Date:2017/11/23 |Thursday

बाढीबाट साढे ६१ अर्ब क्षति

Posted on: November 14, 2017 | views: 15 |

हिमालय टाइम्स

काठमाडौं । राष्ट्रिय योजना आयोगले यस वर्ष बाढीले पु¥याएको क्षतिको विवरण तथा पुनर्निर्माणमा लाग्ने अनुमानित खर्च समेटिएको ‘बाढीपछिको पुनस्र्थापना आवश्यकता आकलन’ प्रतिवेदन तयार पारेको छ ।  

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवेदन सार्वजनिक गरे । 

प्रतिवेदनअनुसार बाढीबाट ६१ अर्ब ८४ करोड ४८ लाख नेपाली रुपैयाँ बराबरको क्षति पुगेको छ । बाढीपछिको पुनस्र्थापनाका लागि करिब ७३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ आवश्यक हुने देखिएको छ । 

प्रतिवेदनमा सामाजिक क्षेत्रतर्फ आवास, स्वास्थ्य र शिक्षा तथा उत्पादनमूलक क्षेत्रमा कृषि, पशुपक्षी र सिँचाइमा पुगेको क्षति समेटिएको छ । यस्तै पूर्वाधारतर्फ यातायात, खानेपानी र ऊर्जामा भएको क्षतिको मूल्यांकन गरिएको छ । बाढीका कारण निजी आवासमा सबैभन्दा बढी १९ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । 

त्यस्तै, सिँचाइमा १७ अर्ब ५० करोड, पशुपक्षीमा १० अर्ब ७ करोड, कृषिमा ७ अर्ब २ करोड, यातायातमा दुई अर्ब नौ करोड र शिक्षामा एक अर्ब दुई करोड रुपैयाँको क्षति मूल्यांकन गरिएको छ ।

प्रतिवेदनमा पुनर्निर्माणका लागि सुझावसमेत समेटिएको छ । पुनर्निर्माणका लागि तीन वर्षमा तत्काल, मध्यकाल र दीर्घकालका लागि पुनस्र्थापना रणनीति अवलम्बन गर्न सुझाव दिइएको छ । बाढीपछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत एक विशेष एकाइ गठन गरी त्यसको प्रमुखमा डा. सुमनकुमार कर्णलाई सरकारले नियुक्त गरिसकेको छ । 

यही वर्षको साउन २७ देखि ३० सम्मको लगातारको भीषण वर्षापछिको बाढीले ३५ जिल्ला प्रभावित बनाएको थियो । बाढीबाट १८ जिल्लामा ९० पुरुष र ४४ महिला गरी १३४ को ज्यान गएको थियो । करिब १७ लाख जनसंख्या प्रभावित भएको थियो । 

मृतकको संख्या सबैभन्दा धेरै हुने जिल्लामा रौतहट, मोरङ, झापा र सर्लाही छन् । बाढीमा घाइते हुनेको संख्या २२ छ । 

बाढीले पु¥याएको क्षति कुल गार्हस्थ्य उत्पादनको करिब ३ प्रतिशत हो । सबैभन्दा बढी क्षति आवास र अन्नबालीमा भएको छ । प्रतिवेदनको अन्तिम खण्डमा जोखिम न्यूनीकरणका लागि अनुकूलन रूपरेखा प्रस्ताव गरिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले सबैको सहयोग लिएर छिटो छरितोढंगले पुनर्निर्माण गर्ने बताए । उनले बाढीपीडितको पुनस्र्थापना र पुनर्निर्माणको काम छिटो अघि बढाइने बताए ।   


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं