Date:2017/11/23 |Thursday

जीवित शहर बनाउने रहर

Posted on: November 11, 2017 | views: 112 | रमा लुइँटेल

काठमाडौंका सडकमा पैदल हिँड्दा होस् वा सवारी साधनमा बसेर गुड्दा पूर्वाधारविज्ञ तुलसी सिटौला सडकको अवस्था देखेर दिक्क हुन्छन् । हिउँद होस् कि बर्खा घाम लाग्दा धुलै धुलो, पानी पर्दा हिलै हिलो । खाल्टाखुल्टीको त कुरै नगरौं, भनी साध्य छैन । यस्तो दिक्दारी उनको मात्रै होइन, काठमाडौंका बासिन्दा, आन्तरिक र बाहृय पर्यटक अनि कामले छोटो समयका लागि आउने सबैको हो । सबैले भोग्ने हविगत धुवाँ, धुलो, हिलो सवारी जाम । 

आखिर काठमाडौंका सडकको अवस्था किन सुधार हुँदैन त ¤ पूर्वाधारविज्ञ सिटौलाले उनले मुख्य दुई ठाउँको असहयोग देखेका छन् । पहिलो– जनताको असहयोग अनि दोस्रो– अदालतको । अदालतमा अहिले एक सयको हाराहारीमा मुद्दा परेका छन् । कुनै व्यक्ति गएर मुआब्जाको माग गर्नेबित्तिकै अदालतले काम रोक्न आदेश दिने गरेको छ । यही आदेशका कारण काम रोकिन्छ, रात रहेपछि अग्राख पलाउँछ । सडकको अवस्था दयनीय नै रहिरहन्छ । 

पछिल्ला केही वर्षमा राजधानीमा सडक विस्तार र स्तरोन्नतिले थोरै गति लिन खोजेको थियो । दुईतिरको असहयोगले काममा असर परेको सिटौलाको निष्कर्ष छ । भन्छन्, ‘जनता जानेबित्तिकै अदालतले काम रोक भनेर आदेश दिएको छ, अदालतको यस्तो आदेश विकासमैत्री भएन ।’ 

त्यसो भए व्यक्तिको याचना सुनुवाइ नगरी मिचेर सडक फराकिलो बनाउने ? त्यसो होइन । आवश्यक परेरै सरकारले सडक विस्तार गर्न खोजेको हो । व्यक्तिले मुआब्जा पाउनुपर्छ, अदालतले काम रोक्न होइन, अविलम्ब उचित मुआब्जा दिन आदेश गर्नुपर्छ । 

काम रोकेर मुआब्जा पहिला देऊ भन्ने आदेशको शिकार कलंकी–नागढुंगा सडक खण्ड भएको छ । उक्त सडकखण्डको विस्तार र स्तरोन्नतिको काम ६० प्रतिशत भइसकेको छ । धेरै काम सकिएर पनि पूर्णरूपमा सम्पन्न हुन नसकेको यो सडक खण्ड यतिबेला विरक्तलाग्दो छ । भत्किएर कच्ची सडक जस्तो छ, घाममा धुलोको भूमरी, वर्षामा हिलो । अदालतकै आदेशका कारण बौद्ध–जोरपाटी सडकको स्तरोन्नति रोकिएको छ । जोरपाटीबाट साँखुसम्म विस्तार हुने भनिएको चार लेनको सडक उस्तै छ । यात्रु, सवारी चालक र स्थानीय बासिन्दा हैरान छन् । खुरुखुरु गर्न पाएको भए काम सकिएको हुन्थ्यो । 

अहिले त सिटौलालाई के कुरामा डर लाग्न थालेको छ भने, सडक चौडा बनाउन व्यक्तिले आफैँ भत्काएका घर र टहरा फेरि सडकतिरै ढेपिएर बन्ने त होइनन् ¤ 

काम गर्न आलटाल गर्ने, कुनै बहाना निकालेर ढिलो गर्न खोज्ने निर्माण व्यवसायी पनि उत्तिकै जिम्मेवार देखेका छन् सिटौलाले । 

ठूलो बस छैन 

काठमाडौं उपत्यकामा अहिले जसरी साना सवारी साधन भित्रिराखेका छन्, त्यसैगरी भित्रिइरहन दिइरहने हो भने केही वर्षभित्रै यहाँको ट्राफिक व्यस्थापन नियन्त्रणबाहिर जानेछ । सार्वजनिक यातायातमा साना सवारी साधन नियन्त्रण गर्दै ‘मास ट्रान्सपोटेसन’ का लागि ठूला बस भिœयाउनुपर्छ । शहरी यात्रुको चाप धान्न एकैपटक धेरै मानिस ओसार्ने ठूला सवारी साधनको विकल्प छैन । सडकमा थोरै सवारी साधन गुडाएर एकैपटक धेरै यात्रु बोक्ने सार्वजनिक यातायात भए मात्रै ट्राफिक व्यवस्थापन गर्न सकिनेछ । यसका लागि ठूल्ठूला बस, दुई तल्ला भएका बसहरू उपयोगी हुन्छन् । सार्वजनिक यातायातमा यात्रुले आफ्नो गन्तव्यमा समयमै पुग्छु भनेर आश्वस्त हुन सके, उसले निजी साधनको आवश्यक ठान्ने छैन । मास ट्रान्स्पोर्टेसनको व्यवस्था नगर्ने हो भने साना सवारीबाट गरिने यात्राले कोही पनि समयमा पुग्न सक्दैन । त्यसले निम्त्याउने अव्यवस्था डरलाग्दो हुनेछ । 

ट्राफिक व्यवस्थापनको अर्को समस्या काठमाडौंका परम्परागत सडक हुन् । सबै सवारी साधन एउटै सतहबाट वारपार गर्न यहाँका अधिकांश सडकमा एक दिशाबाट गएको सवारी साधन पार गर्न अर्को दिशाबाट आएकोलाई रोक्नुपर्छ । जसले गर्दा तत्कालै ट्राफिक जाम हुन्छ । यस्तो समस्या समाधानका लागि सडकको केही भागलाई थोरै माथि उठाउनुपर्ने प्रविधि छ । यस्तो प्रविधिलाई ग्रेडसेपरेसन भनिन्छ । ग्रेड सेपरेसन गरेर कलंकी सडक सुधारको काम हुँदैछ । ग्रेड सेपरेसन गरेर चोकचोकमा सडक सुधार गर्न सके ट्राफिक समस्या हल हुन्छ भन्छन् सिटौला । 

सिटौलाका अनुसार यस्तो काम गर्न धेरै ठूलो लगानी आवश्यक पर्दैन, धेरै समय पनि लाग्दैन तर काम कुनै अवरोधविना धमाधम गर्नुपर्छ । उनका विचारमा दीर्घकालीन योजनासहित चुस्त कार्यान्वयन हुने हो सुधारको सम्भावना धेरै छ । यसका लागि आवश्यक मुख्य दुई तŒव छन्– एक, राजनीतिक प्रतिबद्धता र दुई, परम्परागत शैली छाडेर अघि बढ्ने आँट । अन्तर्राष्ट्रिय प्रयोग र अनुभवबाट आफू सुहाउँदो शैली र प्रविधि प्रयोग गर्न सके काठमाडौं बस्नयोग्य र सुन्दर शहर बनाउन सकिन्छ । यसका लागि धेरै लामो समय लाग्दैन । 

सजीव शहरको रहर 

पूर्वाधारविज्ञ इन्जिनियर तुलसी सिटौला काठमाडौंलाई निर्जीव शहर भन्छन् । त्यसो भए एउटा शहर सजीव बन्न के के हुनुपर्छ त ? 

सजीव शहरका लागि पर्याप्त पानी, ट्राफिक व्यवस्थापन, व्यवस्थित ढल, बिजुलीको व्यवस्था, समयमै गन्तव्यमा पु¥याउने सार्वजनिक यातायात, ठाउँठाउँमा पार्क, फराकिलो फुटपाथ आधारभूत तत्व हुन् । 

काठमाडौंमा यी आधारभूत तत्वको अभाव भएकै हो त ? 

सिटौलाका अनुसार हुँदै नभएको होइन तर पर्याप्त छैन, भएको पनि अस्तव्यस्त र अव्यवस्थित छ । विकासको दीर्घकालीन सोच भएका मुलुकमा शहरका लागि आवश्यक पूर्वाधार तयार गरेर बस्ती बसाइन्छ । नेपालमा बस्ती बसाएर पूर्वाधारको खोजी गरिन्छ । यस्तो उल्टो भएपछि शहर निर्जीव बन्छ । काठमाडौं उपत्यका मात्रै होइन नेपालका अरू शहर निर्जीव हुने क्रममा छन् । 

शहरलाई सजीव बनाउन अर्को अत्यावश्यक तत्व हो हरिया पार्क । सडकको छेउ वा किनारामा पार्क बनाउँदा त्यसले शहरको सौन्दर्य बढाउँछ । त्यहाँ भेट्दा र कुराकानी गर्दा र केही बेर टहल्दा तनाव दूर हुन्छ । पार्कमा भेट हुने मानिसहरूबीच आत्मीयता बढ्छ । सडकका वरिपरि रोपिने रूख, बिरुवा र नदी पोखरीले शहरलाई सजीव बनाउँछन्, वातावरण स्वच्छ हुन्छ । शहरलाई सजीव बनाउन नेपाल अघि बढ्न नसकेको सिटौलाको भनाइ छ । यसतर्फ समयमा कसैले ध्यान नै दिएन । 

स्मार्ट सिटी बनाउन संसारमा भएका थुप्रै काममध्ये सिटौलाले दक्षिण कोरियाली राजधानी सोलको उदाहरण सुनाए । दक्षिण कोरियामा ६ लेनको सडक मासेर त्यहाँ नदी बनाइएको थियोे । उक्त कृत्रिम नदीले सडकले भन्दा धेरै गुणा बढी शहरलाई आर्थिक समृद्धितर्फ बढायो । शहरको वातावरण स्वच्छ बनाउनसमेत उक्त कृत्रिम नदीको अतुलनीय योगदान छ । 

सबै काम एउटै निकायबाट 

खानेपानी, ढल, टेलिफोन, बिजुलीको काम एउटै निकायबाट नहुँदा काठमाडौं निर्जीव र कुरूप बनेको सिटौलाको बुझाइ छ । समन्वयको अभावमा एकै पटक गर्न सकिने काम पटकपटक गर्नुपरेका थुपै्र उदाहरण छन् । एउटै निकायबाट समन्वयात्मक ढंगले काम गर्ने हो भने यति धेरै बेथिति हुने थिएन । यसको जिम्मा उपत्यका विकास प्राधिकरणलाई दिन सकिने सिटौलाको धारणा छ । भन्छन्, ‘प्राविधिक र प्रशासनिक कारणले तत्काल सम्पूर्ण जिम्मा दिन नसके पनि समन्वय गर्ने निकायका रूपमा काम सुरु गर्न सकिन्छ ।’ 

सिटौलाले छिमेकी राष्ट्र भारतको उदाहरण दिए । भारतमा शहर र विकाससँग सम्बन्धित काम ‘दिल्ली डेभलपमेन्ट कर्पोरेशन’ ले गर्छ । अन्य निकायले गर्नुपरे पनि कर्पोरेशनसँग स्वीकृति लिएपछि मात्रै गर्न पाइन्छ । उनले भने, ‘यस्तो भए खर्च पनि कम हुन्छ, कुन कुन काम एकैपटक गर्न सकिन्छ त्यो मिलाएर गर्न सकिन्छ ।’

अझैं गर्न सकिन्छ 

त्यसो भए अब सुधार गर्नै नसकिने गरी खत्तम भइसक्यो त ? त्यसो होइन । आशा छ, गर्न सकिने ठाउँ धेरै छ । भित्री शहरका केही समस्या व्यवस्थापन गर्न सके अझै आत्तिनुपर्ने  अवस्था छैन । सरकारको सचिवसमेत भइसकेका सिटौला भन्छन्, ‘तर अब समय छैन, आलटाल गर्नु हुँदैन, काम सुरु गरिहाल्नुपर्छ, समस्याप्रति गम्भीर नहुने र आलटाल गर्ने हो भने सधैँका लागि बिग्रिन सक्छ काठमाडौं ।’ मुलुकका अरू शहरमा अहिले नै बुद्धि पु¥याइहाल्नु पर्छ । सुधार्न नसकिने होइन । नयाँ शहरहरू सुरुदेखि नै योजनाबद्ध हुनुपर्छ । यसो भयो भने काठमाडौं उपत्यकामा सुधार गर्न पनि सहयोग पुग्छ । स्मार्ट सिटी आकाशको होइन । 

अब चाहिन्छ रेल

जापानका ५० प्रतिशत जनता रेलबाट आवतजावत गर्छन् । निजी सवारीसाधन हुनेहरू पनि रेल रोज्न थालेका छन् । त्यसो हुनुको मुख्य कारण रेलले दिएको भरपर्दो सेवा नै हो । 

भर्खर खाडी मुलुक दुबई पुगेर फर्किएका सिटौलालाई त्यहाँको रेलले खुबै लोभ्याएको रहेछ । त्यहाँ चलाइएको मेट्रो रेल बिहान सबेरैदेखि राति १२ बजेसम्म एकछिन खाली हुँदैन । 

हाम्रा राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा रेलका कुरा उठाएका छन् । यही सन्दर्भ जोडेर मैले उनलाई सोधँे– काठमाडौंमा रेल सम्भव छ ? 

सिटौलाले मोनो रेलभन्दा लाइट रेल उपयोगी हुने बताए । उनका अनुसार लाइट रेलको क्षमता मोनोको भन्दा धेरै हुन्छ । भन्छन्, ‘अब काठमाडौंमा रेल चाहिन्छ र यो असम्भव छैन ।’ सतहभन्दा माथिबाट चलाउन मिल्ने लाइट रेलले काठमाडौंको आवश्यकताअनुसार धेरै यात्रु बोक्न सक्छ, एकै पटक चार–पाँच सय मानिस । लाइट रेलको निर्माण मेट्रो रेलको जस्तो खर्चिलो हुँदैन । मोनो रेलको क्षमता केही कम हुन्छ । काठमाडौं उपत्यकामा लाइट रेल सबैभन्दा उपयुक्त हुन्छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं