10th April | 2020 | Friday | 2:40:51 PM

दाहाल भन्छन् कोइराला फौजी आक्रमण बढाउनुप-यो भन्नुहुन्थ्यो

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २, २०७६ (११:२३ AM)

दाहाल भन्छन् कोइराला फौजी आक्रमण बढाउनुप-यो भन्नुहुन्थ्यो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले सशस्त्र द्वन्द्वकालमा आफूसँग सरकारविरुद्ध फौजी आक्रमण बढाइदिन आग्रह गर्ने गरेको खुलासा गरेका छन् । 

नेकपा केन्द्रीय कार्यालय धुमबाराहीमा बिहीबार आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीद’ को स्मृतिमा आयोजित श्रद्धाञ्जलि सभामा अध्यक्ष दाहालले काठमाडौंमा जनआन्दोलन बढ्दै गएका बेला कांग्रेसका तत्कालीन सभापति कोइराला र आफूबीच दिनदिनै फोनमा कुरा भएको र त्यसबेला कोइरालाले अझ बढी फौजी आक्रमण बढाइदिन आग्रह गरेको बताएका हुन् । 

‘नेपाली कांग्रेसका तत्कालीन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र मेरो बीचमा झण्डै लगातार दिनदिनै जस्तो फोनमा कुरा हुन्थ्यो र उहाँले अझै आक्रमण बढाउनु प-यो भन्नुहुन्थ्यो मलाई । फौजी आक्रमण अझ बढाइदिनु प¥यो भन्नुहुन्थ्यो । अलि सदरमुकाम हान्न प-यो, अलि ठूलो ठूलो आक्रमण गर्न प-यो भन्नुहुन्थ्यो,’ दाहालले भने, ‘यो पनि विचित्र हो । यस्तो संसारमा कमै हुन्छ । यही विचित्रको परिस्थितिले नै नेपालमा अढाई सय वर्ष पुरानो शाह वंशीय राजतन्त्रको अवशान गर्ने वातावरण बन्यो र देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्यो ।’

दाहालले तत्कालीन माओवादी जनयुद्धका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि बताए । तत्कालीन समयमा नेतृत्वले गरेको सही निर्णयले देशलाई ठूलो खतराबाट बचाएको उनको भनाइ थियो । विश्वका अन्य मुलुकमा शान्ति प्रक्रिया पूरा हुन नसकेको र विद्रोहका प्रमुख नेता नै मारिएको उदाहरण दिँदै दाहालले नेपालमा आफूहरू शौभाग्यशाली भएर नै सशस्त्र विद्रोहलाई शान्तिपूर्ण वातावरणमा ल्याउन सफल भएको जिकिर गरे । 

दाहालले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया सम्भव भएको र मुलुक समाजवादको आधार निर्माणतर्फ अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुनेसमेत बताए । सही विचार र सही नेतृत्व भएकै कारण असम्भव भनिएका कुराहरू सम्भव हुँदै गएको उनले बतानए । सही नेतृत्व भएकै कारण कटुतापूर्ण र शत्रुतापूर्ण संघर्षमा रहेका दुई मुख्य पार्टीहरूको एकता सम्भव भएको उनको भनाइ थियो । 

दाहालले भने, ‘सही विचार र सही नेतृत्वले इतिहासमा ठूलो ठूलो फड्कोहरू मार्न योगदान गर्न सक्छ । असम्भव जस्ता ठानिएका परिवर्तनलाई पनि सम्भव तुल्याउनसक्छ केही वर्ष पहिलेसम्म नेपालमा यति छिट्टै संविधानसभा भइहाल्ला, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिहाल्ला भन्ने विश्वास थिएन ।’ 

एक आपसमा कटुतापूर्ण र शत्रुतापूर्ण सम्बन्धमा रहेका दुई पार्टीहरू एक हुन्छन् भन्ने विश्वास आफूलाई पनि नभएको दाहालले बताए । ‘आपसमा निकै तीतो र कटूतापूर्ण र कहिले काँही शत्रुतापूर्ण संघर्षमा रहेका दुईवटा मुख्य पार्टीहरू एकतामा आइपुग्लान् अनि चुनावमा दुई तिहाइ बहुमत ल्याउने गरी प्रस्तुत होलान् भन्ने मानिसले सोच्दैन थिए,’ दाहालले भने, ‘तर म विनम्रतापूर्वक भन्न चाहन्छु, सही विचार र सही नेतृत्व छ भने ती असम्भव भनेका कुरालाई सम्भव बनाउन सकिन्छ । जनयुद्ध आफंै सुरुका दिनहरूमा हेर्दा धेरैलाई विश्वास थिएन ।’ 

दाहालले तत्कालीन एमाले र माओवादीले संविधानसभामा जाने सहमति गरेपछि कांग्रेस पनि मिसिएको र सात राजनीतिक दलहरूबीच १२ बुँदे सम्झौता सम्भव भएको बताए । उनले असाधारण र फरक किसिमबाट बनेको समझदारीबाटै देशमा राजतन्त्रको समाप्ति र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको समेत बताए । 

श्रद्धाञ्जलि सभामा नेकपाका उपाध्यक्ष वामदेव गौतमले जनयुद्धमा तत्कालीन नेकपा एमालेका तीन सय कार्यकर्ताको रगत बगेको बताए । ‘जनयुद्धमा एमालेका तीन सय कार्यकर्ताको रगत बगेको छ,’ उनले भने, ‘रगत नबग्नुपथ्र्यो । यसको लेखाजोखा पार्टीले गरेको छ ।’

गौतमले जनयुद्ध जनताको मुक्ति र समृद्धिका लागि भएको बताए । उनले पार्टी एकताले देशमा स्थायित्व आएकाले पार्टीभित्र देखिएका अन्तरविरोधहरू छिट्टै समाधान गर्न नेतृत्व सफल हुने विश्वास प्रकट गरे । 

कार्यक्रममा नेकपा उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत नेताहरूको उपस्थिति थियो । कार्यक्रममा शहीदहरूप्रति श्रदाञ्जलि अर्पण गरिएको थियो ।

पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने कार्यक्रममा सहभागी भएनन् । कार्यक्रम सुरु हुनुअघिसम्म प्रधानमन्त्रीको सचिवालयले ओली पनि कार्यक्रममा उपस्थित हुने जनाएको थियो । गत वर्ष आयोजना गरिएको कार्यक्रममा पनि उनी अनुपस्थित रहेका थिए । ओली जनयुद्धका कट्टरविरोधीका रूपमा चिनिन्थे । 


Views: 45