Date:2017/10/20 |Friday

मगन्ते जीवनबाटै बेसहाराको सहारा

Posted on: October 11, 2017 | views: 30 | रमा लुइँटेल

काठमाडौं । रित्तो थाल थाप्दै बटुवासँग रकम माग्ने अपांगता भएका तिलबहादुर कार्की अहिले बेसहारा बालबालिकाको सहारा भएका छन् । झण्डै २५ वर्ष मागेर संकलन गरेको रुपैयाँबाट उनले अपागंता र बेसहारा बालबालिकाको शिक्षा, पालन पोषणको काम सुरु गरेका हुन् । दुवै गोडा बांगिएका उनी राम्ररी हिँड्न सक्दैनन् । २०६४ सालमा ‘संयुक्त अपांग एकता आवाज केन्द्र’ नामक संस्था खोलेर उनले बालबालिकालाई संरक्षण दिदैं आएका छन् । 

पशुपतिनाथ मन्दिर परिसरमा बसेर माग्न थालेपछि तिलबहादुरमा अपांगता भएका र बेसहारा बालबालिकाका लागि काम गर्ने इच्छा पलाएको रहेछ । उनले भने, ‘मागेको पैसालाई जतन गर्न थालेँ, सुरक्षाका लागि जय बागेश्वरीको जंगलमा खाल्डो खनेर पैसा गाडेँ ।’ गाडेको रुपैयाँ निकाल्न उनी गौशाला वडा प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षकलाई समेत लिएर गए । उनले भने, ‘नोट कुहिएको थियो, नोटको त नम्बरसमेत चिन्न सकिँदैन थियो, सिक्का भने जस्ताको त्यस्तै देखिन्थे, पाँच लाख जति भएको रहेछ ।’

केन्द्रको स्थापनासँगै खाल्डोबाट निकालेको रुपैयाँले बालबालिका सुत्ने खाट किनेर काम सुरु गरेको उनी सम्झन्छन् । गाडेको रुपैयाँ झिक्दा सँगै गएका तत्कालीन इन्स्पेक्टर जयराज सापकोटा ती दिन सम्झिँदै भन्छन्, ‘पैसा झिक्ने बेलामा म पनि गएको थिएँ, सिक्का राम्रै थियो, नोट सबै कुहिएका थिए ।’

पाँचथरमा जन्मिएका तिलबहादुर अपांगता भएकै कारण घरपरिवार र समाजले गरेको दुव्र्यवहार सहन नसकेपछि २०३८ सालमा काठमाडौं हानिए । बसको डिकीमा बसेर काठमाडौं आउँदा उनी आठ वर्षका मात्रै थिए । काठमाडौं आएको एक वर्षजति उनले होटलमा जुठा भाडा माझे । चिसोका कारण हात गोडा दुख्न र झम्झमाउन थालेपछि तिलबहादुरले त्यसलाई निरन्तरता दिन सकनेनन् । पेट पाल्नका लागि उनी बाध्य भए सडकमा बटुको थाप्न ।  

अहिले गोकर्णस्थित ६ रोपनी जग्गा भाडामा लिएर बनाएको टहरामा उनले बालबालिका बस्ने व्यवस्था मिलाएका छन् । योभन्दा अघि उनले शान्तिनगर र कपनमा बालबालिकालाई राखेका थिए । दयालु मन भएकाहरूको साथ र सहयोगले बालबालिका भोकै हुन नपरेको उनी बताउँछन् । खाद्यान्नका लागि व्यापारी, शुभचिन्तकको ढोका ढक्ढक्याउने गरेका छन् । उनले भने, ‘एक मुठ्ठी चामल छुट्याउन झोला नै राखिदिएको छु घर घरमा ।’ आफ्नै जीवनमा आधारित  ‘डकुमेन्ट्री सो’ बाट संकलित भएको रकमले पनि उनलाई टेवा दियो । त्यतिमात्र होइन, जन्मदिनको अवसरमा खाना खुवाउने र नगद सहयोग गर्ने दातासमेत हुन्छन् । त्यस्तै सहयोगीमध्येका एक थिए– बालुवाटार बस्ने खगेन्द्र गौतम । जसले ८४ वर्ष पुगेको अवसरमा पाँच लाख रुपैयाँ ती बालबालिकालाई सहयोग गरे ।

यी त भए खानपानको व्यवस्थापन । तिलबहादुर आफूले पढ्न नपाए पनि अपागंता र सहारा नभएका बालबालिका शिक्षित भएको देख्न चाहन्छन् । उनको संरक्षणमा रहेका ४० बालबालिकामध्ये १७ जना गोकर्ण माविमा पढ्छन् । २१ जना भिमदेवी प्राविमा अध्ययन गरिरहेका छन् । अन्य दुई भने १२ कक्षामा अध्ययनरत छन् । भिमदेवी प्राविले कपडा, किताबसहित निशुल्क पढाउँदै आएको छ । विद्यालयका प्रधानाध्यापक बालकृष्ण भण्डारीले भने, ‘समस्याले पढ्न नसक्नेलाई हामी निःशुल्क पढाउँछौ ।’

केन्द्रमा अहिले कालिकोट, दैलेख, बर्दिया, मुगु, ताप्लेजुङ र तेह्रथुम लगायत जिल्लाका ४० बालबालिका छन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं