27th January | 2020 | Monday | 5:06:39 AM

नेकपा सभामुखमा अल्झेको अल्झ्यै

हिमालय टाइम्स   POSTED ON : पुष २६, २०७६ (१०:०४ AM)

नेकपा सभामुखमा अल्झेको अल्झ्यै

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुख चयन प्रक्रिया पेचिलो बन्दै गएको छ । शुक्रबार अबेरसम्म नेकपाले सभामुखको उम्मेदवार तोकेको जानकारी दिएको छैन । 

उम्मेदवार टुंगो लगाउन नसकेकै कारण सूचना टाँसेर दुई पटक स्थगित गरिएको बैठक आइतबार बस्ने भनिएको छ ।  

सभामुख चयनका बारेमा छलफल गर्न शुक्रबार पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले उपसभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरे पनि निष्कर्ष निस्कन सकेन । उपसभामुखसँगको छलफलपछि दुवै अध्यक्षबीच केहीबेर भएको छुट्टै छलफलमा सभामुख कसलाई बनाउने भन्ने सहमति जुट्न नसकेपछि अन्योल यथावत रहेको हो । नेकपाभित्र लामो समयदेखि सभामुख पदका लागि त्रिपक्षीय शक्ति संघर्ष हुँदै आएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली खुलेरै सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष दाहाल अग्निप्रसाद सापकोटालाई बनाउने पक्षमा छन् । राष्ट्रपति विद्या भण्डारी उपसभामुख तुम्बाहाङ्फेलाई नै सभामुख बनाउने पक्षमा रहेको स्रोतहरुको भनाइ छ । 

स्रोतका अनुसार शुक्रबार भएको छलफलमा दाहालले उपसभामुखको राजीनामा नआएकाले सभामुख चयन प्रक्रियामा अघि बढ्न प्रक्रियागत रूपमा कठिन हुने बताएका थिए । उपसभामुखको राजीनामाबारे प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीले टिप्पणी गरेनन् । उपसभामुख तुम्बाहाङ्फेले आफूले राजीनामा नगरे पनि उम्मेदवार चयन गर्न नरोकिने नरोकिने तर्क गरेकी थिइन् । उनले शनिबारसम्म सभामुख चयनबारे टुंगो नलागे निर्वाचन प्रक्रिया सुरु गर्ने पक्षमा आफू रहेको समेत दुई अध्यक्षलाई बताइन् । 

उपसभामुखको तर्कपछि ओलीले पनि पहिला सभामुखको टुंगो लगाए उपसभामुखको राजीनामामा कुनै समस्या नहुने बताए । दाहालले भने उपसभामुखको राजीनामा विना सभामुखसहित सबै विषयलाई प्याकेजमा टुंग्याउन सजिलो हुने तर्क गरे । उनी सभामुख पद पूर्व–माओवादीले नपाउने हो कि भन्नेमा सशंकित देखिएका छन् ।

ओलीलाई दाहालले सभामुखसहितका विषयमा प्याकेजमा सहमति खोज्न दबाब दिनुको मुख्य उद्देश्य पनि गुटगत स्वार्थ नै रहेको स्रोतको बुझाइ छ । दाहाललाई पूर्व–माओवादीभित्रबाट सभामुख पद नछाड्न दबाब बढेको छ । ओली भने पार्टी एकता भइसकेको अवस्थामा अब एमाले र माओवादी गुटका हिसाबमा पार्टीभित्र भागबण्डाको परम्परा बसाल्न नहुने पक्षमा छन् ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन तथा नयाँ कानुनहरू धमाधम बनाउनुपर्ने अवस्थामा अनुभवी व्यक्ति सभामुख पदमा हुँदा सरकारलाई सहज हुने तर्क गर्दै नेम्वाङलाई उम्मेदवारका रूपमा अघि सारेका छन् । दाहाल भने पूर्वमाओवादी पक्षले पाएको पद खोस्न नमिल्ने अडानमा छन् ।

नेकपाले सभामुखको उम्मेदवार नतोक्दा पुस ११ र १६ गते बस्ने भनिएका बैठक सूचना टाँसेर स्थगित गरिएका थिए । चालु अधिवेशनको पहिलो बैठक पुस ४ गते सुरु भएको थियो । 

यौन दुव्र्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते पदबाट राजीनामा दिएका थिए । उनको राजीनामाको साढे तीन महिना बित्नै लागेको छ । संसद अधिवेशन सुरू भएको पनि तीन साता भएको छ । 

बहाना उपसभामुखको राजीनामा 

नेकपा नेताहरुले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएका कारणले सभामुखको उम्मेदवार तोक्ने बाटो नखुलेको बताउने गरेका छन् । शुक्रबार बिहान रेडियो कान्तिपुरको ‘द हेडलाइनर्स’ कार्यक्रममा नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुखको उम्मेदवार टुंगो लगाउन उपभामुखको राजीनामा आवश्यक रहेको बताए । 

सभामुख र उपसभामुख एउटै पार्टीको नहुने भएकाले उपभामुखले बाटो खोल्नुपर्ने श्रेष्ठको भनाइ थियो । उपसभामुखको राजीनामा नआएका कारणले पार्टी सचिवालयमा र दुई अध्यक्षबीच सभामुखबारे गम्भीर छलफल नभएको पनि उनले बताए । 

केही दिनअघि प्रतिनिधिसभामा नेकपाका मुख्य सचेतक देव गुरुङले पनि उपसभामुखले राजीनामा नगरेका कारणले सभामुखको निर्वाचन हुन नसकेको बताएका थिए । 

उपसभामुख तुम्बाहाङ्फेले भने सभामुख पदमा आफ्नो स्वाभाविक दाबी रहे पनि आफ्ना कारणले प्रक्रिया अवरुद्ध नहुने बताउँदै आएकी छन् । आफू राजीनामा दिन तयार रहेको उनको भनाइ छ । 

राजीनामा पछि के हुन्छ 

जानकारहरुका अनुसार उपसभामुखले राजीनामा गरे संविधानको धारा ९१ को उपधारा (१) आकर्षित हुन्छ । उक्त धारामा ‘प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधिसभाका सदस्यहरुले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचन गर्नेछन् ।’

संविधानको यो प्रावधान ख्याल राखेरै उपभामुख तुम्बाहाङ्फेको राजीनामा रोकिएको हो । 

सभामुख र उपसभामुख दुवै पद रिक्त रहेको अवस्थामा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ । ज्येष्ठ सदस्यको जिम्मेवारी सभामुख निर्वाचित गराउनु हो । 



Views: 80