8th July | 2020 | Wednesday | 6:16:54 AM

‘पीडादायी कालखण्ड अब इतिहासमात्र

हिमालय टाइम्स   POSTED ON : जेठ १६, २०७७ (९:५२ AM)

‘पीडादायी कालखण्ड अब इतिहासमात्र

काठमाडौं । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको सम्झनामा बिहीबार १३ औँ गणतन्त्र दिवस मनाइएको छ । विगतमा नेपाल सरकारले गणतन्त्र दिवसलाई धूमधाम र उत्सवका साथ मनाउने गरे पनि यस वर्ष कोरोना भाइरस रोग (कोभिड–१९)को महामारीले देशभर बन्दाबन्दी रहेकाले गणतन्त्र दिवस शुभकामना सन्देश आदान प्रदानमै सीमित भएको छ ।

गणतन्त्र दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिनुभएको छ । शुभकामना सन्देशमा उहाँले राजनीतिक अस्थिरता र संक्रमणको पीडादायी कालखण्ड अब इतिहास बनेको उल्लेख गर्नुभएको छ । गणतन्त्र शासन प्रणालीमात्रै नभएर नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति पनि हो भन्दै प्रधानमन्त्री ओलीले गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहितको प्रणाली भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालमा कुनै पनि स्वरुपको अनिर्वाचित सत्ता अन्त्य भएको र आज जनताले निर्वाचित गरेका प्रतिनिधिहरूद्वारा प्रतिपादन गरिएको संविधानद्वारा मुलुकको शासन व्यवस्था सञ्चालित भएको भन्दै संविधानमा जनताका अधिकार एवं सर्वोत्तम हित र आकांक्षाहरू प्रतिविम्बित भएको बताउनुभएको छ ।

‘हाम्रा सम्पूर्ण साधनस्रोतहरू र प्रयासहरू ती आकांक्षालाई मूर्त रुप दिन केन्द्रित छन् । सशस्त्र द्वन्द्वको शृंखला अन्त्य भएर मुलुकमा दिगो शान्ति कायम भएको छ । राजनीतिक अस्थिरता र संक्रमणको पीडादायी कालखण्ड अब इतिहास बनेको छ’, प्रधानमन्त्रीको भनाइ छ । 

उहाँले परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्ने बताउनुभयो । जनतालाई केन्द्रबिन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था नै गणतन्त्र भएको चर्चा गर्दै उहाँले भन्नुभएको छ, ‘संविधान र कानुनमा उल्लिखित अधिकारको प्रयोग गर्न सक्ने गरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रूप लिन सक्दैन ।’ 

गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कार्यमा सरकारका गतिविधि केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले झण्डै दुई हजार वर्षसम्म चलेको यस्तो सामन्ती प्रणालीलाई अन्त्य गरेर इतिहासको एउटा महत्वपूर्ण कडीलाई जोडेको जिकिर गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहितको प्रणाली भएकाले महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू ग्राहृय र सहृय हुन नसक्ने प्रष्ट पार्नुभएको छ । ‘गणतन्त्रमा जाति, वर्ण, धर्म वा अरू कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुन सक्दैन,’ उहाँले भन्नुभयो । 

उहाँले १२ वर्ष आफैंमा धेरै लामो अवधि नभएको भन्दै गणतन्त्र स्थापनाका १२ वर्षमध्ये अधिकांश समय शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन, नयाँ संविधान निर्माण गर्न र संक्रमणकालको अन्त्य गर्न केन्द्रित गर्नु परेको बताउनुभयो । वर्षौँदेखि मूच्र्छित विकास र समृद्धिका सपनाहरूले साकार रुप लिन थालेको उहाँको भनाइ छ । उहाँले लामो संक्रमणको अन्त्यसँगै आर्थिक क्षेत्रमा पनि नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको दावी गर्नुभएको छ । 


Views: 176