17th February | 2020 | Monday | 6:18:05 AM

राजपा नेतृत्वलाई पाँच नेताको खबरदारी, सरकारमा जाने भए संस्थागत निर्णय गर्नुस्

हिमालय टाइम्स   POSTED ON : माघ ८, २०७६ (१०:५४ AM)

राजपा नेतृत्वलाई पाँच नेताको खबरदारी, सरकारमा जाने भए संस्थागत निर्णय गर्नुस्

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका दोस्रो तहका पाँच नेताले नेतृत्व तहलाई सरकारमा जाने भए संस्थागत निर्णय गर्न सचेत तुल्याएका छन् । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) सँग राष्ट्रियसभा निर्वाचनमा तालमेल गरेलगत्तै राजपाका शीर्ष नेताहरू सत्ता पक्षसँग निकट हुँदै गएका छन् । सत्तारूढ नेकपा र राजपा नेपालका शीर्ष नेताहरू बीचको निकटता सत्ता साझेदारीमा पुग्ने त होइन भन्ने आशंका बढिरहेको समयमा राजपाका पाँच नेताले अध्यक्षमण्डललाई सचेत तुल्याएका हुन् ।

मंगलबार राजपा नेपालका वरिष्ठ उपाध्यक्षद्वय सर्वेन्द्रनाथ शुक्ल र वृषेशचन्द्र लाल, उपाध्यक्षद्वय गोविन्द चौधरी र रमेशप्रसाद यादव र महासचिव विजयकुमार सिंहले पार्टीका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोलाई लिखित ध्यानाकर्षणपत्र बुझाएर व्यक्तिगत सम्बन्धका आधारमा सरकारमा सहभागी नहुन सचेत तुल्याएका हुन् ।

केही दिनदेखि सरकारमा राजपा नेपाल सहभागी हुने तयारीमा लागेको समाचार प्रकाशमा आइरहेको र यसबीचमा भएका केही भेटघाटले त्यसको पुष्टिसमेत गरेको भन्दै उनीहरूले आफ्ना माग पूरा नभई सरकारमा सहभागी नहुन नेतृत्व तहलाई खबरदारी गरेका छन् । ‘संविधान संशोधन भई मधेसी, थारू, आदिवासी जनजाति, दलित, मुस्लिम लगायतका मुद्दा सम्बोधन, रेशम चौधरी लगायतका आन्दोलकारीमाथि चलाइएका राजनीतिक मुद्दाहरू खारेज गरी तिनको रिहाइ नहुन्जेल सरकारमा सामेल हुनु भनेको सयौं शहीदहरूको बलिदान र आन्दोलनकारीहरूको संघर्षको अपमान हुने हाम्रो ठहर छ,’ पाँच नेताको हस्ताक्षरसहितको ध्यानाकर्षणपत्रमा भनिएको छ ।

विभिन्न ६ पार्टीको एकीकरण गरी राजपा नेपाल गठनको उद्देश्य प्रष्ट पार्दै उनीहरूले भनेका छन्, ‘राजपा नेपालको गठन बृहत राजनीतिक शक्तिको निर्माण, मधेस आन्दोलनका मुद्दाहरू सम्बोधनका लागि भएको हो, यो हाम्रो मूल एजेण्डा हो ।’

सरकारमा सामेल हुनेजस्तो गम्भीर विषयमा राजनीतिक समिति र पार्टीको केन्द्रीय समितिमा छलफल गर्नु आवश्यक रहेको उनीहरूको भनाइ छ । ‘यसबारे पार्टीमा संस्थागत निर्णयमार्फत मात्र निष्कर्षमा पुग्न माग गर्दछौं,’ उनीहरूले भनेका छन् ।

समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि सत्तारूढ नेकपा र राजपा नेपालबीचको सम्बन्धमा सुधार हुँदै गएको विश्लेषकहरू बताउँछन् । सुधारिएको यो सम्बन्धले राजपा नेपाल पनि सरकारमा सामेल हुन सक्ने अनुमान गरिएकै बेला नेकपा र राजपा नेपालबीच राष्ट्रियसभा निर्वाचनमा गठबन्धन भएको छ ।

प्रदेश–२ का लागि बनाइएको सो गठबन्धनअनुसार उक्त प्रदेशमा राष्ट्रियसभाका ४ सिटमध्ये दुईवटामा सत्तारूढ नेकपाले र दुईवटामा राजपा नेपालले उम्मेदवारी दिएको छ भने दुवै दलले एक अर्कालाई सघाउने भएका छन् । राजपा नेपालले गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न हृवीपसमेत जारी गरिसकेको छ ।

संघीय सरकारमा दुई मन्त्रीलाई दुई–दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि उसले सम्हाल्दै आएका दुई मन्त्रालयको जिम्मेवारी अन्य दुई मन्त्रीलाई थपिएको हो । तिनै दुई मन्त्रालयको जिम्मेवारीसहित राजपा नेपाल संघीय सरकारमा सामेल हुन सक्ने अनुमान गरिएको छ । यसका लागि राजपा नेपालका केही नेताहरू सत्तारूढ नेकपाका प्रभावशाली नेताहरूसँग निरन्तर सम्पर्क र छलफलमा रहेको बताइन्छ ।

प्रतिनिधिसभाको सभामुख पदमा सत्तारूढ दल नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभामा नेकपाको पूर्ण–बहुमत रहेका कारण उनको जित सुनिश्चित जस्तै छ । संविधानले सभामुख र उपसभामुख एकै पार्टी र एकै लिंगको हुन बन्देज गरेका कारण पनि उपसभामुख पद अन्य दलले पाउने छन् । उपसभामुख पदका लागिसमेत राजपा नेपालले सत्तारूढ दल नेकपासँग सहयोगको अपेक्षा गरेको छ ।

सत्ताका लागि राजपा नेपालका शीर्ष नेताहरू लोभिँदै गएको परिदृश्यका कारण मधेसका मुद्दा र पार्टीले उठाउँदै आएका मागहरू गुमनाम हुने त होइन भनेर आफूहरूले नेतृत्वलाई खबरदारी गरेको राजपा नेपालका एक नेताले बताए ।


Views: 110