22nd June | 2018 | Friday | 11:03:24 AM

अध्यक्ष गौचनको शव आज परिवारले बुझ्ने तर चक्काजाम गर्ने

  POSTED ON : Thursday, 12 October, 2017 (10:56:04 AM)

अध्यक्ष गौचनको शव आज परिवारले बुझ्ने तर चक्काजाम गर्ने

काठमाडौँ । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव आज परिवारले बुझ्ने भएको छ ।
सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन हुनुभएका गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले बुझ्न मानेका थिएनन् ।
गौचनका काका ओमकार गौचनका अनुसार महासंघ र गृहमन्त्रीको बुधबार भएको भेटमा गौचनलाई शहिद घोषणा गर्न गृहमन्त्री सकारात्मक देखिएको र आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव लैजाने आश्वासन दिएपछि शव बुझ्न लागिएको बताए । यस्तै, गृहमन्त्रीले व्यवसायीको सुरक्षा दिने समेत प्रतिबद्धता जनाएका थिए ।

महासंघका एसोशियट सदस्य शिवहरि घिमिरेले मृतक गौचनको शवलाई श्रद्धाञ्जलिका लागि आज बिहान ९ बजेदेखि १२ बजेसम्म महासंघको कार्यालय बिजुलीबजारमा राखिने बताए । “महासंघमा श्रद्धाञ्जलिका लागि राखिएपछि थकाली सेवा समाज बालाजुमा पनि श्रद्धाञ्जलिका लागि राखिनेछ”– सदस्य घिमिरेले भने ।
अध्यक्ष गौचनको हत्याको विरोधमा आज एक घण्टा काठमाडौँका विभिन्न ठाउँमा चक्काजाम तथा भोलि मुख्य राजमार्गमा चक्काजाम गरिने महासंघले जनाएको छ । रासस