20th February | 2020 | Thursday | 9:43:01 AM

विश्वासको मत लिन आवश्यक छैन : सञ्चारमन्त्री

हिमालय टाइम्स   POSTED ON : पुष ११, २०७६ (१०:०३ AM)

विश्वासको मत लिन आवश्यक छैन : सञ्चारमन्त्री

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार पूर्ण बहुमतमै रहेका कारण विश्वासको मत लिनुपर्ने आवश्यकता नदेखिएको बताएका छन् । समाजवादी पार्टीले समर्थन फिर्ता लिँदैमा सरकारलाई विश्वासको मत लिन आवश्यक नभएको उनले बताए ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले सरकारसँग स्पष्ट बहुमत रहेका कारण समाजवादी पार्टीले समर्थन फिर्ता लिँदैमा विश्वासको मत जरुरी नभएको प्रष्ट पारे । ‘कुनै दल आएको थियो, निस्क्यो । प्रधानमन्त्रीको साथमा भएको बहुमत कायमै छ,’ मन्त्री बाँस्कोटाले भने, ‘त्यसो भएपछि यो विषय आफैँ टुंगो लगाउनुस् । लिनुपरे पनि लिँदा के हुन्छ ?’ विश्वासको मत लिनैपरे पनि प्रतिनिधिसभामा नेकपाको पूर्णबहुमत रहेको उनको भनाइ थियो ।

नेपालको कानुनले विश्वासको मत लिनुपर्ने भने पनि आफूहरूका लागि उक्त प्रक्रियामा जान कुनै महाभारत नभएको उनले बताए । ‘कानुनले विश्वासको मत लिनुपर्छ भन्छ भने हाम्रालागि कुनै महाभारत होइन,’ बाँस्कोटाले भने, ‘भोटिङ गर्न परे पनि १० मिनेटको काम हो । हात उठाउने त हो ।’

संविधानको धारा १०० को उपधारा २ मा भने सत्तामा सहभागी गठबन्धनको दलले समर्थन फिर्ता लिए ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

‘एमसीसी पारित हुन्छ’

उनले अमेरिकी परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सँग इण्डो–प्यासिफिक सैन्य रणनीतिको कुनै सम्बन्ध नरहेको जिकिर गरे । एमसीसीमा इण्डो–प्यासिफिकको कुनै पनि कुरा नजोडिएको उल्लेख गर्दै उनले एमसीसी सम्झौता संसद्बाट पास हुने बताए । उनले सम्झौतामा उल्लेख भएका विषयहरू मात्रै कार्यान्वयन हुने प्रष्ट्याए । 

‘सन् २०१३ मा आएको हो । २०१५ मा नेपालमा कार्यालय स्थापना भएको हो भने इण्डो–प्यासिफिकको कुरा सन् २०१७ मात्रै फरक रूपमा आएको हो,’ मन्त्री बाँस्कोटाले भने, ‘एमसीसीबाट आएको रकम सडकको स्तरोन्नति र विद्युत् प्रसारण लाइनमा खर्च हुने हो । सम्झौतामा जे कुरा उल्लेख छ, त्यही मात्रै कार्यान्वयन हुन्छ ।’ 

अमेरिकाले एमसीसी कार्यान्वयन गर्दा इण्डो–प्यासेफिकको कुरा नउठाएको र नेपालले जबरजस्ती इण्डो–प्यासिफिकमा हात नहाल्ने उनको भनाइ थियो । नेपालले अमेरिकालाई उसको सैन्य ‘इन्ट्रेष्ट’ एमसीसीमा समावेश गर्न नभनेको पनि सञ्चारमन्त्री बाँस्कोटाको भनाइ थियो । 

‘एमसीसीका बारेमा चलेको बहस राजनीतिक तुष्टिको कुरा होला । अमेरिकाको सैन्य रणनीतिको साझेदार हुनुपर्छ भन्ने कुरा उल्लेख छैन,’ उनले भने, ‘हामी संलग्न चीनको बिआरआइमा पनि सैन्य कुरा उल्लेख छैन । खाली आर्थिक, सांस्कृतिक र विकास निर्माणका कुरा मात्रै हामीले गरेका हौं ।’ 

मन्त्री बाँस्कोटाले एमसीसीको विरोध गर्नेहरू आफैँ थाक्ने दाबी गर्दै भने, ‘एमसीसीको विरोध गर्नेहरू बोल्दै गर्छन्, थाक्न दिनुस् या उहाँहरूलाई बुझाउन दिनुस् ।’

उनले नेपाललाई आवश्यकता परेकाले अमेरिकासँग दुईवटा स्काई ट्रक लिएको भन्दै अन्य मुलुकले सहयोग गरे पनि सरकारले सहयोग स्वीकार गर्ने प्रष्ट्याए । एक साताअघि अमेरिकाले नेपाली सेनालाई दिएको स्काई ट्रकको विषयमा पत्रकारले राखेको जिज्ञासामा बाँस्कोटाले भने, ‘स्काई ट्रक अमेरिकाले सहयोग ग¥यो । हामीलाई चाहिएको थियो, त्यसकारण लिएका हौं । यसमा कुनै स्वार्थ छैन । भोलि अन्य मुलुकले सहयोग गरे पनि स्वीकार गर्छौं ।’


Views: 26