Date:2017/11/23 |Thursday

दृष्टिविहीनको सहारा सडक गीत

Posted on: November 12, 2017 | views: 60 | रमा लुइँटेल


काठमाडौं । ललितपुर जिल्लाको व्यस्त बजार लगनखेल । यो बजारमा सधैँ सबै आआफ्नो काममा व्यस्त हुन्छन् । कोही व्यापारमा, कोही गफमा त कोही आफ्नै धुनमा । 

गत साताको एक दिन हेटौंडाका सुमन लामा भने रामकृष्ण ढकाल गाएको ‘ओराली लागेको मृगको चाल भो’ बोलको गीत गाउँदै थिए । उनका वरिपरि मानिसको हुल थियो । उनको स्वर मन पराउनेले उनलाई पैसा दिइरहेका थिए । लगनखेलमा गीत गाउनु सुमनको दिनचर्या नै बनेको छ । 

प्रत्येक दिन सुमन आफ्नी ठूली आमाको साथ लागेर लगनखेल आउँछन् । हाल चापागाउँमा डेरा गरी बसको  सुमन हेटौंडाका स्थायी बासिन्दा हुन् । तीन वर्षको हुँदा उनले आँखाको दृष्टि गुमाए । ‘सानोमा ख्याल नै भएन, अलि ठूला हुँदै गएपछि आँखा कम देख्दो रहेछ भन्ने थाहा भयो,’ गीत गाइराखेका सुमनसँगै उभिएकी उनकी ठूलीआमाले उनी दृष्टिहीन हुनुको कारण खुलाइन् । धेरै उपचार गर्दासमेत केही नलागेपछि समुनको परिवारले उपचारमा खर्च गर्न छोडेको रहेछ । 

सानैदेखि गीत संगीतमा रुचि भएका सुमन गीत गाएरै दिनको तीन हजार रुपैयाँसम्म कमाउँछन् । उनलाई ठूलीआमाले डेराबाट बिहान लगनखेलसम्म पु¥याउँछिन् र बेलुका भएपछि डेरा पु¥याउँछिन् । सुमन गीत गाएर पैसा कमाउँछन् । ठूली आमालाई महिनाको दुई चार हजार रुपैयाँ दिन्छन् । 

गीत गाएर सुमन आफूमात्रै आत्मनिर्भर बनेका छैनन् । उनीकी ठूली आमाको पनि सानो तिनो गर्जो टरेको छ । सहरका चोकमा सुमनजस्तै दृष्टि क्षमता गुमाएका व्यक्ति धेरै भेटिन्छन् जो गीत गाएर आफू पनि बाँचेका छन् र अरूलाई पनि बाँच्न सहयोग गरेका छन् । सुमनको कमाइले चारजनाको परिवार पालिएको छ ।

यस्तैमध्येका अर्का एक दृष्टिविहीन हुन् राकेश लामा । जो कहिले कोटेश्वर चोकमा त कहिले बानेश्वर चोकमा भेटिन्छन् । उनले त विभिन्न चोकमा पु¥याउने, पैसा सुरक्षित गरिदिने र हिसाब राखिदिने कामका लागि एकजना सहयोगीलाई रोजगारी नै दिएका छन् । कोेटेश्वरमा गीत गाइराखेका राकेशनजिकै उनी सहयोगी उभिएकी थिइन् । उनले आफ्नो जिम्मेवारीको बयान गरिन्, ‘मेरो काम ल्याउने पु¥याउने हो, पैसा बटुलेर राखिदिनुपर्छ, हिसाब किताब राम्ररी राखिदिनुपर्छ ।’ कुनै दिन त दिनको पाँच हजारसम्म जम्मा हुने उनले बताइन् । 

सिन्धुपाल्चोक स्थायी घर भएका राकेशले रतन्धोका कारण दृष्टि क्षमता गुमाएका छन् । उनले गाएको गीत सुन्ने जो कोहीले पनि टक्क अडिएर केही रुपैयाँ दिने गरेको राकेशनजिकै बसेर फुटपाथ व्यापार गरिराखेकी उर्मिला खत्रीले बताइन् । अपागंता भए पनि सहरका चोक, गल्लीमा बसेर आफ्नो क्षमतामार्फत देखाएर आत्मनिर्भर हुने धेरै छन् । परिवार पाल्ने मात्रै होइन, रोजगारी सिर्जनासमेत गरिराखेका छन् । 

गर्जो टर्ने कमाइ भए पनि सडकमा गीत गाउन सजिलो छैन । सार्वजनिक ठाउँमा डिस्टर्ब भयो भन्ने पनि हुन्छन् । धुँवा र धूलोले हैरान पार्छ ।  वरपरका व्यापारीले ठूला आवाजले काममा असर परेको भन्ने गरेको सुमनले बताए । 

नेपाल नेत्रहीन संघका कोषाध्यक्ष सुगम भट्टराईले सडक र सहरका चोकमा गीत गाउने दृष्टिविहीन कति छन् त्यसको तथ्यांक एकिन नभएको बताए । केही वर्षअघि संघले दिएको गीत र संगीत सम्बन्धित तालिम लिनेहरू विभिन्न रेस्टुराँमा कार्यरत रहेको उनले जानकारी दिए । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं