Date:2017/11/23 |Thursday

‘विश्व एन्टिबायोटिक्स सचेतना सप्ताह’ सुरु

Posted on: November 14, 2017 | views: 23 |

हिमालय टाइम्स

काठमाडौं । ‘विश्व एन्टिबायोटिक्स सचेतना सप्ताह’ सोमबारदेखि सुरु भएको छ । स्वास्थ्य, पशुपक्षी विकास, जनसंख्या तथा वातावरण, वन तथा भूसंरक्षण, कृषि विकास मन्त्रालयले संयुक्त पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ३ गतेसम्म अभियान चल्ने जानकारी गराएको हो । 

पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा.केशवप्रसाद प्रेमीले मानिसमा लाग्ने अधिकांश रोग पशुपक्षीबाट लाग्ने बताए । उनले भने, ‘प्रायः रोग जनाबरबाट सर्ने गर्छन्, कुखुरा, राँगा, बोका, खसी, त्यस्तै दूधबाट पनि रोग लाग्ने गर्छन्, यी खाद्यको प्रयोग गर्न नमिल्ने भन्न खोजिएको होइन, उपभोग गरिने माछा, मासु, दूधले मानव शरीरमा कत्तिको असर पार्छ भन्ने कुरा अहम् बन्छ, पशु बिरामी हुँदा खुवाइएको एन्टिबायोटिक्सले मानव शरीरमा नकारात्मक असर गर्छ ।’

त्यस्तै औषधि व्यवस्थापन विभागका महानिर्देशक डा.नारायण ढकालले सन् २०२० पछि बजारमा एन्टिबायोटिक्स औषधि नपाइने बताए । उनले भने, ‘हाम्रो विभागबाट बजारमा एन्टिबायोटिक्स पठाउने काम पूर्णरूपमा बन्द भइसकेको छ, बिरामी पर्दा सामान्य औषधि पसलमा पुग्ने र चेकअप नगरेरै औषधि र एन्टिबायोटिक्स सेवन गर्नाले झनै समस्या सिर्जना गर्छ, एन्टिबायोटिक्स खुवाइएका कुखुरा, अन्डा, मासुजन्य पदार्थ सेवन गर्दा मानव जीवनमा ठूलो असर गर्छ, उपभोक्ताभन्दा पनि उत्पादनकर्ताले अरूको जीवन पनि आफ्नो जस्तै प्रिय हुन्छ भनेर सोच्नुपर्छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोले स्वास्थ्यसँग जोडिएका कुराको बारेमा जनस्तरसम्म सचेतना पु¥याउनुपर्नेमा जोड दिए । उनले भने, ‘तल्लो तहसम्म सचेतनाका कार्यक्रम लैजानुपर्छ, हामी जिल्लासम्म मात्रै पुगेका छौं, प्रत्यक्ष मानव जीवनमा पर्ने असरको बारेमा सचेतना तल्लो तहसम्म पु¥याउनुपर्छ, अबका दिनमा स्थानीय तहमा स्वास्थ्य सजगताका बारेमा सचेतना दिनेखालका कार्यक्रम लैजानुपर्छ ।’ 

कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. विमल निर्मल, पशु स्वास्थ्य निर्देशनालयकी कार्यक्रम निर्देशक सम्झना काफ्ले लगायतले आफ्ना धारणा राखेका थिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं