20th February | 2020 | Thursday | 9:43:22 AM

नेकपामा सभामुख छान्न सकस : बालुवाटार र खुमलटारको तानातान

हिमालय टाइम्स   POSTED ON : पुष १२, २०७६ (१०:२३ AM)

नेकपामा सभामुख छान्न सकस : बालुवाटार र खुमलटारको तानातान

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख चयनमा सकस भएको छ । पार्टीले निर्णय गर्न नसक्दा प्रतिनिधिसभा बैठक पाँच बैठक स्थगित भएको छ । नेकपाभित्र सभामुखको उम्मेदवारमा सहमति नजुट्दा शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ । 

प्रतिनिधिसभाको अर्को बैठक पुस १६ गतेका लागि बोलाइएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढाउने कार्यसूची तय गरिएको थियो । गत ४ गते सुरु भएको बैठक १० गतेसम्म स्थगित भएको थियो । नेकपाले प्रतिनिधिसभा बैठक सुरु भएको एक सतामा पनि सभामुखको उम्मेदवार तोक्न सकेन । यही मेसोमा बैठक थप पाँच दिन स्थगित भएको छ । 

उपसभामुख शिवमाया तुम्वाहाङ्फेले राजीनामा दिने भनिएको भए पनि उनको राजीनामा आएको छैन । उनले सभामुखमा आफ्नो स्वाभाविक दाबी भए पनि पार्टी निर्णयमा बाधक नबन्ने बताएकी छन् । 

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सभामुख कसलाई बनाउने भन्नेमा मतैक्य हुन सकेको छैन । पार्टी एकीकरणअघि नै सभामुख पद तत्कालीन माओवादीले पाएकाले अबको सभामुख आफैँले प्रस्ताव गर्न पाउनु पर्ने अध्यक्ष दाहालको अडान छ । उनलाई सभामुख पद नछाड्न पार्टीभित्रका पूर्वमाओवादीका केही नेताहरूको दबाब रहेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष दाहाल पक्षधर नेताले सांसद अग्नि सापकोटालाई बनाउन खोजेका छन् । सभामुखको दाबेदारमा उपसभामुख शिवमाया तुम्बाहाम्फे, नेकपाका प्रमुख सचेतक देव गुरुङ र नेतृ पम्फा भुसाल पनि छन् । पूर्वमाओवादीले दाहाल निवास खुमलटार पुगेर अडान नछाड्न दबाब दिँदै आएका छन् । यता प्रधानमन्त्री निवास बालुटाटारमा पनि आफ्नै पक्षको अडान छ । 

दुवै अध्यक्ष उपसभामुख तुम्बाहाम्फेलाई सभामुख बनाउन सहमत देखिएका छैनन् । नेकपा स्रोतका अनुसार दुवै अध्यक्ष आफूप्रति सकारात्मक नभएका कारण तुम्बाहाङ्फेले शुक्रबार उपसभामुखबाट राजीनामा दिएर सभामुख चयन प्रक्रियाका लागि बाटो खोलिदिने तयारी गरेकी थिइन् । यद्यपि, राष्ट्रपति विद्या भण्डारीले पछिल्लो समय तुम्बाहाङ्फेलाई नै सभामुख बनाउन आफ्नो तर्फबाट लबिङ गरेका कारण उनको राजीनामा नआएको स्रोतको भनाइ छ । 

संसद् सचिवालयले पुस १४ गते सभामुख निर्वाचन प्रक्रियाको कार्यतालिका तयार पारेको थियो । उपसभामुखले राजीनामा दिएको अवस्थामा प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने र सभामुख निर्वाचन प्रक्रिया थालिने संसद् सचिवालयले जानकारी दिएको थियो । तर, अन्तिम अवस्थामा उपसभामुख तुम्वाहाम्फेको राजीनामा नआएपछि बैठक स्थगित गर्नुपरेको सचिवालय स्रोतले जनाएको छ । 

तत्कालीन सभामुख कृष्णबहादुर महरा गत असोजमा संसद सचिवालयकै एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा मुछिएपछि प्रतिनिधिसभा सभामुखविहीन छ । नेकपामा सभामुख कसलाई बनाउने भन्ने विषयमा विवाद छ ।

 


Views: 94