Date:2017/11/25 |Saturday

जनप्रतिनिधि आफ्नै काममा असन्तुष्ट

Posted on: September 11, 2017 | views: 210 | बिनु लुइँटेल

काठमाडौं । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले कार्यभार सम्हालेको तीन महिनाभन्दा बढी भएको छ । यो अवधिमा काठमाडौं उपत्यकाका जनताले  खासै नयाँपनको अनुभूति गर्न पाएनन् ।  

काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै नगरको अवस्था उस्तै छ । काठमाडौं महानगरपालिकाले सय दिनका सय कामको योजना अगाडि सारेको थियो । कामको गति भने थोरै पनि अगाडि निराशा लाग्दो छ । महागनरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उपत्यकालाई क्लिन द सिटी, ग्रिन सिटी जस्ता कार्यक्रम अघि सारेका थिए । सडक व्यवस्थित गर्ने, ३२ वटै वडाका सडकमा वरिपरि सोलार बत्ती राख्ने, खानेपानी व्यवस्थित गर्ने, विभिन्न ठाउँमा मनोरन्जन स्थल बनाउने, वृद्ध क्लब तथा भवन बनाउने योजना अघि सारेका थिए ।  तीन महिनामा यी कामको सुरुवात समेत भएको छैन । सहर सफाइ, वृक्षरोपण, सडक व्यवस्थापन, खानेपानीलगायतका कुनै पनि काम अगाडि बढ्न सकेको छैन । 

उपत्यकामा फोहोरको दुर्गन्ध उत्तिकै छ । सडक र पानीको अवस्थामा पनि सुधार आएको छैन । नगर प्रमुखका घोषणामध्ये कर संकलन, वृद्धावृद्धलाई घरमै भत्ता र स्वास्थ्य जाँचलगायतका काममा भने महानगरले केही प्रगति गरेको  छ । 

आफ्ना योजना कार्यान्वयनमा चुकेको स्वीकार गर्छन् ललितपुर र भक्तपुर नगरपालिका जनप्रतिनिधि पनि । भक्तपुर नगरपालिकाको योजनाअनुसार काम अगाडि बढाउन नसकेको बताउँछन् मेयर सुनिल प्रजापति । सांस्कृतिक सम्पदाको संरक्षण, फोहोर व्यवस्थापन, सौर्यबत्ती व्यवस्थापन, सिपमूलक तालिमलगायतका योजना भक्तपुर नगरपालिकाले अघि सारेको थियो । कर संकलन, स्वास्थ्यसेवा र शिक्षाका क्षेत्रमा केही उपलब्धि भए पनि अन्य काम भने सन्तोषजनक रहन नसकेको प्रजापतिको भनाइ छ । 

काठमाडौं र भक्तपुरको जस्तै ललितपुरका जनप्रतिनिधिको पनि उस्तै गुनासो छ । समयमै भनेअनुसारको काम गर्न नसकेको बताउँछिन् उपमेयर गीता  सत्याल । 

नयाँ जनप्रतिनिधि आएको तीन महिनामा पनि कुनै नयाँपन नपाएको गुनासो सर्वसाधारणको छ ।  लगनखेलका  सुमन बस्याल भन्छन्, ‘नयाँ प्रतिनिधि आएपछि पनि जस्ताको तस्तै छ ।’ बाटोछेउको फोहोरले नाक छोप्दै हिँड्नु पर्छ, पानी पर्दा खाली ठाउँ खोज्दै उफ्रने र थोरै घाम लागेपछि आखैँ हेर्नु नहुने धुलोमा हिँड्नुपर्ने रहेको बस्याल बताउँछन् । कार्यभार सम्हालेको यतिका समयसम्म सामान्यखालका केही काम देखिने गरी गर्न नसकेको उनको भनाइ छ । 

जनप्रतिनिधिको अनुभव एकै प्रकारको छ ।  कार्यभार सम्हालेको तीन महिना बितिसकेको भए पनि जनताका समस्याका चाङ छन् । सानातिना समस्या हल गर्न सजिलो भए पनि ठूला समस्याको समाधान कहाँबाट सुरु गर्ने भन्ने अन्योलमा देखिन्छन् जनप्रतिनिधि । भनेको समयमा सोचेजति काम हुन नसकेको उनीहरू स्वीकार्छन् भक्तपुरका मेयर प्रजापति । 

केही काम भएको भए पनि सोचेको जति हुन नसकेको बताउँछिन् ललितपुर नगरपालिकाकी उपमेयर सत्याल । बीस वर्षसम्मका समस्या एकैचोटि हल गर्न गाह्रो भएको बताउँछिन् काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी । सबैका गुनासा लिएर सर्वसाधारणको चहनाअनुसार काम गर्ने उनको भनाइ छ ।  


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं