Date:2017/11/23 |Thursday

बढी धुवाँ फाल्ने गाडीमाथि कारबाही

Posted on: November 13, 2017 | views: 33 |

हिमालय टाइम्स

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मापदण्डभन्दा बढी कालो धुवाँ फाल्ने ४८५ वटा सवारी साधनलाई कारबाही गरेको छ ।

महाशाखाले एक महिनाअगाडि असोज २५ गते बढी धुवाँ फाल्ने सवारीलाई कारबाही गर्न सुरु गरेको थियो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रन्जितकारका अनुसार एक महिनामा महाशाखाले बढी धुवाँ फाल्ने गाडीको निगरानी गरी कारबाही बढाएको छ । उनले प्रदूषण मापन गरी स्टिकर दिने र बढी धुवाँ फाल्नेलाई महाशाखाले कारबाही सुरु गरेको बताए ।  

परीक्षण गरेर चलाउन मिल्ने र यान्त्रिक गडबडी नभएका सवारी साधनलाई  हरियो स्टिकर दिने व्यवस्था गरिएको छ । हरियो स्टिकर टाँसिएका सवारी साधन सडकमा चल्न उपयुक्त तथा योग्य रहेका छन् भन्ने जानकारी दिन हरियो स्टिकर लगाउने गरिन्छ ।  यातायात व्यवस्था विभागले सवारी प्रदूषण मापन गरी चलाउन सकिने सवारीलाई हरियो स्टिकर दिँदै आएको छ । 

हरियो स्टिकर दिने बेला लापरबाही हुँदा मानिसको स्वास्थ्यलाई नै असर पार्ने गरी कालो धुवाँ फाल्नेले पनि स्टिकर पाएका छन् । एक महिनामा  भएको कारबाहीको संख्याले समस्या निकै बढेको देखाएको महाशाखाको भनाइ छ ।  मेलम्ची खानेपानी आयोजनाले भत्काएर धुलाम्मे बनाएको सडक र हानिकारक धुवाँ फाल्दै गुड्ने सवारी साधनले उपत्यकाको सौन्दर्य नै कुरुप बनाएको छ ।  महाशाखाले काठमाडौं उपत्यकालाई सुन्दर र स्वच्छ बनाउन विभिन्न पहल गरिरहेको प्रवक्ता रन्जितकार बताउँछन् । 

ट्राफिक जाम, धुवाँ र सवारी साधनको कर्कस आवाज नियन्त्रण गर्न महाशाखाले प्रयास गरिरहेको उनले बताए । ठमेल क्षेत्रलाई सवारीमुक्त क्षेत्र घोषणा भएको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं