Date:2017/11/23 |Thursday

हनुमानढोकाको आम्दानी घट्दो

Posted on: November 14, 2017 | views: 24 |

हिमालय टाइम्स 

काठमाडौं । भूकम्पले भत्काएपछि पुनर्निर्माणमा ढिलासुस्ती भइरहेको हनुमानढोका दरबार क्षेत्रको आम्दानी घट्दो क्रममा छ । आर्थिक वर्ष ०७१÷७२ मा १६ करोड १३ लाख रुपैयाँ संकलन भएकोमा ०७२÷७३ मा १४ करोड मात्र संकलन भएको छ । 

भूकम्पपछि दरबारको पुनर्निर्माण अन्योलमा परेको र दरबारको अवस्था नाजुक रहेकोले पर्यटकहरू घुम्न आउने संख्यामा कमी आएको छ । दरबार क्षेत्र घुम्न आउने पर्यटकहरूमा सार्क राष्ट्र र अन्य पर्यटकलाई टिकटदर छुट्टाछुट्टै छ । 

सार्क मुलुकका पर्यटकलाई १५० रुपैयाँ र सार्कबाहिरका पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ लाग्छ । भूकम्पअगाडि सार्क राष्ट्रबाहिरका पर्यटकलाई ७५० मात्र प्रवेश शुल्क लिने गरिएको थियो । काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की दरबार क्षेत्रबाटै संकलन भएको रकमले मात्र पनि दरबार पुनर्निर्माण हुन सक्ने भए पनि त्यो रकम कहाँ खर्च हुन्छ भन्ने प्रस्ट नरहेको बताउँछन् । दरबारको संग्रहालयभित्र जान नपाउने र बाहिरको पनि अवस्था सुरक्षित नरहेकाले पर्यटकहरू आउने क्रम घटेको महानगरको भनाइ छ । पर्यटकहरू कम भएसँगै आम्दानी पनि विस्तारै कम हुँदै गएको देखिन्छ । सार्कबाहिरका पर्यटकबाट लिइने १ हजारबाट ५ सय रुपैयाँ काठमाडौं महानगरपालिकाले लिने गरेको छ ।  बाँकीबाट २५० हनुमान ढोका दरबारक्षेत्रको संग्रहालयमा जम्मा हुन्छ भने अर्को २५० भूकम्पपछि त्यही क्षेत्रको पुनर्निर्माणको लागि भनेर संकलन गरिएको कार्की बताउँछन् । भूकम्पपछि दरबार संग्रहालयमा प्रवेश निषेध छ ।  

विश्व सम्पदा सूचीमा सूचीकृत भएको हनुमानढोका दरबार क्षेत्र साढे दुई वर्षअघिको भूकम्पले क्षति पु¥याएसँगै नाजुक अवस्थामा रहेको छ । दरबार क्षेत्रको संरक्षण र जगेर्ना गर्ने मुख्य जिम्मेवारी मुख्य गरेर नगरपालिकाको भएपनि त्यसतर्फ ध्यान पुगेको देखिँदैन ।  


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं