Date:2017/11/23 |Thursday

मातृशिशु स्वास्थ्यमा सुधार हुँदै

Posted on: November 14, 2017 | views: 26 | पार्वती थापामगर

काठमाडौं । विगतको तुलनामा पछिल्लो समयमा नेपालमा मातृशिशु स्वास्थ्यमा सुधार आएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य मन्त्रालयले सन् २०१६ मा गरेको राष्ट्रिय स्वास्थ्य सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणले पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर दुई दशकमा तीन गुणा कम भएको देखाएको हो ।

सन् १९९६ मा एक हजार बच्चामा १ सय १८ को मृत्यु भएको थियो भने सन् २०१६ मा यो तथ्यांकमा तीन गुणा घटेको हो । अहिले नेपालमा प्रत्येक २५ जना बच्चामा एकजनाको पाँच वर्ष उमेर नपुग्दै मृत्यु हुने गरेको पाइएको छ । यसले बाल स्वास्थ्य सुधारमा अझै ध्यान दिन जरुरी रहेको देखाउँछ । सरकारले सन् २०३० सम्ममा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा सक्दो घटाउनका लागि आवश्यक कार्यक्रम तीव्ररूपमा लैजाने तयारी गरिरहेको छ । 

सर्वेक्षणअनुसार पछिल्लो समयमा गर्भवती सेवामा समेत धेरै सुधार देखिएको छ । नेपालमा १० जना गर्भवतीमध्ये कम्तीमा ८ जना महिलाले चिकित्सक तथा दक्ष डाक्टरबाट सेवा लिँदै आएका छन् । सन् २००१ मा १० जना गर्भवती महिलामध्ये तीनजनाले मात्रै दक्ष प्रसूतिकर्मीबाट सेवा लिने गरेका थिए । 

सन् २०१६ मा ५७ प्रतिशत बच्चा स्वास्थ्यसंस्थामा जन्मिएको तथ्यांकमा उल्लेख छ भने सन् १९९६ मा ८ प्रतिशतले मात्रै स्वास्थ्यसंस्थामा गएर सुत्केरी गराएको पाइएको थियो । नेपालमा अझै १० जना बच्चामध्ये ४ जना घरमै जन्मिने गरेको पाइएको छ । 

सर्वेक्षणले अहिले नेपालमा एउटा विवाहित महिलाले दुईवटा सन्तानमात्रै जन्माउने गरेको देखाएको छ भने सन् १९९६ मा एकजना विवाहित महिलाबाट ४ देखि ६ जनाभन्दा बढी बच्चाको जन्म हुने गरेको थियो । प्रजनन् दर घट्नुको कारण परिवार नियोजनको साधन तीव्ररूपमा प्रयोग हुनु तथा चेतनामा वृद्धि हुनु नै मुख्य कारण मानिएको छ । २०१६ मा १२ देखि १३ महिनाका ७८ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएको अध्ययनले देखाएको छ । सर्वेक्षणअनुसार नेपालमा धेरै बालबालिका कुपोषणबाट ग्रसित पाइएको छ । कुपोषणकै कारण एक तिहाईभन्दा बढी बालबालिकामा पुड्कोपन भएको पाइएको छ । 

यसैगरी सर्वेक्षणले नेपालमा पहिलो पटक १५ वर्ष र सोभन्दा बढी उमेरका पुरुष तथा महिला दुवैमा रक्तचापको समस्या देखाएको छ । जसमध्ये १७ प्रतिशत महिला २३ प्रतिशत पुरुष छन् । सर्वेक्षणले विगतको तुलनामा मातृशिशु स्वास्थ्यमा सुधार भएको देखाए पनि धेरै चुनौती बाँकी रहेकाले यस विषयमा सबै सचेत हुन जरुरी रहेको स्वास्थ्य मन्त्रालयको अनुगमन तथा मूल्यांकन शाखा प्रमुख डा. दिपेन्द्र रमण सिंहले बताए ।

उनले सरकारको मात्रै पहलले नपुग्ने भएकाले जनता आफै पनि यस विषयमा सचेत हुन जरुरी रहेको बताए । पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्दै गएका कारण यस विषयमा बढीभन्दा बढी मानिस आफैले पनि इन्टरनेटबाट आफूले चाहेको सूचना तथा जानकारी प्राप्त गर्न सक्ने उनले बताए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं