Date:2017/08/22 |Tuesday

पहिरोमा पुरिएर मकवानपुरमा एकै परिवारका ६ र सुर्खेतमा तीन जनाको मृत्यु

Posted on: August 13, 2017 | views: 23 |

हेटौँडा । मकवानपुरको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आज बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका छजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभएको छ ।
पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु
सुर्खेत । अविरल वर्षासँगै पहिरोले घर बगाउँदा सुर्खेतमा तीनजनाको मृत्यु भएको छ ।

सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उहाँका १४ वर्षीय नाति विक्रम बुढा र १२ वर्षीय सरन बुढाको मृत्यु भएको छ । गएराती १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय, छिन्चुले जानकारी दिएको छ । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आज बिहान निकालेको छ ।

यता, रत्न राजमार्गको हर्रे–कोहलपुर सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन बन्द भएको छ । भेरीगंगा नगरपालिकाको हर्रे नजिकै गएराति पहिरो गएको हो ।

सुर्खेत प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि यात्रुको विचल्ली भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास बिहानैदेखि शुरु भएको छिन्चु प्रहरीले जानकारी दिएको छ ।

खोलाले बगाएर दुईजनाको मृत्यु
हेटौँडा। गएरातिदेखि अविरलरुपमा परिरहेको वर्षाले मकवानपुर जिल्लाको बकैया गाउँपालिका र वाग्मती गाउँपालिकामा खोलाले बगाएर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेहरुमा वाग्मती गाउँपालिका वडा नं १, फापरबारी बस्ने ५० वर्षीय पञ्चकुमार कुमाल र बकैया गाउँपालिका वडा नं ६ बस्ने ६० वर्षीय वीरबहादुर घलान रहेको जिप्रका मकवानपुरले जनाएको छ ।

यसैगरी, शनिबारदेखि परेको अविरल वर्षाले त्रिभुवन राजपथको बागजोरा, हेटौँडा–नारायणघाट सडकखण्डको मनहरी, लोथर, स्थानीय थानभ¥याङ र हेटौँडा–वीरगञ्ज सडकखण्डको रातमाटेमा आज बिहान पहिरो जाँदा हेटौँडा–वीरगञ्ज तथा हेटौँडा–नारायणघाटतर्फको यातायात सेवा अवरुद्ध रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिए ।

मौसममा सुधार भएमा आज दिउँसोसम्म सबैतिरको यातायात सेवा सञ्चालनमा ल्याउन डोजरसहित प्राविधिक उनले बताए। रासस



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं