20th February | 2020 | Thursday | 9:45:53 AM

प्रजातन्त्रमाथि सरकारबाट आक्रमण : देउवा

पुरन साह   POSTED ON : पुष १३, २०७६ (४:२७ PM)

प्रजातन्त्रमाथि सरकारबाट आक्रमण : देउवा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति एवं पूर्व–प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको मूल्य–मान्यताउपर वर्तमान सरकारले आक्रमण गरिरहेको आरोप लगाएका छन् । धनुषाको सबैलामा शनिबार आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार प्रजातन्त्रको मूल्य–मान्यता लत्याउन लागिपरेको आरोप लगाएका हुन् । 

देउवाले वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताउपर अंकुश लगाउन सरकारले चाहेको र संवैधानिक आयोगहरूमा एकलौटी गरेर आफ्नो अनुकूल प्रयोग गर्न थालेको टिप्पणी गरे । उनले प्रजान्तत्रउपर संकट आएको उल्लेख गर्दै प्रजातन्त्र रक्षाका लागि कांग्रेस जस्तोसुकै संघर्ष गर्न तयार रहेको प्रष्ट पारे ।

देउवाले लोकतन्त्रमाथि संकट देखिएकोले पार्टी एकजुट हुनुको विकल्प नरहेको बताए । ‘केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको छ, संघीयता मास्न खोजेको छ,’ उनले भने,’ ‘यस्तो अवस्थामा लोकतन्त्र बचाउन पनि कांग्रेस एकजुट हुनु जरुरी छ ।’ 

कांग्रेसका दिवंगत नेता बलराम नायकको श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै पार्टीका उपसभापति विमलेन्द्र निधिले स्व. नायक जस्ता योद्धाहरूको लगानी र योगदानले प्राप्त प्रजातान्त्रिक अधिकारहरू खोस्न सकिने भन्दै वामपन्थी नेतृत्वको सरकारसँग सचेत रहन आग्रह गरे ।

सभालाई कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, फरमुल्ला मंसुर, महेन्द्र यादव, रामकृष्ण यादव लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

प्रजातान्त्रिक योद्धा नायकको ८७ वर्षको उमेरमा मंसिर ३० गते निधन भएको थियो । धनुषा क्षेत्र नं. १ मा पर्ने सबैला निवासी स्व. नेता नायक चर्चित समाजसेवीसमेत थिए । विसं २०१६ सालमा यस क्षेत्रमा अनिकाल पर्दा उनी काठमाडौं पुगेर तत्कालीन प्रधानमन्त्री वीपी कोइरालासँग भूमिकर माफी गर्न आग्रह गरेका थिए । अनिकालको कारण खोज्दै बलराम र वीपीले सिँचाइको परियोजना ल्याउने योजना बनाए । २०१७ साल कात्तिक २६ गते तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले धनुषाको रघुनाथपुरमा कमला सिँचाइ परियोजनाको शिलान्यास गरे, जसबाट यस क्षेत्रको खेत अहिले पनि सिञ्चित हुँदै आएको छ ।


Views: 62