Date:2017/12/14 |Thursday

संरचना पुनर्निर्माणको काम सुस्त

Posted on: October 12, 2017 | views: 178 | बिनु लुइँटेल

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रैका कतिपय संरचनाहरूको काम सुरु गरेको लामो समय भइसक्दा पनि नतिजा शून्य देखिँदै आएको छ ।

उपत्यकाभित्रै निर्माणको पर्खाइमा रहेका रानीपोखरी, काष्ठमण्डप, रत्नपार्कको भ्यु टावरको काम पनि कछुवा गतिमा अगाडि बढेको देखिन्छ । करिब २८ महिनाअगाडि गएको भूकम्पले क्षतविक्षत बनाएको ऐतिहासिक र धार्मिक स्थल रानीपोखरी, काष्ठमण्डप लगायतका स्थानको पुनर्निर्माणको काम विभिन्न बहानामा सुस्त भएको हो ।

निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले फितलो कानुन र ठेकेदार कम्पनीको चरम लापरबाही तथा मनपरी प्रवृत्तिले गर्दा भौतिक संरचना निर्माणको काममा ढिलासुस्ती हुँदै आएको बताएको छ । तीन वर्षभित्रमा सम्पन्न गरिसक्ने योजना रहेको रत्नपार्कको भ्यु टावर निर्माणको काम १० प्रतिशत पनि नसकिएको महानगरको भनाइ छ ।  

सामान खरिद प्रणाली कमजोर हुनु, ठेकेदारको बेवास्ता, फितलो कानुन, निगरानीको कमी जस्ता कारणले महŒवपूर्ण संरचना पुनर्निर्माणको कामले गति लिन सकेको देखिँदैन । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की भन्छन्, ‘अहिलेको अवस्थामा सरकारभन्दा जनता बढी जान्ने भए, त्यसैले कामको गतिलाई अगाडि बढाउन गाह्रो भएको छ ।’ गल्ती पनि सही र सही पनि गल्ती नै देख्ने प्रवृत्ति हावी रहुन्जेलसम्म कुनैपनि निर्माणको काम समयमै नसकिने उनको भनाइ छ । निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरूले सरकारी निकायले बनाएको योजना, ढाँचा र समयभन्दा पनि आफ्नै खुशीले कामलाई अगाडि बढाउने गरेको कार्कीले बताए । सरकारले हरेक संरचना निर्माणको समय अवधि तोकेर ठेकेदारहरूसँग प्रस्ट सहमति गर्ने र तोकिएको समयमा काम नसक्ने र बेवास्ता गर्ने कम्पनीलाई कारबाही गर्ने नियम लागू गर्नुपर्ने कार्कीको भनाइ छ । अहिलेकै तरिकाले काम अगाडि बढ्ने हो भने एउटा संरचना निर्माण गर्न १० वर्षभन्दा बढी लाग्न सक्ने कार्कीको अनुमान छ ।

डेढ वर्षअगाडि सुरु भएको काठमाडौं भ्यु टावरको काम जमिन सम्याउने र खन्नेभन्दा अगाडि बढ्न सकेको छैन । काम निकै सुस्त गतिमा भए पनि ठेकेदार कम्पनी भने सरोकारवाला निकायको सम्पर्कमै आउन नचाहेको महानगरले जनाएको छ । महानगरका अनुसार काममा बेवास्ता गर्ने र तोकिएको समयमै काम नसक्ने कम्पनीलाई कस्तो सजाय दिने भन्ने प्रस्ट नियम छैन । 

संरचना निर्माणमा भ्यु टावरमात्र नभएर ऐतिहासिक र सांस्कृतिक महŒव बोकेको रानीपोखरी पुनर्निर्माणको काम पनि अन्योलमा देखिन्छ । दुई वर्षअगाडि निर्माण प्रक्रिया सुरु भएको रानीपोखरीको पुनर्निर्माण कहिलेसम्ममा हुने हो भन्ने प्रस्ट हुन सकेको छैन ।

केही समय पुरातŒव विभाग र काठमाडौं महानगरपालिकाको विवादका कारण रानीपोखरी पुनर्निर्माणको काम रोकिएको थियो । तर हाल पुरातŒव विभागले जिम्मा लिएको निर्माणको काम अगाडि बढ्न भने सकेको छैन । यसभन्दा अगाडि ठेक्काको जिम्मा लिएको ठेकेदार कम्पनीलाई हटाई नयाँ कम्पनीलाई काम सुम्पनुपर्ने भएका कारण पनि काम रोकिएको पुरातŒव विभागको भनाइ छ ।

रानीपोखरीभित्र पानी कहाँबाट कसरी ल्याउने, कति मिटरसम्म गहिरो बनाउने, कस्तो ढाँचामा बनाउने भन्ने अझै अन्योल नै रहेको पुरातŒव विभागका प्रवक्ता भेषनारायण दाहालको भनाइ छ । देख्दै सुन्दर र मनमोहक अवस्थामा रहेको रानीपोखरीको अवस्था अहिले मैदानमा परिणत हुँदा पनि त्यसको निर्माणमा सकारात्मक पहल गर्न नसकिएको दाहाल बताउँछन् ।

पोखरीवरिपरि पर्खाल लगाउने, रङरोगन गर्ने काम भए पनि पोखरीभित्र रहेको बालगोपालेश्वर मन्दिरको निर्माणको काम सुरु गर्न नसकेको विभागले जानकारी दिएको छ । विभागका अनुसार पहिलेको आकृतिमा मन्दिरलाई बनाउन सक्ने दक्ष मान्छेको पनि अभाव देखिन्छ ।

अर्को ऐतिहासिक र सांस्कृतिक महŒवको धरोहर काष्ठमण्डपको पुनर्निर्माण काठमाडौं महानगरपालिकाले २ वर्षपछि गर्ने भएको छ । पुरानो काष्ठमण्डपको शैलीमा निर्माण गर्न सक्ने जनशक्ति बाहिरबाट ल्याएसँगै काम सुरु हुने महानगरका प्रवक्ता कार्कीको भनाइ छ । १९ करोड लगानीमा निर्माण गर्न लागिएको काष्ठमण्डप २ वर्षभित्रमा सक्ने योजना रहेको महानगरको भनाइ छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं