Date:2017/10/20 |Friday

हत्यारा पत्ता नलगाएसम्म आन्दोलन जारी राख्ने,शव बुझ्ने

Posted on: October 11, 2017 | views: 29 |

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता नलगाएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । 

महासंघले आज बिजुलीबजारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सोमबार दिउँसो नयाँ बानेश्वरमा अज्ञात समूहको गोली लागेर निधन भएका अध्यक्ष गौचनको हत्यारालाई चाँडो खोजी गर्न सरकारसमक्ष माग गरेको हो । 

सम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष विष्णुभाई श्रेष्ठले अध्यक्षको निधनले देशभरको निर्माण क्षेत्र शोकाकुल भएको भन्दै निर्माण व्यवसायलाई स्थगित गरेर आन्दोलनमा जानुपरेको बताए । “घटना भएको ४८ घण्टासम्म पनि दोषी पत्ता नलाग्नु मुलुकको गृह क्षेत्रको कमजोरी हो”– कावा अध्यक्ष श्रेष्ठले भने । 

उनले अहिलेसम्म महासंघले सांकेतिकरुपमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको बताउँदै घटनाका दोषीलाई कारबाही नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने बताए । 

आन्दोलन मूल संघर्ष समितिका संयोजक एवं महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हीराचनले गौचन हत्याकाण्डमा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने साथै अन्य व्यवसायीको सुरक्षाको मागसमेत गरे । 

महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले अध्यक्षको हत्याले सिंगो देशको अर्थतन्त्रको हत्या भएको भन्दै हत्यारालाई चाँडो खोजी गर्न सरकारलाई आग्रह गरे । 

थकाली सेवा समाजका अध्यक्ष कृष्णकुमारी शेरचनले महासंघको निर्णयअनुसार समाजले मृतक गौचनको शव बुझ्ने बताए । अध्यक्ष शेरचनले मृतक गौचनको थकाली परम्पराअनुसार अन्येष्टि गरिने बताए । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं