Date:2017/10/17 |Tuesday

बाढीपहिरोले देशभरको जनजीवन प्रभावित

Posted on: August 12, 2017 | views: 76 |

काठमाडौं । केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मुलुका विभिन्न स्थान बाढी, पहिरो र डुवानमा परेका छन्।
वर्षाले झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँकेलगायतका जिल्लाका विभिन्न स्थान बाढी र डुवानबाट बढी प्रभावित भएका छन्।
यसैगरी मध्य पहाडी क्षेत्रका विभिन्न स्थानमा पहिरो गएको छ। बाढी, पहिरो र डुवानबाट जनधनको ठूलो क्षति भएको गृह मन्त्रालयले जनाएको छ।
खोज, उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन उच्च प्राथमिकताका साथ भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस कठिन घडीमा खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेका परिवारहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्रीहरु उपलब्ध गराउन सवैमा अपिल गरेको छ।
साथै देशका विभिन्न नदीहरुको जल सतह बढिरहेको र केही नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएको हुँदा सम्बन्धित सबैले आआफ्नोतर्फबाट उच्च सतर्कता मन्त्रालयले आग्रह गरेको छ ।
पहिरोले घर पुरिंदा सिन्धुलीमा एकै घरका चार जनाको मृत्यु
सिन्धुली। शुक्रबार बिहानैदेखिको अविरल वर्षापछि आएको पहिराले पुरिएर घर पुरिंदा आज बिहान एकै परिवारका चार जनाको ज्यान गएको छ ।
सिन्धुलीमाढी, २ नं बजारका उदयबहादुर खड्का परिवारका चार सदस्यको ज्यान गएको हो । आज बिहान करिब २ बजे घर माथिबाट आएको पहिराले पुरिएर खड्काकी ३७ वर्षीया श्रीमती दुर्गाकुमार, १५ वर्षीया छोरी शोभा तथा छोरा १० वर्षीया अनिष र आठवर्षीय मनिष रहेको परिवार स्रोतले जनाएको छ ।

सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने खड्काको परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा घर बनाएर बसेको थियो । जिल्ला प्रहरी कार्यालयको आवासीय भवन नजिकैबाट झरेको पहिराले घर पुरिएको थियो । राति २ बजेतिर पहिराले घर भत्काएपछि आफू भागेर बाँच्न सफल भएको तर राति हारगुहार गर्दा उद्धार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको खड्काले बताए।

“राति २ बजेतिर पहिरो आएछ । म ढोकाको छेउमा सुतेको थिएँ । श्रीमती र छोराछोरी भित्तापट्टि सुतेका थिए । पहिरो आउनासाथ म भागेँ, उनीहरु भाग्न भ्याएनन् । राति २ बजेदेखि चिच्याएँ, ठूलो पानी परेकाले कोहीले थाहा पाएनन् क्यार, करिब ४ बजेतिर छिमेकीले प्रहरीमा खबर गरिदिए” खड्काले भने ।

पहिरामा परेकाहरुलाई ढिलो उद्धार गर्दा ज्यान गइसकेको थियो । शव सिन्धुली अस्पतालम राखिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार प्रयास गरेको थियो । राति परेको अविरल वर्षाको कारण अन्य क्षेत्रबाट भने कुनै क्षति विवरण अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घर भत्किँदा बाँकेमा तीनको मृत्यु
बाँके । राप्तीसोनारी गाउँपालिका–४ लालपुर गाउँका कमीलाल थारुको घर भत्किँदा तीन बालिकाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाले घरभित्र पानी पसेर एक्कासि घर भत्किँदा तीन छोरी मृतावस्थामा भेटिएको र तिनकी आमा बेपत्ता भएको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए । मृतकको अझैसम्म नाम खुलेको छैन । उनका अनुसार सो गाउँपालिककाअन्तर्गत विभिन्न गाउँमा बाढी पसेकाले हालसम्मको विवरण आउन सकेको छैन ।
बिहानैदेखि प्रहरी परिचालन गरिए पनि सबै स्थानमा उद्धार गर्न नसकिएको तामाङले बताए। बाढीपीडितलाई सकुशल उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिए पनि मौसम प्रतिकूलताका कारण ढिलाइ भएको प्रहरीले जनाएको छ ।
पीडितलाई हेलिकप्टरमार्फत उद्धार
लगातारको वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा परेको छ । गए राति १ बजेदेखि परेको वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन् ।
यस्तै कोहलपुर नगरपालिकाका पनि केही गाउँ डुबानमा परेका छन् । अहिले राप्ती नदीको सतह बढ्दै गएपछि गाउँमा बाढी पस्ने जोखिम बढेको छ । घरभित्र पानी पसेपछि मानिसहरु घरको छत तथा अग्लो स्थानमा बसेर हारगुहार गरिरहेका छन् ।
स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा गए रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको निमित्त प्रजिअ कृष्ण खड्काले जानकारी दिए । उनका अनुसार जिल्लाका बाढी प्रभावितलाई उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सुर्खेतमा रहेको हेलिकप्टर अहिले नेपालगञ्ज ल्याएर बाँकेको बैजापुरका नागरिकलाई उद्धार गर्न लागिएको छ । बाढीले बैजापुर, फत्तेपुर र होलियामा सबैभन्दा बढी प्रभावित बनाएको छ । त्यहाँका नागरिकलाई सुरक्षित स्थानतर्फ लग्ने प्रयास भइरहेको छ । यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको खासकुश्मामा मुख्य राजमार्गमा तीन रुख ढलेका छन् । अहिले ती रुख हटाउने काम भइरहेको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताउनुभयो । राप्ती नदीको तह बढेर अहिले ८।५८ मि पुगेर उच्च जोखिममा छ । राप्ती नदीको सतह पाँच मि सामान्य मानिन्छ ।
नदीमा बग्दै गरेका दुईको उद्धार
कञ्चनपुरको वनहरा नदीमा बग्दै गरेका दुई जनाको गएराति उद्धार गरिएको छ । कृष्णपुर नगरपालिका–१ दोमिल्लाका अन्दाजी ३० वर्षीय केशव महरा र उनकै दाजु ३५ वर्षीय धर्मलाई बाढी आएको नदी तर्ने क्रममा बग्दै गरेका बेला स्थानीय बासिन्दाले राति ८ बजे उद्धार गरेका हुन् । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीबाट घरतर्फ जाँदै गर्दा नदीमा दुवै जना बगेको स्थानीयवासी सुरतबहादुर साउदले बताए । “बगेको स्थानभन्दा झण्डै ७०० मिटर दक्षिणबाट दुवै जनालाई उद्धार गरेका छौँ”, उनले भने । स्थानीयवासी जनकलाल चौधरीसहितको टोलीले दुवै जनालाई उद्धार गरेको बताइएको छ । नदीमा पुल नहुँदा यहाँका बासिन्दाले बाढी आएका बेला पनि नदी तर्नुपर्ने बाध्यता छ ।
पहिराले घर पुरिँदा महिलाको मृत्यु
मोरङ। पहिराले घर पुरिँदा लेटाङ नगरपालिका–१ मा आज बिहान एक महिलाको मृत्यु भएको छ । दुई दिनदेखि लगातार परेको वर्षापछि पहिराले घर पुरिँदा ४० वर्षीया गोपीमाया तामाङको मृत्यु भएको सो वडाका कार्यालय सचिव धनमान तामाङले जानकारी दिए । मृतककी ९० वर्षीया सासू टुलकीमाया, ५० वर्षीय श्रीमान् टंक र १० वर्षीय छोरालाई भने स्थानीयवासीले उद्धार गरेर बचाएका छन् । अविरल वर्षापछि सुन्दरहरैँचा नगरपालिका–४ स्थित बूढी खोलामा आएको बाढीले पुल कटान गर्न थालेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढीले पुल नै जोखिममा परेपछि राजमार्ग भएर आवतजावत नै बन्द गरिएको सुन्दरहरैँचा नगरपालिका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए । बेलबारी नगरपालिका–५ स्थित भित्री सडकखण्डमा लोहन्द्रा खोलामा रहेको पक्की पुल बाढीले बगाएको इलाका प्रहरी कार्यालय हरैँचाले जनाएको छ । यस्तै बूढीगंगा गाउँपालिका–२ बौराहा टोलमा बूढीखोलाको बाढी पसेर एक सय ५० घर, मुडेरी टोलका एक सय ५० घर र दिपुटोलका ५० घर डुबानमा परेका छन् । इलाका प्रहरी कार्यालय निमुवाबाट प्रहरीको टोली खटिएर पीडितको उद्धार गरिरहेको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी उर्लाबारी नगरपालिका–८ स्थित माझीटोलमा बक्राहा खोलाको पानी गाउँ पसेर १५ घर र मिक्लाजुङ गाउँपालिकामा–६ खाबेझोडामा १८ घर डुबानमा परेका छन् । त्यस्तै रतुवामाई नगरपलिका–५ गोविन्दपुरमा रहेको प्रहरी चौकी गोविन्दपुर पूर्णरुपमा डुबानमा परेपछि त्यहाँ कार्यरत प्रहरी छतमा बस्नुपरेको छ । रतुवामाई नगरपलिका–५, ७, ८ र ९ मा रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पसेको प्रहरीले जनाएको छ । सो स्थानका विस्थापित अन्दाजी सात सय घरपरिवारलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको प्रहरी चौकी इटहराले जनाएको छ । यस्तै धनपालथान गाउँपालिका–६ स्थित लोहन्द्रा खोलाको बाँध फुटेर एक सय ५० घर डुबानमा परेका छन् ।

रिउ खोलामा आएको बाढीले चितवनको माडी क्षेत्रका दुई सय घर डुबानमा

दुई दिनदेखि परेको अविरल वर्षाका कारण चितवनको माडी नगरपालिकास्थित रिउ खोलामा आएको बाढीले स्थानीय २०० घर डुबानमा परेका छन् । बाढीकै कारण इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, बघौडा अस्पताललगायत सरकारी कार्यालयसमेत डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मध्यरातमा रिउ खोलाको बहाव ५ दशमलव १० बिन्दुमा पुगेपछि स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान भनिएको छ । राति डुबानमा परेका घरबाट स्थानीयवासी अग्ला ठाउँमा गएर सुरक्षित रहेको उनले जानकारी दिए । माडी नगरपालिका वडा नं १, २, ४ र ६ का पूरै तथा वडा नं ३ र ४ का केही भाग डुबानमा परेका छन् । बाढीले कुन्तीपुरमा दुई कच्ची घर ढलाएको तथा घरका खाद्यान्न, लत्ताकपडालगायत सामग्रीमा क्षति पुर्याएको छ । ठूलो मात्रामा धान खेत डुबाएको स्थानीयवासीले बताएका छन् । वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार माडी–ठोरी हुलाकी सडकको चितई खोलाको पुल बाढीले ढल्काएपछि सो सडक अवरुद्ध भएको छ । त्यसैगरी बरुवा बजारबाट लक्ष्मुनिया क्षेत्र जाने डाङ्ग्रे खोलाको पुल पनि बाढीले क्षति पुर्याएपछि सो सडक पनि अवरुद्ध बनेको छ।
ती ठाउँमा मानवीय र पशु चौपायाको कुनै क्षति नभएको प्रहरीले जनाएको छ । विस्तृत विवरण संकलन भइरहेको छ । डुबानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी, स्थानीयवासीसहित निकुञ्जका सात हात्ती उद्धारमा परिचालन गरिएको छ । जिल्लाबाट प्रजिअ नारायणप्रसाद भट्ट, सुरक्षा निकायका प्रमुखसहितको टोली बिहान डुबानस्थलतर्फ प्रस्थान गरेको छ ।
घर घरमा पानी पस्यो
जनकपुरधाम। अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका जलमग्न भई यहाँका घर घरमा पानी पसेको छ । पानीको निकास हुन नसकेकाले मुख्य सडक जलाशयमा परिणत भएको छ। एकीकृत शहरी विकास आयोजनाले नाला निर्माणमा गरेको ढिलाइ र लापर्बाहीले गर्दा पानीको बहाव बन्द भई प्रजिअ, सुरक्षाकर्मी आवास परिसर, राष्ट्रिय समाचार समिति, आन्तरिक राजस्व, हुलाक, परिवार नियोजन, महिला विकास, कोष तथा लेखा नियन्त्रण, जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय परिसर डुबानमा परेका छन् ।

जनकपुर अञ्चल अस्पतालमा दुई फिटभन्दा अधिक पानी जमेको छ भने रासस र हुलाक कार्यालयका कोठामा पानी पसेर कागजातलाई भिजाएको छ । अञ्चल अस्पतालमा पानी जमेका कारण बिरामीले सास्ती भोग्नुपरिरहेको छ । यहाँका नालाका पानीले परिसर दुर्गन्धित भएको छ ।

महोत्तरीका ४१ वटा सडक बाढीले अवरुद्ध

 अबिरल वर्षाका कारण महोत्तरी जिल्लाका दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् । 

तीन÷चार दिनदेखि लगातार भइरहेको वर्र्षाका कारण सडक बिग्रिएपछि जिल्लामा रहेका ४० ग्रामीण सडक र दुई मुख्य पक्कीसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् । 

लगातारको वर्षाका कारण जिल्लाको मुख्य पक्की सडक जलेश्वर जनकपुरसहित ग्रामीण सडक मटिहानी जलेश्वर परिक्रमा सडक, भिठ्ठामोड जलेश्वर सडक, मटिहानी जनकपुर रामजानकी पथ, जलेश्वर हर्दी हुलाकी सडक, जनकपुर लोहारपट्टी सडक खण्डको यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ भने स्थानीयवासीलाई निक्कै कष्ठपूर्ण भएको छ । रासस 




Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं