8th July | 2020 | Wednesday | 6:00:03 AM

कोभिड–१९बारे कांग्रेसद्वारा फेरि सरकारको ध्यानाकर्षण

हिमालय टाइम्स   POSTED ON : असार १७, २०७७ (१०:४१ AM)

कोभिड–१९बारे कांग्रेसद्वारा फेरि सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’ ले कोभिड–१९ का विषयमा पार्टीले विगतदेखि उठाउँदै आएका विषयहरूका बारेमा सरकारको पुनः ध्यानाकर्षण गराएको छ । समितिका संयोजक तथा सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डलले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरी कोभिड–१९ का विषयमा पार्टीले विगतदेखि उठाउँदै आएका विषयहरूका बारेमा सरकारको पुनः ध्यानाकर्षण गराएको हो । 

कोभिड–१९ का विषयमा सरकारबाट भए गरेका क्रियाकलाप तथा आगामी दिनका कार्यक्रमबारे जानकारी लिएर पार्टीले विगतदेखि उठाउँदै आएका विषयबारे सरकारको पुनः ध्यानाकर्षण गराइएको कांग्रेसका सचिव डा. प्रदिप पराजुलीले जानकारी दिए । 

उक्त प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री ढकालसँग भएको छलफलमा कांग्रेसले कोभिड–१९ बाट सिर्जना भएको राष्ट्रिय समस्यामा सरकारलाई सकारात्मक सहयोग र सुझाव प्रदान गरेको र ५० लाख रुपैयाँ सुरुमै सहयोग गरेको अवगत गराउँदै क्वारेन्टिनको उचित व्यवस्थापन, पिसिआर परीक्षणको दायरा बढाउन, विदेश र छिमेकी मुलुकबाट आउने नेपालीहरूलाई सुरक्षित र व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गर्न आग्रह गरेको उनले जानकारी दिए । 

यस्तै, टोलीले स्थानीय तहहरूलाई समयमै प्रयाप्त रकम उपलब्ध गराउन, स्वास्थ्य उपकरणको खरिद र गुणस्तरको बारेमा पारदर्शिता अपनाउन, ननकोभिड रोगको (दीर्घ रोगी, प्रसूति सेवा, खोप, मानसिक समस्या जस्तै डिप्रेसन आदि) उपचारको बारेमा विशेष ध्यान दिन, आत्महत्या, बलात्कार, महिला हिंसा जस्ता सामाजिक समस्याहरूको रोकथाम गर्न, वर्षाको मौसम सुरु भइसकेकोले विभिन्न किसिमका अन्य सरुवा रोगहरू र बाढी, पहिरोको प्रकोप हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी महामारीको समस्या अझ बढी जटिल हुन सक्ने भएकोले त्यसतर्फ समयमै ध्यान दिन, अग्रणी भूमिकामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र क्वारेन्टाइनमा खटिएका स्वयंसेवकहरूको सुरक्षा र सुविधाको लागि विशेष ध्यान दिन, समयमै प्रयाप्त स्वास्थ्य सामाग्रीहरू खरिद गर्न, निजी अस्पताल तथा स्वास्थ्य केन्द्रहरूको समुचित उपयोग गर्नेतर्फ समेत ध्यान दिन ध्यानाकर्षण गराएको थियो । 

प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. खतिवडासँगको भेटघाटमा कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको असर र त्यसका समाधानका बारेमा छलफल गरेको थियो । प्रतिनिधिमण्डलले विभिन्न देश तथा भारतबाट फर्किएका युवाहरूको रोजगारीको व्यवस्था गर्न, लकडाउनबाट प्रभावित उद्योग धन्दाहरूको सुचारुको लागि उपयुक्त आर्थिक सहयोगको व्यवस्था गर्न, साना मझौला र अनौपचारिक व्यवसायहरूलाई विशेष सहयोगको प्याकेज ल्याउन, क्वारेन्टाइन तथा अन्य आवश्यक स्वास्थ्य उपकरण व्यवस्थापनको लागि स्थानीय निकायहरूलाई प्रयाप्त र समयमै बजेट उपलब्ध गराउन माग गरेको थियो । 

गरिब र बेरोजगारहरूलाई रोग र भोकबाट बचाउन विशेष राहतका कार्यक्रम ल्याउन, वैदेशिक रोजगारमा गएका युवाहरूलाई स्वदेश फर्कन लाग्ने हवाईभाडामा विशेष सहुलियत प्रदान गर्न पनि खतिवडालाई सुझाव दिइएको सचिव डा. पराजुलीले जानकारी दिए । 

उनका अनुसार कांग्रेसले अर्थमन्त्रीसँग एडिवी, विश्व वैंक जस्ता विभिन्न विकास सहयोगी संस्थाहरूबाट प्राप्त सहयोगहरूको बारेमा जानकारी माग्नुका साथै सहयोगहरूको उचित सदुपयोगको सुनिश्चितता हुनुपर्नेमा सजग गराएको थियो ।

दुवै भेटघाटमा ‘कोभिड–१९ अनुगमन समिति’ का संयोजक डा. महतसँगै केन्द्रीय सदस्यहरू  एनपी साउद, डा. चन्द्र भण्डारी, गगनकुमार थापा र मोहनबहादुर बस्नेत, विज्ञहरूका तर्फबाट डा. प्रभु बुढाथोकी, डा. पोषराज पाण्डे र कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. पराजुलीको सहभागिता थियो ।

महाधिवेशन पूर्वनिर्धारित समयमै

काठमाडौं । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अन्योलमा परेको भनिएको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने भएको छ । यद्यपि, तल्लो तहकाअधिवेशनहरूको कार्यतालिका भने हेरफेर गरिएको छ । 

आशन्न महाधिवेशनका बारेमा छलफल गर्न मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्ने गरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार फागुन १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको छ । साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशिल सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुस ७ गते देशभरीका सात हजार वडाको अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ । 

बैठकले सात सय ५१ वटा स्थानीय तहमा पुस ८ गते, प्रदेशसभाको पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय गरेको छ । 

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते, प्रदेशहरूमा माघ ६ गते अधिवेशन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म हुने प्रवक्ता शर्माले बताउनुभयो । 

गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी महाधिवेशन २०७७ फागुन ७–१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।


Views: 18