7th June | 2020 | Sunday | 4:34:04 AM

उपसभामुख तुम्बाहाङ्फे नै सभामुखको सशक्त दाबेदार –प्रवक्ता श्रेष्ठ

हिमालय टाइम्स   POSTED ON : पुष २९, २०७६ (४:४६ PM)

उपसभामुख तुम्बाहाङ्फे नै सभामुखको सशक्त दाबेदार –प्रवक्ता श्रेष्ठ

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फे नै सभामुखको सशक्त दाबेदार भएको बताएका छन् । 

मंगलबार प्रेस संगठन लमजुङले गरेको अन्तरक्रियामा बोल्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।

सभामुखको प्रतिस्पर्धामा जान पहिले उपसभामुखको पदबाट राजिनामा दिन प्रवक्ता श्रेष्ठले उपसभामुख तुम्बाहङ्फेलाई आग्रह समेत गरेका छन् ।

प्रतिनिधिसभाको उपसभामुख बनिसकेकाले शिवमाया पार्टीको तर्फबाट सभामुखको सशक्त उम्मेदवार भएको उनको भनाइ छ । संवैधानिक प्रावधान अनुसार उपसभामुखले राजीनामा नदिएसम्म संसद्को सबैभन्दा ठूलो दल नेकपाले समाभुख पद नै गुमाउने स्थिति सिर्जना भएकाले उपसभामुखलाई राजीनामा दिन पार्टीले आग्रह गरेको उनको भनाइ छ। 

‘अहिलेको उपसभामुखले सभामुखमा दाबी गर्ने हक राख्नुहुन्छ । यो स्वभाविक पनि हुन्छ । तर उहाँले राजीनामा नदिँदासम्म त सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाकै अन्त्य हुन्छ । सभामुख उहाँ नै बन्ने हो भने त्यो सभामुख हाम्रो पार्टीले पाउन सक्ने बाटो त तयार हुनुपर्छ’, प्रवक्ता श्रेष्ठले भने ।

उपसभामुखलाई प्रवक्ता श्रेष्ठले संवैधानिक प्रावधानलाई बुझ्न अनुरोधसमेत गरे। 

संविधानको मर्म अनुसार सभामुख बनाउन उपसभामुख रहेर सम्भव नरहेको उनले बताए । उनले भने, ‘उपसभामुख हाम्रो पार्टीको रहुन्जेल सभामुख हाम्रो पार्टीको रहन सक्दैन । सभामुख हाम्रो पार्टीको पक्षमा राख्न उपसभामुखलाई राजिनामा दिन अनुरोध गरेका हौं । ’


Views: 131