22nd May | 2019 | Wednesday | 2:15:04 AM

मलेसियामा दैनिक एक जना नेपालीको मृत्यु

नारायण अधिकारी   POSTED ON : मंसिर २५, २०७५ (१२:१४ PM)

मलेसियामा दैनिक एक जना नेपालीको मृत्यु

मलेसिया । धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । 

मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ को हालसम्म ३२२ को विभिन्न कारणले मृत्यु भएको छ । यो सङ्ख्या सन् २०१७ मा ३६४ रहेको थियो । 

कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार सन् २०१८ मा सबैभन्दा बढी आत्महत्या गरी ४३ जना, सडक दुर्घटनाबाट २५ जना, कडा रोगका कारण ३९ जना र औद्योगिक दुर्घटनाका कारण १७ को मृत्यु भएको छ । सुतिरहेको अवस्था, मदिरा सेवा, आपसी झगडाजस्ता विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या १९८ रहेको छ । मृत्यु हुनेमा एक जना महिला र बाँकी सबै पुरुष छन् । 

सन् २०१७ मा मृत्यु भएकामध्ये ६५ जनाले आत्महत्या गरेका थिए । कडा रोगका कारण ६३ को मृत्यु भएको थियो भने सडक दुर्घटनामा २७ र औद्योगिक दुर्घटनामा परी १४ को मृत्यु भएको थियो । अन्य कारणले मृत्यु हुनेको सङ्ख्या १९५ रहेको थियो । 

क्षयरोग, कलेजोको खराबी, डेङ्गु, मष्तिष्काघात, एपेण्डिसाइटिस, मेनेन्जाइटिसजस्ता रोगका कारण नेपाली कामदारको मृत्यु हुने गरेको छ । रेलको ठक्करबाट, बसबाट खसेर, करेन्ट लागी जलेर, हत्या, सुतिरहेको अवस्थामा, छातीको खराबी, अग्लो घरबाट लडेर पनि कामदारको मृत्यु हुने गरेको छ ।

मलेसियामा पछिल्लो तथ्याङ्कअनुसार तीन लाख ८३ हजार नेपाली कामदार रहेका छन् । 


Views: 229