Date:2017/09/23 |Saturday

लोप हुँदै ढुंगेधारा

Posted on: September 14, 2017 | views: 123 | बिनु लुइँटेल

काठमाडौं । पुराना र ऐतिहासिक महŒवका ढुंगेधारा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर गरी तीनवटै नगरका ढुंगेधाराको अवस्था नाजुक बन्दै गएको छ । 

अधिकांश पुराना ढुंगेधारा सुकिसकेका छन् भने केही लोप भइसकेका छन् । कतिपय जीर्ण अवस्थामा भेटिन्छन् । भएका ढुंगेधारामध्येमा पनि प्राकृतिकरूपमा पानी आउने धारा निकै कम भेटिन्छन् ।

मल्लकालदेखि भक्तपुरमा ८८ वटा ढुंगेधारा प्रख्यात थिए । त्यसैगरी ललितपुर नगरपालिकामा ६१ वटा र काठमाडौं महानगरपालिकामा १६५ वटा ढुंगेधारा थिए ।

एक तथ्यांकअनुसार भक्तपुरमा भएका ८८ वटा ढुंगेधारामध्ये तीनवटा पूर्णरूपमा लोप भइसकेका छन् भने १२ वटा जीर्ण अवस्थामा छन् । हाल भक्तपुर नगरपालिकाभित्र ८५ वटा ढुंगेधारा देखिन्छन् । 

मल्लकालीन समयमा भक्तपुरका ८८ वटै धाराबाट पानी आउने भए पनि अहिले मुस्किलले आठवटा धाराबाट पानी आउने गरेको भक्तपुर नगरपालिकाका सम्पदा विभागका प्रमुख इन्जिनियर सूर्य खरबुजा बताउँछन् । उनी भन्छन्, ‘पानी आउने धारा हाल आठवटामात्र छन्, अन्य सबै धारामा पानी सुकिसकेको छ ।’ सोह्रवटा ढुंगेधारामा पाइपलाइनमार्फत पानी आउने व्यवस्था मिलाइएको उनी बताउँछन् ।

हाल भीमसेन ढुंगेधारा, वाचोहिटी, गाँहिटी, तलेजुहिटी, धवाहिटी, फङ्गहिटी, हाकुफोहिती, दाफापाटीलगायतका धारामा प्राकृतिकरूपमा पानी आउने गर्दछ । भक्तपुर नगरपालिकाका अनुसार बाँकी ढुंगेधारा बेवास्ता र संरक्षणको अभावमा सुक्दै तथा लोप हुँदै गइरहेका छन् ।

भक्तपुर नगरपालिकामा मात्र नभएर संरक्षणको अभावमा ललितपुरका पनि धेरै ढुंगेधारा हराउँदै गएका छन् । ललितपुर महानगरपालिमा ६१ वटा ढुंगेधारामध्ये प्राकृतिकरूपमै पानी आउने धारा ४७ वटा छन् भने पाँचवटामा पाइपमार्फत पानीको व्यवस्था मिलाइएको छ । नगर क्षेत्रमा जीर्ण भइसकेका ढुंगेधाराको संख्या सात रहेको छ । सातवटा ढुंगेधारा लोप भइसकेको ललितपुर महानगरपालिकाको भनाइ छ । लोप भएका ढुंगेधारामा गां हिटी, नकवहिल हिटी, पलाछें हिटी लगायतका छन् ।

ललितपुर, भक्तपुरमा मात्र नभएर काठमाडौं महानगरपालिकामा पनि ढुंगेधाराको अवस्था उस्तै देखिन्छ । महानगरपालिका कार्यालयको छेउमै रहेको ऐतिहासिक ढुंगेधारा ‘सुन्धारा’ पनि अहिले नाममा मात्र सीमित छ । त्यहाँ न धारामा पानी आउँछ न संरक्षणमै चासो छ ।

काठमाडौं महानगरपालिकाको सम्पदा विभागकी प्रमुख सिर्जु प्रधान भन्छिन्, ‘काठमाडौं महानगरपालिकामा भएका सबैजसो ढुंगेधाराको अवस्था नाजुक छ ।’ संरक्षण नगर्ने र बेवास्ता गर्दै जाने हो भने अबको केही वर्षमा ढुंगेधारा तस्वीरमा मात्र देखिने उनको भनाइ छ ।

काठमाडौंभित्र रहेका १६५ वटा धारामा हाल ३३ वटा धारा लोप भइसकेका छन् । भएका केही धारामध्ये प्राकृतिक अवस्थामा पानी आउने धारा ९६ वटा छन् भने पाइपबाट सञ्चालित दुईवटा ढुंगेधारा छन् । त्यस्तै हाल काम नलाग्ने अवस्थामा ३४ वटा धारा रहेको महानगरपालिकाको भनाइ छ ।

कतिपय ढुंगेधारा व्यक्तिको अतिक्रमणमा परेर हराउँदै गएको र त्यसको जानकारी भए पनि महानगर मौन रहेको प्रधानले जानकारी दिएकी छिन् । उनी भन्छिन्, ‘यसवर्ष महानगरले ढुंगेधाराको संरक्षणको लागि ४० लाख रुपैयाँ छुट्याएको भए पनि कसरी काम गर्ने भन्ने अन्योल छ ।’


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं