19th February | 2018 | Monday | 4:07:46 AM

आठ दिनपछि मृतावस्थामा फेला

  POSTED ON : Tuesday, 12 September, 2017 (8:21:16 AM)

आठ दिनपछि मृतावस्थामा फेला

तनहुँ । गत भदौ १९ गते सोमबारदेखि हराएका भनिएका व्यास नगरपालिका वडा नं ३ स्थित रुचन खाजाघर सञ्चालक चन्द्रकुमार कायस्थका जेठा छोरा कृष्ण कायस्थ सोमबार साँझ मृतावस्थामा फेला परेका छन् ।
देवघाट गाउँपालिका वडा नं ५ स्थित त्रिशूली नदी मिसिएको स्थान नजिकै बगाई भन्ने स्थानमा नदीमा तैरिरहेको अवस्थामा कायस्थ मृतावस्थामा फेला परेका हुन् ।
कायस्थसँगै पौडी खेल्न गएका चारजना युवालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।
सँगै पौडी खेल्न गएको अवस्थामा घरपरिवारमा कुनै पनि जानकारी नगराएको र छोराको मोबाइल साथमै राख्नुजस्ता कारणले पनि कर्तव्य गरेको भन्दै पीडित पक्षले प्रहरीमा ठाडो उजुरी जाहेरी गरेका थिए ।

स्थानीयवासी, आफन्त र नेपाल प्रहरीसहितको टोलीले खोज्दै जाँदा उक्त स्थानमा शव फेला परेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले जानकारी दिए ।

शरीरको अवस्था चिनिनेखालको नभए पनि हातमा लगाएको सिक्रीबाट आफन्तले पहिचान गरेका थिए । शव परीक्षणका लागि दमौली अस्पतालमा ल्याइने बताइएको छ । रासस