Date:2017/10/17 |Tuesday

बाढीले लियो ज्यान : उद्धार र राहतको आशमा बाढीपिडित

Posted on: August 12, 2017 | views: 77 |

हिमालय टाइम्स । चारदिन देखि लगातार रुपमा पूर्वी नेपालमा अविरल बर्षा भइरहेको छ । शुक्रबार अपरान्ह् तिर केही मत्थर भएको बर्षा शुक्रबार राती देखि पुन शुरु भएको थियो । पानीसँगै हुरीबतास चलेकोले पानीले थिलथिलो बनाएको माटोका विरुवाहरु ढलेका छन् । धेरै बोटविरुवा खोलाको कटान सँगै बगेका छन् ।  अविरल बर्षाका कारण मध्यरातमा आएको बाढीले इटहरीलाई नमिठो र दुखद क्षणमा डुबाएको छ । स्थानीयका सपनाहरु बाढी सँगै बग्नुमात्र होइन । कतिले परिवारका सदस्यनै गुमाउनु परेको छ ।

 इटहरीको अधिकांश क्षेत्र अहिलेपनि जलमग्न अवस्थामा रहेका छन् । इटहरीको टेंग्रा खोला र बुढी खोलामा आएको भीषण बाढीले सुनसरी र मोरङमा करीब ५ हजार घरवार विहिन हुन पुगेका छन् भने बाढीले अहिले सम्म नौ जनाको बाढीले बगाएर मृत्यु भैसकेको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सुनसरी र मोरङको सिमाना बुढीखोला किनारमा स्थित गैरीगाउमा दुई परिवारबाट ४ जनाको बाढीमा परेर मृत्यु भएको जानकारी प्राप्त भएको छ । दुईजना बालबालिका सहित ४ जनाको मृत्यु भएको छ ।

सुनसरी र मोरङमा मात्रै हजार बढी स्थानीयहरू घरबार विहीन बनेको प्रारम्भिक अनुमान गरिएको छ । बाढीका कारण मानवीय क्षती के कती भयो त्यस्को यकिन बिवरण कुनै निकाय संग नरहेपनि शनिबार बिहानैबाट नेपालीसेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु उद्धारमा खटिए पनि अविरल बर्षा हुन नरोकिएको समस्या निम्त्याएको छ ।

त्यसैगरि झापाको कनकाई नदी र झिलझिले खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् ।

झापा गाउँपालिका– २ की कमला घोर्साइनेलाई कनकाई नदीमा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नदीमा आएको बाढीले आमाछोरीलाई दुबैलाई बगाउँदा छोरी कमलाको मृत्यु भएको र आमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

झापा गाउँपालिका– २ कै कलिप्रसाद राजवंशीसहित उनको चार जनाको परिवारलाई कनकाई नदीले बगाएको छ । नदीले बगाएर बेपत्ता भएका उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यता, शिवसताक्षी– १ धरमपुरका २८ वर्षीय विजय पाण्डेलाई झिलझिले खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरि अविरल बर्षाका कारण बिराटनगर विमानस्थल यतिबेला जलाशयले भरिएको छ । बिराटनगरका सम्पूर्ण भुभाग जलमग्न भएको खवर प्राप्त भएको छ ।

गृहमन्त्रालयले जनाए अनुसार हालसम्म सुनसरीमा ६, सिन्धुलीमा ४, बाँकेमा ४, झापामा १ र मोरङमा १ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै पाँचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो ।

त्यसैगरि वर्षाका कारण रौतहटका धेरै ठाँउ जलमग्न भएका छन् । झाँझ, बागमती र लाल बकैया नदीमा आएको बाढीले रौतहटका सबै गाँउपालिका र गौर, गरुडा र चन्द्रपुर नगरपालिका केही भूभाग डुबानमा परेका छन् ।

बाढीको पानीका कारण रौतहटको बन्जरहाको सडक सम्पर्क टुटेको छ ।

यसैगरी फतुवामहेशपुर, राजपुर, जिंगडवा, मलाही टोल, पोठियाहीमा डुबानमा पारेको छ । गरुडा क्षेत्रसँगै चन्द्रनिगाहपुर र सन्तपुर मैढा कटानीका बस्तीमा पनि बाढी पसेको छ ।

भारीबर्षा नरोकिएकाले हालसम्म कति जनधनको क्षति भयो यकिन तथ्यांक आउन सकेको छैन । अपुष्ट समाचार अनुसार हालसम्म बाढीपहिरोमा परि करिव ७० जनाको मृत्यु भएको अनुमान गरिएको छ । तत्कालै उद्धार र राहतमा सरकार लगायत सम्बन्धित निकायको ध्यान जान नसके ठूलो क्षति बेहोर्नु पर्ने  देखिन्छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं