Date:2017/10/20 |Friday

अग्रिम टिकटमा सास्ती ५ घन्टासम्म लाइनमा

Posted on: September 13, 2017 | views: 81 |

काठमाडौं । धरानका लक्ष्मण घिमिरे अहिले राजधानीमा एलएलबी दोस्रो वर्षको परीक्षा दिइरहेका छन् । घिमिरे दसैंमा घर जान अग्रिम टिकट लिनका लागि मंगलबार बिहान पाँच बजे नै सुन्धारा पुगे तर बस काउन्टर भने खोलिएको थिएन । पाँच घन्टा लाइन बसेर बल्ल टिकट पाए । 

यस्तै, गुल्मीकी मिरा गिरी पनि बिहान तीन बजे उठेर गौशालामा टिकटका लागि पुगिन् । उनी पुग्दा लाइन निकै लामो भइसकेको थियो । तीन घन्टा लाइनमा बसेर उनले टिकट लिइन् । उनले भनिन्, ‘दसैंमा घर जाँदा र आउँदा अति सास्ती हुन्छ । काठमाडौंबाट दसैंमा घर जाने टिकट पाउन अति मुस्किल हुन्छ भने घरबाट फर्कंदा पनि उस्तै सास्ती व्यहोर्नु पर्छ ।’

यस्तै महेन्द्रनगरकी सुशीला लामाले पनि बिहान चार बजेदेखि लाइनमा बसेर टिकट लिएको बताइन् । यो चाड पर्वको समयमा घर ओहोर दोहोरमै अति सास्ती व्यहोर्नु परेको दुखेसो पोखिन् । ‘दसैंमा काठमाडौंबाट जसोतसो गरेर घर त गयो तर घरबाट फर्किने बेलामा यस्तै सास्तीको सामना गरेर आउनुपर्छ,’ इलामका सुदर्शन आचार्यले गुनासो सुनाए ।

चाडपर्वका बेला लामो तथा छोटो दूरीका यात्रामा सर्वसाधारण अति सास्ती हुने गरेको छ । यो विषयमा सरकारले खासै चासो नदिएको सर्वसाधारणकोे गुनासो छ । दसैंमा काठमाडौंबाहिर जाने सर्वसाधारण यात्रुका लागि अग्रिम टिकट बुकिङ मंगलबार खुला भएको हो । टिकट बुकिङका लागि सर्वसाधारण राति दुई बजेबाटै नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चावहिल र सुन्धाराका टिकट काउन्टरमा टिकट लिन पुगेका थिए । टिकट बिक्री भने बिहान छ बजेपछि सुरु भएको थियो ।

सरकार र यातायात व्यवसायीबीचको विवाद मिल्न नसक्दा यो वर्ष करिब १५ दिन बढी ढिला गरी टिकट बुकिङ खुलेको हो । गत वर्षमा एक महिनाअघि नै अग्रिम टिकट बुकिङ खुलेपनि यो वर्ष घटस्थापनाको एक साता अघिमात्रै खुलाइएको हो । टिकट खुलेको पहिलो दिन मंगलबार काउन्टरमा सर्वसाधारणको घुइँचो लागेको छ । काउन्टरका कर्मचारीलाई टिकट वितरण गर्न हम्मे–हम्मे परेको थियो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको बैठकले मंगलबार टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । यातायात आफ्नो मागबमोजिम छतमा सामान राख्न पाउने भएपछि बुकिङ खुला गर्न व्यवसायी तयार भएका थिए । सवारी साधनमा सामानबाहेक यात्रु र खसीबोका छतमा राखेको भेटेमा कडा कारबाही गर्ने प्रहरीले व्यवसायीलाई अग्रिम सूचना दिएको छ । 

यता यातायात व्यवस्था विभागले तोकिएको भाडादरभन्दा बढी नतिर्न सर्वसाधारणलाई आग्रह गरेको छ । टिकटमा कालोबजारी नियन्त्रण गर्न विभागले ३६ जनाको अनुगमन टोली विभिन्न स्थानमा खटाएको छ । यातायात व्यवसायीले दसैंको मौका पारेर यात्रुबाट मनपरी भाडा असुल्ने प्रवृत्तिको नियन्त्रणका लागि यातायात व्यवस्था विभागले अनुगमन टोली नै खटाएको विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । 

उता उपत्यकाबाहिरका पोखरा, अर्घाखाँची, पाल्पा, गुल्मी, नेपालगन्ज, महेन्द्रनगर, धनगढी, झापा, मोरङ, धरान, इटहरी लगायतका स्थानमा लाग्ने गाडीको काउन्टरमा अत्यधिक भीड भएको विभागले जनाएको छ । 

यता ट्राफिक प्रहरी महाशाखाले यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल्ने, यात्रुसँग दलाली गर्ने सवारी साधन तथा टिकट काउन्टरको निगरानी अगाडि बढाएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए । उनले भने, ‘हामीले दुई दिनदेखि ट्राफिक प्रहरीले तोकिएभन्दा बढी भाडा लिने २१ सवारी साधनलाई नियन्त्रणमा लिएका छौं । यात्रु ठगीलाई नियन्त्रणका लागि सादापोसाकमा प्रहरी परिचालन गरिएको छ ।’

दसैं मनाउन उपत्यकाबाट करिब २५ लाख मानिस बाहिरिने प्रहरीको अनुमान छ । व्यवसायीले मंगलबार मात्र करिब १२ लाख टिकट बिक्री भएको जनाएका छन् । यातायात व्यवसायीले यो वर्ष नयाँ सवारी साधन नथपी पुरानै सवारी साधन मर्मत गरी चलाउने जानकारी दिएका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं