8th July | 2020 | Wednesday | 6:20:25 AM

गणतन्त्र र संघीयतामाथि कम्युनिष्टहरूबाटै खतरा : उपसभापति निधि

हिमालय टाइम्स   POSTED ON : जेठ १६, २०७७ (९:५७ AM)

गणतन्त्र र संघीयतामाथि कम्युनिष्टहरूबाटै खतरा : उपसभापति निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्टहरूका कारण नेपालमा गणतन्त्र र संघीयतामाथि खतरा आएको टिप्पणी गर्नुभएको छ । गणतन्त्र दिवसको सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा बिहीबार आयोजित लोकतन्त्रको सुदृढीकरण बिषयक अन्तरक्रिया कार्यक्रमको शुभारम्भ गर्दै प्रतिष्ठानका प्रमुखसमेत रहनुभएका उपसभापति निधिले कम्युनिष्ट पार्टीको सरकारले लोकतान्त्रिक शासन व्यबस्थालाई कमजोर बनाउनकै लागि केही समयअघि विवादास्पद अध्यादेश जारी गरेको स्मरण गराउनुभयो ।

कम्युष्टि पार्टीका एकपछि अर्को गतिविधि लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउनमै केन्द्रित भएको भन्दै उहाँले लोकतन्त्रबादी शक्तिहरू ऐक्यवद्ध भएर लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

बहुलवादलाई पन्छाएर लोकतन्त्रको परिभाषा हुनै नसक्ने भन्दै कांग्रेस उपसभापति निधिले भने कम्युनिष्टको शब्दकोषमा बहुदवाद भन्ने शब्द नै नभएको दावी गर्नुभयो । कम्युनिष्टहरू अन्तर्राष्ट्रिय अधिनायकवादमा विश्वास गर्ने भएकोले नेपाललाई पनि उनीहरूले अधिनायकवादी बाटोमा हिडाउन खोजेको निधिको भनाइ थियो । नेपाली कांग्रेसको निरन्तरको खबरदारीले उनीहरूका लागि अधिनायकबादी बाटो सहज नभएको उहाँले बताउनुभयो ।

संसारभरबाट असफलसिद्ध भएको कम्युनिष्ट शासन व्यवस्था लाद्नकै लागि नेपालमा भने गणतन्त्र र संघीयता कमजोर बनाएर एकदलीय शासन व्यबस्था अघि बढाउनको सोचका साथ कम्युनिष्टहरूले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूलाई बोलाएर प्रशिक्षण लिएको उपसभापति निधिले स्मरण गराउनुभयो ।

नेपाल संघीय शासन प्रणालीमा अघि बढेको भए पनि कम्युनिष्ट पार्टीको सरकारले त्यस अनुसार प्रदेश र स्थानीय तहमा अधिकार दिन नचाहेको आरोप पनि उहाँले लगाउनुभयो । समृद्धिको नारा लगाउनले सरकारले तल्लो तहका अधिकार सिंहदरबारमा र सिंहदरबारका अधिकार प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेको उहाँको भनाइ छ ।  यसरी संघीयताप्रति वितृष्णा जगाउने काममा स्वयं प्रधानमन्त्री लागेको उहाँले प्रष्ट पार्नुभयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको जनाउँदै निधिले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा नेतृत्वको सरकार र नेपाली कांग्रेसको नेतृत्वले ती भूभाग नेपालकै हुन् भनेर दृढ अडान राख्दै आएको स्मरण गराउनुभयो । उपसभापति निधिले सीमा विवादमा सम्बन्धमा हिजोका दिनमा कम्युनिष्टहरू मौन रहेकोसमेत बताउनुभयो । अनावश्यक विवाद सिर्जना गर्न खोजिएको नेपाली भूभाग नेपालकै हो भनेर कांग्रेसले लिएको अडानलाई पछिल्लो समय कम्युनिष्टहरूले राष्ट्रियतासँग जोड्न खोजेको उहाँको भनाइ छ ।

राष्ट्रियता जनता केन्द्रित हुने कांग्रेसको धारणा रहेको उहाँले प्रष्ट पार्नुभयो । निधिले भन्नुभयो, ‘तर कम्युनिष्ट मान्यतामा कम्युनिष्ट पार्टीका सदस्य र समर्थकमात्र जनता हुने प्रचलन छ ।’ राष्ट्रियताको केन्द्रीय पात्र भनेका जनता नै भएको निधिको भनाइ थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.पुरुषोत्तम दाहालले सत्तासीन नेपाल कम्युनिष्ट पार्टीका अलोकतान्त्रिक गतिविधिका कारण लोकतन्त्रमाथि प्रश्न खडा भएकोले प्रतिष्ठानले लोकतन्त्रको सुदृढीकरणमा यस वर्षको कार्यक्रम केन्द्रित गरेको बताउनुभयो ।

गणतन्त्र दिवसका अवसरमा प्रतिष्ठानले हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको थियो । कोरोना भाइरसको लकडाउनका कारण प्रतिष्ठानले यो वर्ष लोकतन्त्रको सुदृढीकरणका विषयमा प्रदेशस्तरीय जुम कन्फरेन्स गर्ने निर्णय गरेको छ । कार्यकारी निर्देशक दाहालका अनुसार प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा जेठ १६ गते, बागमती प्रदेश र प्रदेश नम्बर ५ मा जेठ १७ गते, सुदुरपश्चिम प्रदेशमा जेठ १८ गते कन्फरेन्स तय भइसकेको छ भने प्रदेश नम्बर २ र कर्णाली प्रदेशको टुंगो लाग्न बाँकी छ ।


Views: 59