22nd July | 2018 | Sunday | 12:53:29 PM

घाइतेको उपचारका लागि इजरायलमा रहेका प्रवासी नेपालीको सहयोग

  POSTED ON : Monday, 05 June, 2017 (11:39:48 AM)

चितवन । साइकलको ठक्करबाट गम्भीर घाइते भई हाल उपचाररत दक्षिण चितवनको माडी नगरपालिका–८ जीवनपुरका ४८ वर्षीय कृष्णबहादुर परियारको उपचारका लागि इजरायलमा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन् । 

चितवन समाज इजरायलको प्रयासमा आर्थिक सङ्कलन गरी घाइते परियारको उपचारका लागि एक लाख एक हजार १११ सहयोग उपलव्ध गराइएको चितवन समाज इजरायलका महासचिव चिरञ्जीवी मिश्रले जानकारी दिए । 

सङ्कलित रकम चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा अस्पताल मै पुगेर आइतबार घाइते परियारलाई हस्तान्तरण गरिएको मिश्रले बताए । 

परियार सुकुम्बासी भएकाले उनको उपचारमा आर्थिक समस्या परेको थाहा पाएर सहयोग गरिएको जनाइएको छ । गएको चैत १६ गते माडीमा पैदल हिँडिरहेका बेला साइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । टाउकोमा रगत जमेका कारण उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । 

एकपटक शल्यक्रिया गरिएको उनको टाउकोमा पुनः पानी जमेपछि दोस्रो पटक शल्यक्रिया गरिएको उनकी श्रीमती विष्णुमायाँ परियारले जानकारी दिइन्। रासस