Date:2017/12/15 |Friday

बहुविवाह गरे कर्मचारी बर्खास्त

Posted on: September 11, 2017 | views: 123 | गंगा बराल


काठमाडौं । निजामती कर्मचारीले बहुविवाह गरे जागिरबाट खोसुवा हुने कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐन, २०७४’ को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । 

मन्त्रालयले ऐनको खाका आइतबार निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनलाई पठाएको छ । तीन दिनभित्र सुझाव पेस गर्ने समयसीमा दिएर ऐनको खाका आएको आधिकारिक कार्यबाहक अध्यक्ष भोलानाथ पोखरेलले बताए । 

‘हामीलाई प्राप्त भएको मस्यौदा अध्ययन गर्छौं र अरू सबैसँग सल्लाह गरेर सुझाव पठाउँछौं’ पोखरेलले भने, ‘संघीयतालाई सम्बोधन गर्नेखालको मस्यौदा छ कि छैन भन्ने कुरा प्रमुख हो । संघीय प्रशासनिक संरचनामा जाँदा अपनाउनुपर्ने न्यूनतम मूल्य मान्यतामा हाम्रो अर्को चासो छ ।’ 

उनले संघीयतामा कर्मचारीको चाहना सम्बोधन गर्न मस्यौदाले केही बोलेको भए पनि सन्तुष्ट हुन नसकिएको जनाए । उनले सबैसँग छलफल गरी छिट्टै औपचारिक धारणा सार्वजनिक गर्ने जनाएका छन् । प्रस्तावित मस्यौदामा २०६४ मा बनेको संसद् सचिवालय सेवा ऐन र स्वास्थ्य सेवा ऐन हटाएर निजामती सेवामै गाभिने भएको छ । 

यो ऐन पारित भए उपसचिव र सहसचिव खुला प्रतिस्पर्धाबाट लिइने छैन । सरकारले अहिलेसम्म १० प्रतिशत उपसचिव र सहसचिव खुला प्रतिस्पर्धाबाट ल्याउने गर्दथ्यो । नयाँ व्यवस्थामा आन्तरिक प्रतिस्पर्धाबाट ३० प्रतिशत र ज्येष्ठताको आधारमा ७० प्रतिशत छानिने छ । नेपाल सर्भेयर एसोसिएसनका सचिव दुर्गाप्रसाद फुयालले भने आन्तरिक प्रतिस्पर्धामा १० प्रतिशत मात्र गर्नुपर्ने तर्क राखे । उनले बढी प्रतिशतमा आन्तरिक प्रतिस्पर्धा भएपछि कर्मचारी बढुवा हुन खोज्दा कार्य सम्पादनमा असर पर्ने बताए । 

फुयालले यो ऐनको मस्यौदाले कर्मचारीको केही अधिकार खोसेको आरोप लगाए । उनले, भने ‘जनआन्दोलनको उपलब्धिपछि प्राप्त अधिकार कटौती गर्न खोज्नु अन्याय हो ।’ उनले सरकारले तयार गरेको मस्यौदामा सुधार गर्न आवश्यक रहेको बताए । उनले ट्रेड युनियन अधिकार नेपालमा पनि अन्तर्राष्ट्रिय मान्यताअनुसार दिइनुपर्नेमा जोड दिए । 

मस्यौदाले कर्मचारीको एकमात्र गैरराजनीतिक ट्रेड युनियन हुने उल्लेख गरेको छ । कर्मचारी प्रदेश वा स्थानीय तहमा समायोजन हुन चाहे एक तह बढुवा दिन सकिने व्यवस्था गरेको छ । ट्रेड युनियनमा रहेका पदाधिकारी तथा सदस्य अर्कोपटक फेरि उम्मेदवार बन्न नपाउने प्रस्ताव गरिएको छ । अध्यक्षको उम्मेदवार बन्नका लागि भने बाधा पर्ने छैन । 

एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका महासचिव रेवन्त गौतमले राष्ट्रिय स्तरका ट्रेड युनियन संघ÷संगठनलाई ट्रेड युनियन अधिकार प्रयोग गर्नबाट रोकेकोमा आपत्ति जनाए । ‘एउटा आधिकारिक ट्रेड युनियन हुने छ भन्ने मान्न सकिन्छ तर संगठन गर्ने अधिकार नै खोस्नु भनेको अलोकतान्त्रिक र अव्यवहारिक छ’, गौतमले भने, ‘एकपटक पदाधिकारी वा सदस्य भएपछि फेरि अध्यक्षबाहेक अर्को पदमा उठ्न नपाउने व्यवस्था अप्रजातान्त्रिक र निरंकुश हो ।’ 

निजामती किताबखानाको पछिल्लो तथ्यांकअनुसार ८६ हजार ५ सय ३३ निजामती कर्मचारी छन् । कार्यालय प्रमुख भएको अवस्थामा बाहेक शाखा अधिकृतसम्मका कर्मचारी ट्रेड युनियनमा आबद्ध हुन पाउने पुरानै व्यवस्था कायम गरिएको छ । २०७३ जेठ १९ गते भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा देशभरको मतगणना गर्दा सबैभन्दा बढी मत ल्याएको एमालेनिकट संगठनले आधिकारिकको नेतृत्व गरेको छ जसको अध्यक्ष पुण्यप्रसाद ढकाल रहेका छन् । 

छवटा संघ÷संगठनले आधिकारिकको निर्वाचनमा भाग लिएका थिए । दश प्रतिशत ‘थ्रेसहोल्ड’ भएकाले कांग्रेस, एमाले र माओवादी केन्द्रनिकट कर्मचारीका संघ÷संगठनले मात्र आधिकारिक प्रतिनिधित्व गर्ने अवसर पाए । प्रस्तावित ऐनले आधिकारिक ट्रेड युनियनको कार्यकाल तीन वर्षमात्र हुने नयाँ व्यवस्था गर्न खोजेको छ, यो युनियन गठन हुँदा चार वर्षे कार्यकाल तोकिएको थियो । 

२०४९ कात्तिक १९ गतेसम्म सरकारी सेवामा प्रवेश गरेका कर्मचारीका लागि भने अवकाश हुने उमेरहद ६० वर्षको तोकिएको छ । त्यसपछि सेवा प्रवेश गरेका कर्मचारीले ५८ वर्षमै अवकाश लिनुपर्ने छ । बीस वर्ष सेवा गरेका र ५० वर्ष उमेर पुगेका कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा बढीमा सात वर्षसम्मको उमेरको थप गणना गरिने छ । ऐन बनेपछि निजामती कर्मचारी भएकाले योगदानमा आधारित निवृत्तिभरण पाउने छन् । जसमा कर्मचारीबाट जम्मा भएको रकमको दोब्बर रकम उलब्ध हुनेछ ।

बहुविवाह गरेमा, जासुसीसम्बन्धी कसुर गरेमा, उमेर र योग्यता ढाँटेमा भ्रष्टाचार गरेमा, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा, विदेशको स्थायी अनुमतिपत्र लिएमा वा लिनको लागि आवेदन दिएमा सेवा  बर्खास्त गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसअघिको व्यवस्थामा बहुविवाह गर्नु हुँदैन भन्ने उल्लेख भए पनि कारबाही व्यवस्था थिएन । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं