Date:2017/10/20 |Friday

न्यायालयमा न्याय हरायो : डा केसी

Posted on: October 11, 2017 | views: 29 |

काठमाडौँ । प्रा डा गोविन्द केसीले न्यायपालिकामा न्याय हराएको बताएका छन् ।
सात दिनदेखि चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रमा सुधारको माग राखी शिक्षण अस्पताल, महाराजगञ्जमा १३औँ पटकको आमरण अनशन बसिरहनुभएका केसीले रासससँग कुरा गर्दै न्यायपालिकाको मर्यादाका लागि नागरिकको हैसियतबाट आन्दोलन गर्ने बताए ।

उनले भने, “न्यायपालिका न्यायविहीन भएको छ, जनताको सेवक हुुनुपर्ने न्यायपालिकाका न्यायकर्ताले हाकिम बनेर शासन गर्न हो भने न्याय खोज्न जनता कहाँ जाने ? यसको विरुद्धमा लड्नु सबै नेपालीको कर्तव्य हो ।”
प्रा डा केसीले आफूले सदैव चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सबै नेपालीका लागि सहज हुनुपर्छ भनेर चिकित्सकका हैसियतमा लडाइँ लडिरहेको बताउँदै अब न्यायपालिकाका गलत फैसलाविरुद्ध लडाइँ लड्ने स्पष्ट पारे ।
उनले भ्रष्टाचार मुद्दा लागेका आयल निगमका महानिर्देशक गोपाल खड्कालाई न्यायालयले उन्मुक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले सरकारका सबै अंगलाई सम्मान गर्ने भन्दै त्यसलाई सञ्चालन गर्ने राजनीतिक व्यक्ति र राजनीतिक दलले खराब बनाएको आरोप लगाए ।
डा केसीले संशोधनसहित तत्काल चिकित्सा शिक्षा विधेयक कात्तिक ४ गते संसद्को कार्यकालअघि नै पारित गर्न अनुरोध गरे ।
डा केसीले अनसनको छैटौँ दिनसम्म सरकारका तर्फबाट कुनै किसिमको प्रतिक्रिया नआएको पनि जानकारी दिए ।रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं