8th July | 2020 | Wednesday | 8:03:21 AM

सरकारलाई कांग्रेसको चेतावनी

राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्नुहोस्

हिमालय टाइम्स   POSTED ON : जेठ १६, २०७७ (९:५० AM)

सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावबारे पार्टी केन्द्रीय कार्यसमितिको बैठकबाटै आधिकारिक निर्णय गर्ने बताएको छ । कांग्रेसले राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्नसमेत सरकारलाई चेतावनी दिएको छ । पार्टी मुख्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रीय समितिबाट संस्थागत निर्णय गरेपछि संशोधनको प्रस्तावमा मत राखिने बताउनुभयो । कांग्रेसकै कारण बुधबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट संविधान संशोधन विधेयक हटाइएको चर्चा सुरु भएपछि कांग्रेसले पत्रकार सम्मेलन गरेर बिहीबार निशानछापमा नेपालको नयाँ नक्सा समावेश गर्न, संविधान संशोधन गर्ने संसदीय प्रक्रियामा आफ्नो कारणले कुनै असर नपरेको स्पष्ट पारेको हो ।

पत्रकार सम्मेलनपछि सार्वजनिक वक्तव्यमा प्रवक्ता शर्माले गलत प्रचारका लागि सहभागी नहुन सरकार र नेकपाका नेतालाई चेतावनी दिनुभयो । उहाँले त्यसप्रकारको प्रचारलाई गोयवल्स शैलीको संज्ञा दिँदै सरकारका केही मन्त्री र एक मुख्य मन्त्रीलाई नेपाली कांग्रेसको ‘सहायक प्रवक्ता’ नबन्न चेतावनीसमेत दिनुभयो । ‘कम्युनिष्ट सरकारका केही मन्त्री र एक मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको सहायक प्रवक्ता नबन्न हामी चेतावनी दिन चाहन्छौं,’ प्रवक्ता शर्माले भन्नुयो । उहाँले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने विषय पार्टीले विगतदेखि उठाएकाले कांग्रेसले राष्ट्रियताको विषयमा केन्द्रीय समितिबाट निर्णय गर्न चाहँदा संसदको प्रक्रियामा असर पर्ने कुनै कारण नभएको उल्लेख छ । 

‘कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको भूगोल नेपालको भू–भाग हुन् । अतः कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र नेपालको निर्वाध हक ती भू–भागमा कायम हुनुपर्छ भनेर नेपाली कांग्रेसले विगतदेखि नै प्रस्ट धारणा राख्दै आएको छ । ती भू–भागलाई समेटेर सरकारले सार्वजनिक गरेको नक्साका पक्षमा नेपाली कांग्रेस रहेको जानकारी सर्वदलीय बैठक मार्फत दिइसकिएको छ,’ प्रवक्ता शर्माले भन्नुभएको छ । यसबारे कांग्रेसले शनिबार केन्द्रीय समितिको बैठकबाट संस्थागत निर्णय गर्ने पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो छ । 

प्रवक्ता शर्माले महत्वपूर्ण राष्ट्रिय विषयमा साझा स्वामित्वबोधका साथ नेपाली कांग्रेसले केन्द्रीय समितिबाटै निर्णय गर्न खोज्दा त्यसले संसदको प्रक्रियालाई असर पर्नुपर्ने कुनै कारण नभएको प्रष्ट पार्नुभयो । उहाँले राष्ट्रिय एकताको बलमा नै सीमासम्बन्धी प्रश्नको हल गर्नुपर्ने कांग्रेसको प्रस्ट धारणा भएको पनि बताउनुभयो । 


Views: 105