Date:2017/10/17 |Tuesday

प्रवासीद्वारा रु. एक करोडको अक्षयकोष स्थापना

Posted on: April 15, 2017 | views: 139 |

बागलुङ । रोजगारीका क्रममा जापान पुगेका काठेखोला गाउँपालिका– ५ र ६ बिहुँकोटका बासिन्दाले गाउँमा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । 

शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक कार्यमा सघाउने उद्देश्यले सो कोषको स्थापना गरिएको हो । काठेखोला गाउँपालिका– ५ मा शुक्रवार आयोजित एक कार्यक्रमबीच उक्त कोषको घोषणा गरिएको बिहुँकोट समाज जापानका अध्यक्ष देवीलाल सुवेदीले जानकारी गराए । 

सो अवसरमा अध्यक्ष सुवेदीले जापान समाज बिहुँकोटका अध्यक्ष गौरीशङ्कर शर्मालाई रु एक करोड बराबरको ‘चेक’ हस्तान्तरण गरे । जापानमा रहेका बिहुँकोटबासीबाट आर्थिक सहयोग जुटाएर सो कोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताए । 


‘शिक्षा, स्वास्थ्यलगायत सामाजिक कार्यमा सघाउ पु¥याउन कोष स्थापना गरिएको हो’ अध्यक्ष सुवेदीले भने,– “जापानमा रहेका सबै बिहुँकोटवासीको यसमा ठूलो योगदान छ ।” 


बिहुँकोटमा रहेको जापान समाज बिहुँकोटले अक्षयकोष सञ्चालन गर्नेछ । अक्षयकोषबाट प्राप्त हुने वार्षिक ब्याज रकमबाट विभिन्न कार्य गरिने समाजका अध्यक्ष गौरीशङ्कर शर्माले बताएका छन् । काठेखोला गाउँपालिका– ५ र ६ लाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको जनाइएको छ । 

‘बिहुँकोट क्षेत्रको विकासका लागि कोष रकम परिचालित हुन्छ’ अध्यक्ष शर्माले भने ‘शिक्षा, स्वास्थ्य र भइपरी आउने विपद् व्यवस्थापनमा पनि सहयोग गर्ने योजना छ ।’ 

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले प्रवासमा रहेर पनि आफ्नो गाउँको विकासमा सक्रिय रहनु प्रशंसनीय कार्यभएको बताएका छन् । 

‘आफ्नो जन्म गाउँ र स्वेदशको विकासमा लागि प्रवासमा रहेका नेपालीको ठूलो देन छ’ उनले भने– “यस्ता कल्याणकारी सामाजिक कार्यको सबै क्षेत्रले अनुसरण गर्नु आवश्यक छ ।” रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं