Date:2017/11/23 |Thursday

सात वर्ष साउदी बसेकी सुनिताको कमाइ : मानसिक रोग

Posted on: November 12, 2017 | views: 30 |

झापा । वैदेशिक रोजगारमा गएर सुन्दर भविष्य निर्माण गर्ने योजनाका साथ दैनिक सयौँ युवा विदेशिने गरेका छन् । तर, सबैको सपना पूरा हुन्छ भन्ने छैन । कोही राम्रै दाम लिएर आउँछन् त कोही रोगिएर थिलथिलो शरीर लिएर भने कोही बाकसमा । 

यस्तै, सुन्दर भविष्यको खोजीमा सात वर्षअघि साउदी अबर पुगेकी बिर्तामोड नगरपालिका–८ गरामनीकी सुनिता गामी (४०) मानसिक रोगी भएर फर्किएकी छन् । सात वर्षअघि घरेलु कामदारका रुपमा भारतीय बाटो हुँदै साउदी पुगेकी सुनिता गत वैशाखमा नेपाल फर्किएकी हुन् । 

घरमालिकको शारीरिक र मानसिक यातनाले हाल उनी विक्षिप्त अवस्थामा रहेकी छन् । स्थानीय मंगलु राजवंशीले सम्पर्क गराएपछि झापा धाइजनका अभिषेक धिमालले सुनितालाई भारतको बाटो हुँदै साउदी पठाएको श्रीमान् नारायण गामीले बताए । 

‘साउदी पुगेको एक महिनापछि सुनिताले फोन गरेकी थिई’, नारायणले भने, ‘त्यसयता सम्पर्क हुन सकेन ।’ सुनितालाई साउदी पठाउने धिमाल हाल सम्पर्कविहीन छन् । 

सात वर्षपछि सदस्य घर फर्किंदा खुसी भए पनि सुनिताको अवस्थाले परिवार चिन्तामा छ । ‘छोरा पढाउने र घर बनाउने सपना थियो’, नारायणले भने, ‘पैसा कमाउनु त टाढाको कुरा श्रीमतीको यस्तो हालत भयो ।’ हाल सुनिताको उपचार भइरहेको उनले बताए ।

मासिक १४ हजार पारिश्रमिक पाउने शर्तमा साउदी पुगेकी सुनिताले गएको चार महिनापछि  ५० हजार पठाएकी थिइन् । सो रकम उनले आफ्नो देवर प्रमोदको नाममा पठाएकी थिइन् । त्यसपछि कुनै रकम नपठाएको परिवारले जनाएको छ । 

तर, उद्धार गरी नेपाल फर्किएपछि सुनिताको तलबबापतको १० लाख पाएको श्रीमान् नारायणले बताए । उनले भने, ‘सोही रकमले श्रीमतीको उपचार गरिरहेकी छु ।’ उनले दोषीलाई कारबाहीको माग गर्दै न्यायका लागि अपिलसमेत गरेका छन् । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं