22nd July | 2018 | Sunday | 12:53:17 PM

एनआरएन अष्ट्रेलियाको अध्यक्षमा शाहको उम्मेदवारी

  POSTED ON : Saturday, 03 June, 2017 (8:33:36 PM)

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अष्ट्रेलियाको अध्यक्षमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

यसअघि शाहले सन् २००९ देखि २०१५ सम्म तीन पटक लगातार तीन कार्यकाल एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । शाहले अव बन्ने नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

गतवर्ष नेपाल सरकारले उनलाई अष्ट्रेलियाको क्विन्सल्यान्ड सहरका लागि पर्यटनदूत नियुक्ति गरेको थियो ।

शाहले अस्ट्रेलियमा रहेका नेपालीको समस्या समाधान र हितका लागि काम गर्ने तथा नेपालमा पर्यटक र विदेशी लगानी भित्र्याउने आफ्नो प्रमुख कार्यसूची रहेको बताएका छन् ।

अष्ट्रेलियाको नेपाली समाजलाई मातृभूमिसँग सामाजिक र सांस्कृतिक रुपमा जोड्न विभिन्न मौलिक कार्यक्रम आयोजना गर्न आफ्नो विशेष ध्यान केन्द्रीत हुने उनले बताए ।

एनआरएन अष्ट्रेलियाको आगामी कार्यकालका लागि असार २४ गते अधिवेशन हुँदैछ । उनले अस्ट्रेलियामा शिक्षा, रेस्टुरेन्ट र पर्यटन व्यवसायमा लगानी गरेका छन्। फेसबुक, मेरो भ्यालेन्टाइन लगायतका नेपाली चलचित्रमासमेत उनले नायकको रुपमा अभिनय गरेका छन्।

अस्ट्रलियामा करिब एक लाख नेपाली रहेको अनुमान गरिए पनि करिब नौ हजारले मात्रै एनआरएनको सदस्यता लिएका छन् । रासस