Date:2017/11/23 |Thursday

गौचन हत्या प्रकरण, एक भारतीयसहित ४ जना पक्राउ

Posted on: November 15, 2017 | views: 30 |

रमेश भारती 

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न एक भारतीय नागरिकसहित ४ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । गौचनको हत्या भएको एक महिनापछि हत्यामा संलग्न पाँचजनालाई पक्राउ गरी मंगलबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । हत्याका मुख्य योजजानकार पहिचान भए पनि पक्राउ गर्न भने प्रहरी अझै असफल देखिएको छ । 

हत्यामा संलग्न नुवाकोटका राजीव स्याङतान, (सुटर) भारत बिहारका मुकेशकुमार पाण्डे हतियार(व्यस्थापन) पर्सा कालिकामाईका शिवजी महतो (हतियार व्यवस्थापन) पर्साका सन्तोष गुरुङ (मोटरसाइकल व्यवस्थापन) र काठमाडौंका प्रकाश बुढाथोकी (हत्यामा सहयोगीको भूमिका) लाई प्रहरीले पक्राउ गरेको हो । स्याङताङ मुख्य सुटर भएको प्रहरीले जानकारी दिएको छ । हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेत भने फरार छन् । उनका मुख्य सहयोगी भएर बुढाथोकीले एक महिनासम्म गौचनको पिछा गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न समिरमानसहित भारतमा लुकेर बसेका मनोज पुनसँगै लोप्साङ, गंगा (बोका) लिम्बु, काले दाइ भन्ने श्यामबहादुर गुम्बे, अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार छन् । प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ । समिरमान, मुकेश कुमार र पुनबाहेक पक्राउ परेका व्यक्ति यसअघि आपराधिक घटनाका संलग्न नभएको प्रहरीले जनाएको छ । 

गौचन हत्याको मुख्य कारण फिरौती नै भएको प्रहरीको भनाइ छ । गौचनले फिरौती दिन अस्वीकार गरेपछि समिरमानले नेपालबाट र पुनले भारतबाट हत्याको योजना बनाएको अनुसन्धान ब्युरोका एआइजी गणेश केसीले बताए । उनले भने, ‘गौचनलाई घटना हुनुअघि फिरौतीका विषयमा हत्यामा संलग्न समूहले फोनबाट धम्की दिँदै हत्या गर्नेसम्मको चेतावनी दिएको अनुसन्धानबाट पत्ता लागेको छ । गौचनलाई भारतीय मोबाइल प्रयोग गरेर पटक–पटक धम्की आएको अनुसन्धानका क्रममा पाएका छौं ।’

गौचनसँग के विषयमा फिरौती मागेको हो र अपराधीले के कति रकम मागेका थिए भन्ने विषयमा प्रहरीले खुलाएको छैन । गौचनको हत्या गर्न हत्याराले एक महिनादेखि योजना बनाएको प्रहरीको दाबी छ । हत्याका क्रममा प्रयोग भएको बा३५प २४६१ नेपाली नम्बर राखिएको मोटरसाइकल भने भारतबाट चोरेर ल्याएर हत्याका लागि प्रयोग गरिएको अनुसन्धानबाट खुलेको छ । गौचनको हत्यामा प्रयोग गरिएका दुईवटा बन्दुक भारतबाट क्रमशः ५५ र ६५ हजारमा किनेर ल्याई प्रयोग गरिएको प्रहरीको भनाइ छ । पक्राउ गरेका पाँचजनालाई सांगठनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ । उनीहरूलाई ९० दिन हिरासतमा राखी अनुसन्धान गरिने प्रहरीले जनाएको छ । 

गत असोज २३ गते मध्यान्ह काठमाडौं शान्तिनगरको ओम शान्ति चोकमा गौचनलाई गोली हानी हत्या गरिएको थियो । हत्याको मुख्य योजनाकारसम्म प्रहरी अझै पुग्न नसकेको निर्माण व्यवसायी महासंघको आरोप छ । हत्याका लागि प्रयोग भएका व्यक्तिमात्र पक्राउ गरी प्रहरीले व्यवसायीलाई सान्त्वना दिने काम गरेको महासंघका उपमहासचिव विष्णु बुढाथोकीले बताए । पत्रकार सम्मेलनमा निर्माण व्यवसायी पनि उपस्थित थिए । प्रहरीले गौचन हत्याको सत्यतथ्य पत्ता लगाएर अपराधीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग व्यवसायीको छ ।

टिसर्टबाट अपराधीको पहिचान

प्रहरीले सिसीक्यामेराको सहयोगमा हत्याराको पहिचान गरेको थियो । गौचनलाई गोली हानेर भाग्ने क्रममा मुख्य सुटर स्याङतानले सुरुमा ज्याकेट र टोपी लगाएका थिए । गौचनलाई गोली हानेपछि ज्याकेट र टोपी घटनास्थलमै छाडेर उनी भागेका थिए । भाग्दा स्याङतानले लगाएको छिर्केमिर्के टिसर्ट तीनकुने प्रहरीको सिसी क्यामेराले कैद गरेको थियो । सिसी क्यामेराको फुटेजका आधारमा प्रहरीले अपराधीको पहिचान गरेको थियो । प्रहरीले स्याङतानलाई गौचनलाई गोली हानी भाग्दा लगाएको टिसर्टसँगै पक्रिएको थियो । प्रहरीले सार्वजनिक गर्दा स्याङतान हत्या गरिएको समयमा लगाएको टिसर्टमै थिए । 

प्रहरीले गौचन हत्याको ११ औं दिनमा भारतीय नागरिक मुकेशलाई हत्या गरेको रकम फोनबाट मागिरहेको समयमा पक्रिएको जनाएको छ । राम्रोसँग नेपाली पनि बोल्न नजान्ने उनी फोनमा समिरमानसँग पैसा मागिरहेका थिए । अन्यलाई स्याङताङ र पाण्डेले दिएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । गौचन हत्याका मुख्य योजनाकार मनोज र समिरमानलाई खोज्न प्रहरी भारतको गोवासम्म पुगेको जनाएको छ । प्रहरीले भारत प्रहरीको सहयोगमा उनीहरूको खोजी गरिरहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

गौचन हत्या प्रकरणका सुटर स्याङतान, हतियार व्यवस्थापन गर्ने महतो, हतियार खरिदका लागि सहयोग गर्ने पाण्डे र मोटरसाइकल व्यवस्थापन गर्ने गुरुङले हत्या गरेबापतको रकम योजनाकारबाट नपाएको प्रहरीलाई बयान दिएका छन् । उनीहरूलाई गौचनको हत्याका लागि एक महिना तालिम पनि दिइएको प्रहरीले जनाएको छ । हत्याको अनुसन्धान गर्न गृहमन्त्रालयले सात सदस्यीय टोली गठन गरेको थियो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं