8th July | 2020 | Wednesday | 6:27:03 AM

सप्तरीमा थप १३ जना संक्रमित

अनिल पोखरेल   POSTED ON : जेठ २३, २०७७ (१०:५४ AM)

सप्तरीमा थप १३ जना संक्रमित

राजविराज । सप्तरीको चारवटा स्थानीय तहमा बिहीबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने संक्रमित एक युवा निको भएर बिहीबार डिस्चार्ज भएका छन् । डाक्नेश्वरी नगरपालिका वडा नम्वर–३ हटेल गाउँका १८ वर्षीय नसिम हुसेन २५ दिन अस्पतालको आइसोलेसनमा बसेर निको भई बिहीबार डिस्चार्ज हुनुभएको हो । नसिम गत वैशाख २९ गते अस्पतालको आइसोलेसनमा भर्ना हुनुभएको थियो । उहाँको स्वाब संकलन गरी जेठ ११ र १७ गते पिसिआर परीक्षण गराउँदा नेगेटिभ आएको थियो । दुवै पटक परीक्षण गराउँदा नेगेटिभ आएकोले उहाँलाई डिस्चार्ज गरी घर पठाएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीहरूले फूल, माला, अबीर र खादा लगाएर नमिमलाई आइसोलेसनबाट बिदाई गरेका थिए ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले दिनुभएको जानकारी अनुसार हनुमाननगर कंकालिनी नगरपालिकामा ६, छिन्नमस्ता गाउँपालिकामा ५, राजविराज नगरपालिकामा एक र शम्भुनाथ नगरपालिकामा एक जनामा कोरोना पोजेटिभ पाईएको छ । संक्रमितहरू सबै पुरुष हुन् । एकसाता अघि स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले विभिन्न क्वारान्टाइनबाट स्वाब संकलन गरी परीक्षणका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ परीक्षण प्रयोगशाला पठाएको थियो ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवका अनुसार हाल सप्तरी जिल्लामा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।


Views: 106