Date:2017/11/23 |Thursday

मंसिरदेखि सवारी चालकलाई निर्धारित पोसाक

Posted on: November 10, 2017 | views: 63 | बिनु लुइँटेल

काठमाडौं । मंसिरदेखि लागू हुनेगरी सार्वजनिक यातायातका चालक तथा सहचालकले अनिवार्य निर्धारित पोसाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागले संयुक्तरूपमा सार्वजनिक यातायातका चालक तथा सहचालकका लागि ‘ड्रेस कोड’ लागू गर्ने भएका हुन् ।

केही महिनाअगाडि नै यो कामको सुरुवात गरिने भनिए पनि विभिन्न विवादका कारण लागू हुन सकिरहेको थिएन । बिहीबार भएको पहिलो चरणको छलफलमा ४० वटा यातायात समितिले सहमति जनाएपछि यो काम अगाडि बढाउन लागिएको ट्राफिक प्रहरी महाशाखाको भनाइ छ । व्यवसायीहरूकै खर्चमा यो नियम लागू हुने भएकाले व्यवसायीहरूसँग सहमति गरेरमात्र कार्यान्वयन गर्ने महाशाखाले जानकारी दिएको छ । 

चालक तथा सहचालकलाई आफ्नो पेसाप्रति गर्व महसुस गराउन र सचेत बनाउन पोसाकले धेरै भूमिका खेल्ने आशा महाशाखाले गरेको छ ।  कुनै पनि मानिसलाई आफ्नो छुट्टै पहिचान भल्काउनको लागि पोसाकले महŒवपूर्ण भूमिका खेल्ने भएकोले पनि यसको सुरुवात गर्न लागिएको महाशाखाका प्रवक्ता उमेश रन्जितकारले जानकारी दिए  । रन्जितकार भन्छन्, ‘अन्य देशमा सवारी चालकलाई अनिवार्य पोसाकको व्यवस्था गरिएको हुन्छ, जसले गर्दा उनीहरूको पहिचान सजिलै अरूले पनि जानकारी पाइरहेका हुन्छन् ।’

साझा यातायात लगायतका केही सवारी साधनमा चालक तथा सहचालकको पहिचान झल्काउने पोसाक अहिले पनि प्रयोग हुँदै आएको छ । सार्वजनिक यातायातमात्र नभएर उपत्यकाका स्कुल÷कलेजका सवारी साधनका चालक सहचालकलाई छुट्टै खालको पोसाकको व्यवस्था गर्न महाशाखाले अनुरोध गरेको छ । यसका लागि सम्बन्धित निजी विद्यालयहरूको संगठन ‘प्याब्सन’ सँग कुरा भइसकेको र यसमा उनीहरू पनि सकारात्मक देखिएको महाशाखाले जनाएको छ ।

विद्यालय तथा कलेजहरूले पनि मंसिरको पहिलो साताबाट पोसाकको व्यवस्था गर्न सहमति जनाएको  महाशाखाको भनाइ छ । त्यस्तै ट्याक्सी चालकहरूलाई पनि यो नियम लागू हुनेछ । चालक, सहचालकलाई पोसाकको व्यवस्था भएसँगै सार्वजनिक यातायातको पनि छुट्टै पहिचान बन्ने यातायात व्यवस्था विभागको भनाइ छ । कुनै नीति तथा नियमको व्यवस्था नगरी नै व्यवसायीहरूसँगको छलफल र सहकार्यबाट यो नियम लागू गर्न लागेको विभागले जानकारी दिएको छ ।

नियम पालना नगर्नेलाई कारबाही, सजाय केही नतोकिएको भए पनि सम्झाउने÷बुझाउने र चेतना वृद्धि गर्न पहल गर्ने काम भने महाशाखाले गर्ने बताएको छ । कस्तोखालको पोसाक दिने भन्ने कुरा पनि छिट्टै जानकारी दिन लागिएको प्रवक्ता रन्जितकार बताउँछन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं