Date:2017/11/23 |Thursday

अधिनायकवादको स्याल हुइयाँ

Posted on: November 09, 2017 | views: 87 | माधव घिमिरे ‘अटल’

संसारका कुनै मुलुकमा निर्वाचनबाट साम्यवादी सत्ता स्थापना भएको दृष्टान्त छैन । यस्ता तिकडमबाजीले भोट कुम्ल्याउन खोज्दा ‘खास्टो खोज्दा बर्को गुमाउने’ खतरा मोल्नुपर्छ भन्ने चेतना जति छिटो कांग्रेसमा आउँछ त्यति नै छिटो स्वच्छ चुनावी प्रतिस्पर्धा र एजेन्डासहितको चुनावी होड सुरु हुनेछ । 

 यतिबेला नेपालमा चियापसलदेखि सुराभट्टीसम्म चुनावको चर्चा हृवात्तै चुलिएको छ । चुनावमा आफूलाई अब्बल सावित गर्न अनेकन हतकण्डा अपनाइएका छन् । कति दृश्य छन् त कति अदृश्य पनि । 

नाङगो यथार्थ 

कतिपय चुनावको सेरोफेरोमा गरिएका हर्कतहरू कुरीकुरी लाग्दा छन् । सबैजसो दलमा देखिएको आफन्तमोह जति घिनलाग्दो र लज्जाहीन छ त्यति नै निर्लज्ज लाग्छ धनवाद र डनवादलाई मारेको धाप । आयाराम गयारामहरूलाई सर्लक्क काखी च्यापेको देख्दा जति आँखा बिझाउँछ, त्यति नै नरमाइलो लाग्छ सिंगो जीवन पार्टी, देश र जनताका लागि  बलिदान गर्न तम्सेकाहरूलाई किनारीकृत गरेकोमा । आधा आकाश धानेका महिलाहरूलाई कम आँकेर जसरी चीरहरण गर्ने दुस्कर्म भएको छ र सीमान्तकृतहरूको जसरी हुर्मत लिइएको छ, दलीय प्रत्याशी छान्ने दर्मियानमा यस्ता भद्दा ठट्टाहरूको जति आलोचना गरे पनि कम हुन्छ । 

स्थानीय निर्वाचनदेखि प्रदेश र संघीय निर्वाचनसम्म आइपुग्दा अब राजनीति तस्कर, भ्रष्टाचारी, व्यापारी, ठेकेदार र डनहरूको पेवा बनिसकेको सिद्ध भएकोे छ । राजनीतिक मूल्य, मान्यता र उत्सर्गमा अनपेक्षित स्खलन अनुभूत गरिएको छ । अर्को पार्टीको मान्छेलाई आफ्नोमा रातो गलैंचा बिछ्याउँदै टिकट दिने र त्यागी नेता, कार्यकर्तालाई पाखा लगाउने कार्यले आगामी दिनमा राजनीतिमा थप भ्रष्टीकरण हुने निश्चितप्रायः छ । 

फरक फरक लेन्सबाट नजर लगाइयो भने बीसको उन्नाईस त भेटिएला परन्तु एउटै तुलोमा राखेर दलहरूलाई तौलिने हो भने आधारभूत भिन्नता पाउन कठिन छ । निर्वाचनमा लड्दै गरेका प्रत्याशीहरूको खर्च र त्यो खर्च जुटाउन प्रयोग गरिने सम्भावित स्रोततिर आँखा लगाउने हो भने अब तस्कर र विधायकबीचको भिन्नता छुट्याउन सर्वसाधारण मतदातालाई हम्मे पर्ने निश्चित छ । अब कुनै पनि कार्यकर्ता त्यागका टाकुरा चढ्न रुचाउने छैन, बरु तस्करका भरिया बन्न राजी हुनेछ । अरू त अरू आफूलाई राजनीतिको फोहोर सोहोर्ने मुख्य अभियन्ता र मसिहा ठान्नेहरू नै फोहोरमा चुर्लुम्म भएपछि मतदातालाई मतदान गर्न किञ्चित सकस पर्ने सुनिश्चित छ । 

अधिनायकवादको स्याल हुइयाँ

‘कांग्रेसलाई जरैदेखि उखेलेर फ्याँक्नु आवश्यक छ’ भन्ने कथनको आवाज नबिलाउँदै बाबुरामको बैसाखी टेकेर चुनावी वैतरणी तर्ने सपना देखेको देउवाको सपना दिवास्वप्न बन्नेमा त सन्देह रहेन नै, अझ वाम गठबन्धनबाट आफू पूर्णतः बढारिने भयले भयाक्रान्त छ, नेपाली कांग्रेस र उसले सर्वसाधारण मतदाता माझ रोइलो गर्ने गरेको छ, लोकतन्त्र खतरामा पर्ने त्रास देखाएर । उसको यतिबेलाको हर्कत हेर्दा जोकोहीले एउटा प्रचलित लोककथा स्मरण गर्छ नै । 

कथा यस्तो छ– कुनैबेला घना जंगलमा एउटा छट्टु स्याल बस्दोरहेछ । जंगलका पशुपन्छीको सिकारले भोक मेटाउन्जेल त ऊ गाउँतिर नपसेको रहेछ । जब उसले पर्याप्त भोजन जंगलमा भेटेन तब गाउँ पस्ने निधो गरेछ । बस्तीका मान्छेले देख्नासाथ लखेट्ने छनक मिलेपछि धूर्त स्यालले कुखुरा चोर्नु चानचुने काम होइन रहेछ भन्ने मनन गरेछ तर भोको पेटको अग्नि शमन त गर्नैप¥यो । तसर्थ उसले एउटा गज्जबको उपाय रचेछ जसका कारण सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने । त्यसैलाई अवलम्बन गर्दै हरेक दिन बस्तीमा गएर ‘चिल आयो ! सब कुखुराका चल्ला खत्तम पार्ने भो, चनाखो हुनू’ भन्दै कराउने गर्दो रहेछ । ठीक त्यसैबेला कुखुराका मालिक आकाशतिर हेर्दा रहेछन् । यसैको मौका छोपी स्यालले चल्ला चोर्दोरहेछ र आफ्नो गुजारा गर्दो रहेछ । एक दिन जब उसको झुटको पर्दा च्यातियो तब बस्तीका कुनै पनि व्यक्तिले उसको धूत्र्याइँलाई विश्वास गरेन । ऊ गाउँबाट लखेटियो र भोकभोकै म¥यो ।

यही कथा चरितार्थ गर्दैछ कांग्रेस यतिबेला पनि, जतिबेला जनचेतना धेरै माथि उठिसकेको छ । २०४८ सालमा चुनावमा जानेबेला कांग्रेस एजेन्डाविहीन थियो र उसले कम्युनिष्ट सरकारमा आए भने त ६० वर्ष पुगेकालाई गोली ठोकेर मार्छन् भन्ने हौवा फिजायो । हो न हो, यो त सत्य पो होला भन्ने ठानेर जनताले भोट कांग्रेसलाई दिए र उसले भ्रष्टाचार, दमन र हरेक क्षेत्र र अड्डामा कांग्रेसीकरणको उपहार दियो । औषधिको गोली नपाएर दूरदराजमा ज्यान जानेको संख्या ज्यास्ती बढ्यो । हो, उसले गोली (औषधिको पुरिया) दिएन, किनकी कम्युनिष्टले मात्र दिन्छन् भनेकै त थियो । कहिले शिशु प्रजातन्त्रको दुहाइ दिएर उसले भोट आफ्नो पोल्टामा पा¥यो र आफ्नै पार्टी विभाजन ग¥यो, छत्तिसे र चौहत्तरे बन्यो । 

यसरी निर्वाचनका बेला ऊसँग विकास, समृद्धि, सम्पन्नता, समानता, सामाजिक न्याय, विभेदरहित समाज निर्माण, बेथिति अन्त्य, उज्यालो नेपाल, सामाजिक सुरक्षाजस्ता जनजीविकासँग जोडिएका प्रश्न कहिल्यै एजेन्डा बनेनन् । बरु बने त साम्यवादको हाउगुजी, अधिनायकवादको भय, रुन पनि पाइन्न भन्ने त्रास, अतिवादी एकदलीय कम्युनिष्ट बर्चस्वको सन्त्रास आदि इत्यादि । उसले घोषणापत्रमै समावेश ग¥यो– राष्ट्रिय राजनीतिमा पुनः उठ्न थालेको अतिवादी एक दलीय कम्युनिष्ट बर्चस्वको शासनको सोच र प्रवृत्ति राष्ट्र र लोकतन्त्रका निम्ति जोखिमपूर्ण छ । 

अझ उत्तेजित बन्दै भोटको भीख माग्यो मतदाताबाट ‘देशलाई अतिवादी राजनीतिक सोच र व्यवहारतर्फ धकेल्ने वा पारस्परिक सहमति, सहिष्णुता र सहकार्यको लोकतान्त्रिक र सुरक्षित बाटोतर्फ उन्मुख गराउने ?’ भन्दै । 

यी र यस्ता हावादारी हल्लाले एक्काइसौं शताब्दीका मतदाताको मत पोल्टामा पार्न किमार्थ सकिन्न भन्ने हेक्का अझै नआएको हो त (कथित) लोकतान्त्रिक दललाई ? 

हालसम्म संसारका कुनै मुलुकमा निर्वाचनबाट साम्यवादी सत्ता स्थापना भएको दृष्टान्त छैन । त्यसैले यस्ता तिकडमबाजीले भोट कुम्ल्याउन खोज्दा ‘खास्टो खोज्दा बर्को गुमाउने’ खतरा मोल्नुपर्छ भन्ने चेतना जति छिटो नेपाली कांग्रेसमा आउँछ त्यति नै छिटो स्वच्छ चुनावी प्रतिस्पर्धा र एजेन्डासहितको चुनावी होड सुरु हुनेछ । 

करिब तीन दशकको सत्तारोहण यात्रा हेर्ने हो भने थाहा लाग्छ दुई तिहाइभन्दा बढी समय सत्तामा कांग्रेस छ तर उसले भोटलाई जुन भ¥याङ चढेर गयो त्यही भ¥याङलाई लात्ती बनाएको छ । ऊ चन्द्रमाको उज्यालो निषेध गराएर जूनकीरीको उज्यालो बाँड्ने अभियानमा छ । जुन गोरुको जुरो नाइँ उसको ठूलो ताइँफाइँ झै भएको छ कांग्रेस । 

निचोड

जतिसुकै काँचुली फेरे पनि सर्प सर्पै हुन्छ, हुँदोरहेछ । लौ त भनूँ भने कांग्रेस अहिले अत्यन्तै हतास छ । न त उसले बनाउन चाहेको कथित लोकतान्त्रिक गठबन्धन दरिलो छ, न त जनसमक्ष लैजाने चुनावी एजेण्डा नै खँदिलो । पूर्वपञ्चहरू र प्रतिगमनका पुजारीहरूलाई अघिपछि लगाएर आरोहण गर्न लागेको चुनावी टाकुरो असफल हुने निश्चितप्रायः छ । यही हतासाको अभिव्यक्ति निस्किरहेछ कांग्रेसबाट यतिबेला, जसले आफ्नै गतिमा मूर्त एजेन्डासहित लम्किएको वाम गठबन्धनलाई तर्साउन त के रौं ठाडो पार्न पनि सक्ने छैन । कुकुर भुके हजार, हात्ती डुले बजार । बाम गठबन्धन लोकतान्त्रिक गठबन्धन (?) को कारणभन्दा आआफ्ना अविश्वास र अन्तर्घातका कारण पराजित हुने जोखिम भने टरिसकेको छैन । साम, दाम, दण्ड, भेद प्रयोग गरेर कांग्रेस चुनावमा खडा भए पनि त्यो पानीको फोका सावित हुनेछ । 

कांग्रेसको अहिलेका चुनावी एजेण्डा निम्न उल्लिखित चुट्किला बन्नेमा संशय छैन । 

केटा साथी : मसँग पीर्ति गाँस्यौ भने ठूलो घर किन्दिन्छु तिम्लाई, कार किन्दिन्छु र सुनै सुनले झकिझकाउ पार्दिन्छु ।

केटीसाथी : भरे पार्कमा त आउँछौं होला नि भेट्नलाई (फोनमा) ....... ? 

केटा साथी : अँ, आउँला साथीले बाइक दियो भने । 



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं