा व्यापक प्रभाव राख्ने केहि सन्देशमूलक वडा, एक उपमहानगरपालिका नेतृत्व अनि एक प्रदेश क्षेत्रको परिणामले नेकपालाई ‘आजै सच्चिने की भोलि सक्कीने’ सन्देश दिएको छ । ‘सक्कीने’ शब्दलाई भोलिको परिणाम झनै प्रतिकूल आउने तर्फ गरिएको संकेत भनेर प्रष्ट्याई रहनु नपार्ला ।

३. बाग्लुङको प्रदेशसभा क्षेत्र जनमोर्चालाई छाड्नु परेको स्थिति र कठिनाईले प्राप्त विजय । कास्की र दाङमा वस्तुगत राजैतिक प्रभाव भन्दा सहानुभूतिमा मत संयोजन गर्नु परेको अवस्था । परिणाम हासिल नगरे पनि कांग्रेसले ती तीनै क्षेत्रमा मतान्तर घटाएको चित्र । सरकार सच्याउनकै लागि पढ्न जरुरी पाठ हुन नेकपाका लागि ।


अन्त्यमा, उपनिर्वाचनमा रुख चिन्हमा मतदान गर्नु हुनेहरु सँगै निर्वाचनमा सहभागी सबै आदरणीय मतदातामा नेपाली कांग्रेस धन्यवाद र आभार प्रकट गर्दछ । प्रतिस्पर्धाको लोकतान्त्रिक अभ्यासबाट विजयी सबैलाई बधाइ ज्ञापन गर्दै प्रतिस्पर्धी समेत सबैलाई नेपाली जनताको सेवामा समर्पित रहेर कार्य गर्न पनि नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।


निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, संचारकर्मी सबैलाई हामी आफ्नो भूमिकाका लागि बधाई ज्ञापन गर्दछौं ।

जय नेपाल !

विश्वप्रकाश शर्मा

प्रवक्ता


Views: 62