Date:2017/11/23 |Thursday

माओवादी नेता पुनमाथि फेरि आक्रमण

Posted on: November 13, 2017 | views: 57 |

हिमालय टाइम्स

काठमाडौं । चुनाव प्रचारमा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई लक्षित परेर गोली प्रहार भएको छ । एम्बुस विष्फोट गराइएको २४ घण्टा नपुग्दै आइतबार वाम गठबन्धनको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार पुनलाई लक्षित फेरि गोली प्रहार भएको हो । 

चुनावी कार्यक्रममा मतदाताको घरदैलोका क्रममा रोल्पाको दुई खोली गाउँपालिका ३ केउरी खोलामा गोली प्रहार भएको हो । गोली पूर्वअर्थमन्त्रीसमेत रहेका पुन चढेको वा १५ च ८६२८ नम्बरको गाडीलाई ताकेर हानिएको थियो । गोलीले कुनै क्षति भएन । 

राङ्सीको चुनावी सभापछि बागमारातिर जाँदै गर्दा भीरबाट ढुंगा पल्टाएर उनको बाटो अवरोध गर्न खोजिएको थियो । लगत्तै पेस्तोलको आवाज आएपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । करिब पाँच सय मिटर टाढाबाट पेस्तोलको आवाज आएको प्रहरीले जनाएको छ । भीरबाट ढुंगा लडाएलगत्तै पेस्तोलबाट एक गोली प्रहार भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । 

अवरोध गर्ने र तर्साउने उद्देश्यले आक्रमण गरेको देखिएको र प्रहरीले हवाई फायर गरेको फुयाँलले बताए । ‘उम्मेदवारको प्रचार टोलीमाथि सामान्य अवरोध गर्न खोजिए पनि सुरक्षाफौजले सबैलाई गन्तव्यमा पु¥याउन सफल भएको छ । घटना भएको स्थानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं,’ फुयाँलले भने ।

उनले घटनामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको हुन सक्ने आशंका गरे । चन्दको दल नेपाल कम्युनिस्ट पार्टी निर्वाचनको विरोधमा छ । चुनावीसभामा सहभागी हुन पुनसँगै प्रदेशसभा उम्मेदवार एवं माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दीपेन्द्र पुन, समानुपातिक उम्मेदवार जयपुरी घर्ती, ईश्वरी घर्ती, कुमार दसौदी, एमाले पोलिटब्युरो सदस्य एवं सचेतक गोकुल घर्ती, एमाले जिल्ला अध्यक्ष हरिप्रसाद घर्ती पनि थिए ।

रोल्पाकै सुकिदह गाउँपालिकाको चुनावीसभाबाट घर्तीगाउँ फर्किंदै गर्दा शनिबार बिहान पुनको गाडीलाई लक्षित गर्दै एम्बुस विष्फोट गराइएको थियो । विष्फोट गराइए पनि क्षति भएन । शुक्रबार रुकुममा माओवादी केन्द्रकै नेता तथा मन्त्री जनार्दन शर्माको गाडीमा बम विष्फोटको प्रयास भएको थियो । 

एम्बुस विष्फोट र गोली प्रहारको घटनाको कसैले जिम्मेवारी लिएको छैन । प्रहरीले चन्दपक्षले घटना गराएको शंका गरेको छ । प्रहरीले केही दिनअघि चन्दको पार्टीका केही कार्यकर्ता पक्राउ गरेको थियो । पुनकै निर्देशनमा कार्यकर्ता पक्राउ परेको चन्दको पार्टीको आरोप छ । 

रकुम र रोल्पामा चुनाव प्रचारमा रहेका वाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण हुन थालेपछि ती जिल्लामा सुरक्षा चुनौती थपिएको छ । घटनापछि उम्मेदवार कडा सुरक्षामा छन् । विष्फोट गराउनेको खोजी गरिरहेको प्रहरीले जनाएको छ । 

सोमबार थबाङमा वाम गठबन्धनको चुनावीसभा हुने भनिएको छ । थबाङमा  चन्दको पार्टीले शून्य मतदानको घोषणा गरी उर्दी जारी गरेको छ । थवाङमा ‘चुनाव खारेज गरौं’ भन्ने प्रचार भइरहेको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं