29th May | 2020 | Friday | 4:53:44 PM

सरकारलाई कोरोना परीक्षणको दायरा बढाएर युद्धस्तरमा काम गर्न कांग्रेसको अपील

हिमालय टाइम्स   POSTED ON : चैत्र २५, २०७६ (९:४३ PM)

सरकारलाई कोरोना परीक्षणको दायरा बढाएर युद्धस्तरमा काम गर्न कांग्रेसको अपील

काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परीक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपील गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले विद्यमान समग्र परिस्थितिको समीक्षा गरेको हो । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव सघाउने निर्णयसमेत गरेको छ ।
स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले कोरोना विरुद्धको संघर्षमा सफलता मिल्ने विश्वाससाथ बैठकले देशभरिका स्वास्थकर्मीहरुप्रति उच्च सम्मान प्रकट गरेको छ । पीपिई, परिक्षण कीट र भेन्टिलेटर लगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोवैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न बैठकले सरकारलाई अपील गरेको छ ।
बैठकले अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी एवं निरन्तर सुसूचित गरिरहेका संचारकर्मीहरुलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउनपनि सरकारलाई माग गरेको छ ।
यस्तै लकडाउन पालना गर्दै संयम, एकता र उच्च सतर्कता राख्न बैठकले सबै नेपालीमा हार्दिक अपील गरेको छ ।
देश बाहिर अप्ठ्यारोमा परेर घर फर्कन चाहेका र सिमानामै आइपुगेर प्रवेश चाहिरहेका नेपालीलाई ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्ने तयारी गरेर देश भित्रिन दिने ब्यवस्था मिलाउन बैठकले सरकार समक्ष माग गरेको छ ।
स्वास्थ सामग्री खरिदमा बजार मूल्यभन्दा बढी राज्यकोषको रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई पदमुक्त गर्न अपील गर्दै बैठकले अनिवार्य छानवीन र कार्वाहीको बिषयमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
अत्यावश्यक खाद्यान्नको आपूर्तिदेखि उत्पादनसम्मको ब्यवस्थालाई जोखिममुक्त ढंगले सहजीकरण गर्न÷गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । लक डाउनले गर्दा कृषि क्षेत्र र किसानलाई परेको मर्कामा आवश्यक राहत घोषणा गर्न बैठकले सरकार समक्ष माग गरेको छ ।
ज्यालादारी श्रमिकहरु धेरैकोमा अझ पनि राहत नपुग्दा जीवन कष्टकर बनेको ध्यानाकर्षण सरकारलाई गराउँदै बेरोजगार र शहरी क्षेत्रमा डेरा गरि बसेका विद्यार्थीहरुका लागिपनि तत्काल राहत घोषणा गर्न बैठकले माग गरेको छ । साना ठुला सबै ब्यवसायीको ब्यवसायमा लक डाउनले पु¥याएको असर दृष्टिगत गरेर थप राहतको प्याकेज ब्यवहारिक ढंगले ल्याउन बैठकले माग गरेको छ ।
बैठकले आ–आफ्नो प्रदेशमा विशेष समन्वयको भूमिका बढाउन प्रदेश सरकारहरुलाई एवं वडा र टोलसम्म जनसम्पर्कमा पुगेर हरतरहले नागरिक पंक्तिलाई यो संकटमा सहयोग पु¥याउन स्थानीय सरकारहरुलाई अपिल गरेको छ ।
प्रतिकूल स्थितिमा एकता र सतर्कताका साथ मानवीय सेवाको उच्च भावनाले निरन्तर कार्य गर्न बैठकले देशभरिका पार्टी सदस्य र शुभचिन्तक एवं बिदेश स्थित नेपाली जनसम्पर्क समितिमा रहेका सबै साथीहरूलाई अपील गरेको छ ।
बिदेशमा रहेका सबै नेपालीको स्थितिप्रति चिन्ता व्यक्त गर्दै बैठकले विशेष ध्यान पु¥याउन सरकारलाई आग्रह गरेको छ । बेलायत र अमेरिकामा कोरोना संक्रमणले मृत्यु भएका नेपालीहरुको परिवारजनप्रति समवेदना व्यक्त गर्दै बैठकले नेपाली डायस्पोरालाई आपसी एकता र भाइचाराको भावनाले आजको संकट सामना गर्न अपील गरेको छ । विश्वभरिनै कोरोनाले गर्दा जीवन गुमाएका हजारौं मानिसप्रति बैठकले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
कोरोनाको जोखिमसँग जुध्न बैठकले एक विज्ञ समूह निर्माण गरेर निरन्तर समुहको परामर्शमा कार्य गर्ने निर्णय गरेको छ ।
पार्टीका सबै केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसदहरु एवं सबै तहको नेतृत्वलाई आफ्नो जिम्मेवारीको क्षेत्रमा विशेष रुपले कार्य गर्न बैठकले निर्देशन गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाउनु भएको छ ।

Views: 93