8th July | 2020 | Wednesday | 6:54:10 AM

नेपाल, खनाल र गौतम समेतको चौमुखीगुट एकै ठाउँ

हिमालय टाइम्स   POSTED ON : असार १७, २०७७ (१०:३४ AM)

नेपाल, खनाल र गौतम समेतको चौमुखीगुट एकै ठाउँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताच्यूत गर्न भारतीय राज्य संयन्त्र सक्रिय रहेको दावी गरेको अर्को दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेताहरूले उहाँको राजीनामा मागेका छन् । नेकपाको जारी स्थायी कमिटी बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग्नुभएको हो । प्रधानमन्त्री ओली विरुद्ध भूसको आगोजस्तो रहेको दाहाल, नेपाल, खनाल र गौतमको चतुष्कोणीय गूट नाटकीय रुपले ओलीलाई सत्ताच्युत गर्न एकाठाउँ जुटेको छ ।

मंगलबार बालुवाटारमा बसेको जारी स्थायी कमिटीको चौथो बैठक पूर्वनिर्धारित एजेन्डामा प्रवेशनै नगरी प्रधानमन्त्री ओलीको राजीनामा केन्द्रित भएको थियो । बैठकमा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्ष ओलीले भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी गर्नुभयो । उहाँले ओलीको पछिल्लोे अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिनेसमेत बताउनुभयो । 

‘मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर तपाईंले पार्टीको प्रतिष्ठा गिराउनु भयो । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन सकिँदैन,’ दाहालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी स्थायी कमिटी सदस्य स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी मेमोरियल फाउन्डेसनले ६९ औँ मदन जयन्तीका सन्दर्भमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा आफूलाई हटाउन भारतीय राज्य संयन्त्रले सक्रियता बढाएको अभिव्यक्ति दिनुभएको थियो । ‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ, भारतका मिडिया सुन्नु भएको होला । भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ,’ प्रधानमन्त्री ओलीले भन्नुभएको थियो । 

उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै दाहालले प्रधानमन्त्री ओलीलाई भारतीय राज्य संयन्त्रले नभएर पार्टीले राजीनमा माग्ने जवाफ दिनुभयो । ‘यसअघि पनि दिल्लीले होइन, मैले तपाईंको राजीनामा मागेको हुँ । आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु । तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्,’ दाहालले बैठकमा भन्नुभयो ।

भारतले सरकार सरकार ढाल्न लागेको दाबीका बारेमा प्रधानमन्त्री ओलीसँग दाहालले जवाफसमेत माग गर्नुभएको थियो । जवाफमा ओलीले स्थायी कमिटीमा उठेका विषयहरू जस्ताको त्यस्तै दिल्लीका मिडियामा आएको भन्दै नेताहरूको आलोचना गर्नुभयो । ‘उहाँ (प्रधानमन्त्री) ले पार्टीको बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले भन्दै जंगिनुभयो । त्यसबारे पार्टीमा गम्भीर छलफल हुनुपर्छ भन्ने उहाँको भनाइ थियो,’ बैठकमा सहभागी स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो अभिव्यक्तिले पार्टी र राष्ट्रको प्रतिष्ठामा कुनै आँच नआएकोसमेत दाबी गर्नुभयो । ‘नक्सा छापिएको विषयपछि देखिएको परिस्थितिका बारेमा मैले बोलेको हुँ, त्यो विषयलाई स्पष्ट गरेको हुँ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीले गरेको कामको बारेमा राखेको धारणाले कसरी देश र पार्टीको अपमान भयो ? तपाईंहरूले के बुझ्न थाल्नुभएको हो ?’ 

दाहाललाई बैठकमा नेतात्रय नेपाल, खनाल र गौतमले साथ दिनुभएको थियो । बैठकमा दाहालसँगै तीनै जना शीर्ष नेताहरूले पनि प्रधानमन्त्री ओलीले तत्कालै राजीनामा दिनुपर्ने माग गर्नुभयो । वरिष्ठ नेता खनालले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको स्रोतले जानकारी दियो । 

प्रधानमन्त्रीको आफूलाई हटाउन भारत लागेको छ भन्ने अभिव्यक्ति गम्भीर भएको उहाँहरूको भनाइ थियो । ‘प्रधानमन्त्रीका गतिविधिबाट सवै नेताहरूमा आ–आफ्नै ढंगको असन्तुष्टि थियो । उहाँहरूले सरकारका कामहरूका बारेमा, पार्टी सञ्चालनका बारेमा असन्तुष्टि व्यक्त गर्नुभयो,’ स्थायी कमिटी स्रोतले भन्यो, ‘सवै शीर्ष नेताहरूको माग प्रधानमन्त्रीले मार्गप्रशस्त गरिदिनुपर्छ भन्ने थियो ।’ 

बैठकमा स्थायी कमिटी सदस्यहरूले पनि प्रधानमन्त्री ओलीले आप्mनो पछिल्लो अभिव्यक्तिका बारेमा प्रष्ट्याउनुपर्ने माग गरेका थिए । ‘प्रधानमन्त्रीजीले बोल्नुभएको कुरा राजनीतिक तवरले पनि ठिक भएन । पार्टीका कुन कुन नेताहरू सरकार ढाल्न लागेका छन्, त्यो बारे जानकारी दिनुप¥यो,’ स्थायी कमिटी सदस्य गणेश शाहले बैठकमा राखेका कुराबारे जानकारी दिँदै भन्नुभयो, ‘सरकार नेकपाको हो, नेकपाको घोषणा पत्र, नीति तथा कार्यक्रम अनुसार सरकार चलेको छैन । सहमति, सम्झौताका नाममा विधि, प्रक्रिया उल्लंघन भएका, नियमित बैठकहरू नगरेका कारण पार्टीका तर्फबाट पनि पार्टी सञ्चालन नभए जस्तो छ । प्रधानमन्त्रीले मार्ग प्रशस्त गरिदिनुपर्छ ।’ 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा राजीनामाका बारेमा छलफल नभएको प्रतिक्रिया दिनुभयो । ‘यो सन्दर्भ जोडेर पार्टी र सरकारका बारेमा छलफल भएको छ । यो बारेमा अरु स्थायी कमिटी सदस्यहरूले विचार व्यक्त गरिसकेपछि अध्यक्षद्वयका बीचमा फेरि छलफल हुन्छ,’ बैठकपछि प्रेस बिफ्रिङका क्रममा शीर्ष नेताले माग गरेको राजीनामा बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘सचिवालयको बैठक आवश्यकता अनुसार बस्छ । आवश्यकताअनुसार केही संश्लेषण गर्नुप¥यो भने स्थायी कमिटीमा छलफल हुने भएकाले अहिले विचाराधीन छ । राजीनामाका बारेमा हामीले छलफल गरेका छैनौं ।’ 

‘जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्रीले आफ्नो सरकार हटाउन खोजेको धारणासँग सम्बन्धित कुरो बोल्नुभएको र पार्टीका पनि नेताहरूको संलग्नताको सन्दर्भमा पनि चर्चा भइरहेको सन्दर्भमा यस विषयमा स्पष्ट हुनुपर्ने आवश्यकता महसुस गरेर छलफल भयो,’ उहाँले भन्नुभयो । 

प्रवक्ता श्रेष्ठका अनुसार मंगलबारको बैठकमा १८ जना स्थायी कमिटी सदस्यहरूले आ–आप्mनो धारणा राखेको र बैठक बुधबार बिहान ११ बजे फेरि बस्ने जानकारी दिनुभयो । 


Views: 94