17th February | 2020 | Monday | 6:16:37 AM

‘बाजी मारेँ, प्रणाली जोगाएँ’

हिमालय टाइम्स   POSTED ON : माघ ७, २०७६ (९:४१ AM)

‘बाजी मारेँ, प्रणाली जोगाएँ’

काठमाडौं । एक महिना र दुई दिनपछि सोमबार दोस्रो पटक प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफ्नो राजीनामा घोषणा गरिन् । अर्को बैठक अपराहृन चार बजेका लागि बोलाइन् । बैठक अन्त्य गरेर सभामुखलाई सम्बोधन गर्दै उनले संसद् सचिवालयमा राजनीनामा पत्र बुझाइन् । 

उपसभामुख पदबाट मुक्त भएपछि तुम्बाहाङ्फेले संसद् भवन नयाँ बानेश्वरमा  पत्रकार सम्मलेन गरेर भनिन्, ‘देशमा पितृसंस्था यस्तो रहेछ । परिवर्तन गर्न अझै धेरै मिहिनेत गर्नुपर्ने रहेछ । हामी सबै मिलेर राजसंस्था त फाल्यौँ राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ ।’ यो अभिव्यक्तिमा नेकपाले आफूलाई महिला भएकै कारणले सभामुख पदका लागि चयन नगरेको वा अयोग्य ठह¥याएको भन्ने उनको असन्तुष्टि झल्किन्थ्यो । यस्तो असन्तुष्टिकै बीच पनि आफूले बाजी मारेको उनले बताइन् । उनका अनुसार उपसभामुखका रूपमा उनले प्रणाली रक्षा गरिन् । सत्तारूढ नेकपाले राजीनामा गर्न निर्देशन दिएको भए पनि आफूले प्रणाली दायाँबायाँ हुन नदिने जिकिर गरिन् । 

तुम्बाहाङ्फेले भनिन्, ‘मैले प्रणालीलाई दायाँबायाँ हुन दिइनँ, मैले बाजी मारेँ, संस्था (प्रतिनिधिसभा) लाई प्रणालीगत रूपमा अघि बढाउन सक्छु कि सक्दिनँ भन्ने बाजी थियो ।’ उनले संविधानले संसद् नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखको उम्मेदवारको टुंगो लागेपछि मात्र आफूले राजीनामा दिएको बताइन् । 

यसो भनेर तुम्बाहाङ्फेले पार्टीको निर्देशनमा राजीनामा नदिएकोमा गौरवको संकेत गरिन् । पुस ४ गतेपछि नै पार्टीले आफ्नो राजीनामा आओस् भन्ने चाहेको भन्दै त्यसरी राजीनामा दिएको भए अहिले जनताले सबैभन्दा धेरै गाली गर्ने व्यक्ति आफू हुने थिएँ भन्ने उनको भनाइ थियो । उनले पार्टीको सदस्यका रूपमा निर्वाचित भए पनि सभामुख वा उपसभामुखलाई एउटा पार्टीले राजीनामाका लागि निर्देशन दिन नसक्ने जिकिर गरिन् । उनले संस्थालाई संविधानअनुसार सफल बनाएको दाबी पनि गरिन् । 

तुम्बाहाङ्फेले सभामुख हुन पाउनुपर्छ भन्ने आफ्नो स्वाभाविक दाबी रहे पनि आफू नै हुनु र नहुनु ‘सेकेण्डरी कुरा’ हो भन्दै आफू संस्थालाई प्रणालीमा राख्न सफल भएको बताइन् । उनले आफ्नो ब्याकअपमा कोही व्यक्ति वा संस्था नभएको बताइन् । उनले भनिन्, ‘मेरो ब्याकअपमा को छ भन्ने प्रश्न उठेको थियो । कुनै व्यक्ति र संस्था होइन, मेरो ब्याकअपमा संविधान थियो । व्यक्ति र संस्थाभन्दा संविधान ठूलो हो ।’ 

तुम्बाहाङ्फेले राजीनामापछि आफ्नो काम गर्ने बाटो परिवर्तन हुने पनि बताइन् । उनले भनिन्, ‘म यू टर्न लिँदैछु, कामको ट्र्याक चेन्ज गर्दैछु ।’ उनले त्यस्तो ट्र्याकबारे थप प्रष्ट नपारी त्यो के हो भन्नेबारे आफैं खोज्न पत्रकारहरूलाई  आग्रह गरिन् ।

तुम्बाहाङ्फेले सत्तापक्षले सभामुखको उम्मेदवार चयन गर्नासाथ आफूले राजीनामा गर्छु भनेअनुसार वचन पूरा गरेको बताइन् । उनले भनिन्, ‘सत्तापक्षले उम्मेदवार तय गरेको सन्देश पाएपछि मार्गप्रशस्त गर्छु भनेको थिएँ, मैले पूरा गरेँ ।’ उनले पार्टीले निर्देशन दिएको र नेताले भनेको आधारमा नभई आफूले बोलेको आधारमा राजीनामा गरेको बताइन् । उनले सभामुख चयन र आफ्नो राजीनामाबारे आफूलाई ‘सकारात्मकभन्दा नकारात्मक समाचारले ऊर्जा दिएको पनि बताइन् । 

तुम्बाहाङ्फेले पाँच वर्षे कार्यकाल भए पनि दुई वर्षमा राजीनामा दिनुपरेको बताइन् । एउटै भूमिकामा पाँच वर्ष बस्नु नपरेको भन्दै उनले सन्तोष पनि प्रकट गरिन् । उनले भनिन्, ‘उपसभामुखबाट राजीनामा गर्दा अत्यन्त खुसी छु, राजीनामासँगै थप उत्साह मिलेको छ ।’ 

यसअघि तुम्बाहाङ्फेले प्रतिनिधिसभा बैठकमा सभामुखको आसनबाट लोकतन्त्र समावेशी हुन नसकेको भन्दै असन्तोष प्रकट गरिन् । उनले भनिन्, ‘समावेशी लोकतन्त्र हाम्रो संवैधानिक व्यवस्थाको महŒवपूर्ण विशेषताका रूपमा रहेको छ । संविधानको यो मर्म अक्षर वा वचनबाट होइन, हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुन सक्छ भन्ने मलाई लाग्छ ।’


Views: 59