Date:2017/10/17 |Tuesday

राजदूत राणालाई जापानवासी नेपालीको सम्मान

Posted on: June 20, 2017 | views: 181 | प्रकाश पन्थी

टोकियो । जापानका लागि नवनियुक्त नेपाली राजदूत प्रतिभा राणालाई यहाँ क्रियाशील दर्जनभन्दा बढी सङ्घसंस्थाले आइतबार सम्मान गरेका छन् । 

राजदूत अभावमा लामो समयदेखि कार्यवाहक राजदूतले सम्हाल्दै आएको कार्यभार महिला प्रतिनिधि भएर पनि राजदूत भएर आएकोमा टोकियोमा सम्मान गरिएको हो । 

गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा सङ्घसंस्थाका प्रतिनिधिले राजदूत राणालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

टोकियो महानगरपालिकाको सिंजुकु सहरको प्रिन्स होटलमा आयोजित सम्मान कार्यक्रममा चार दर्जनभन्दा बढीले प्रत्यक्ष सहभागिता जनाएर जापानका लागि महिला अभिभावक पाएकोमा खुसी व्यक्त गरेका थिए । 

उनीहरुले विगतमा कार्यवाहक राजदूतले गरेका राम्रा कामको अनुशरण र नयाँ काम छिटोछरितो तथा नेपाल–जापान सम्बन्ध अझ नजिक बनाउन सुझाव पनि दिएका छन् । 

कार्यक्रममा जापानस्थित विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिले केही नेपालीका गलत गतिविधिका कारण अन्य नेपालीलाई समस्या भएको भन्दै सम्बन्ध सुधारमा लागेर देखाउन आग्रह गरेका थिए । 

सम्मानपछि राजदूत राणाले सबै नेपालीको एकता देखेर आफूलाई खुसी लागेको भन्दै भोलिका दिनमा सधैँ नेपाल र नेपालीको पक्षमा काम गर्ने बताइन् । उनले सम्बन्ध सुधारमार्फत प्रविधिको विकासका लागि उच्चस्तरीय भ्रमण गराउने योजना रहेको भन्दै जापान सरकार र नेपाल सरकारबीच उच्चस्तरको भ्रमण गराएरै छाड्ने प्रतिबद्धता जनाइन् । 

लगातार कार्यवाहक राजदूतले सम्हाल्दै आएको कार्यभार राजदूत राणा एकमहिना अघि जापान आएर सम्हालेकी हुन्। रासस 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं