26th April | 2018 | Thursday | 3:03:07 AM

देशभर चिसो बढ्यो

  POSTED ON : Sunday, 07 January, 2018 (3:14:03 PM)

देशभर चिसो बढ्यो

पार्वती थापामगर

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशैभर हृवात्त चिसो बढेको छ । न्यूनतम तापक्रम दिनदिनै घट्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन चिसो बढ्नेछ । 

विभागका अनुसार हरेकवर्ष सामान्यतयाः डिसेम्बर १५ देखि जनवरी १५ देशैभर बढी चिसो बढ्छ । यस समयमा उच्च हिमाली भेगमा हिमपातसमेत हुन्छ । 

शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस रहृयो । शनिबार जुम्लामा न्यूनतम तापक्रम माइनस ८ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ । जोमसोममा माइनस ४ दशमलव ७ र जिरीमा माइनस ३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो । दीपायलमा न्यूनतम तापक्रम शून्य दशमलव ७ डिग्री सेल्सियस मापन भएको थियो । 

चिसो बढ्ने क्रम अझै दुई हप्तासम्म रहनसक्ने मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार पश्चिम क्षेत्रका उच्च भूभागमा सामान्य हिमपात भइरहेको छ । उच्च क्षेत्रमा हिमपात बढ्न सक्ने भएकाले त्यहाँका बासिन्दा सजग रहनुपर्ने उनको भनाइ छ ।  

विभागका अनुसार तराई क्षेत्रमा पनि लगातार बाक्लो हुस्सु र शीतलहरका कारण चिसो बढेको छ । तराईको अधिकांश क्षेत्रमा अझै केही दिन घाम लाग्ने सम्भावना निकै कम रहेको र न्यूनतम तापक्रम घट्दै जानसक्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताए ।  

केही दिनयता काठमाडौं उपत्यकामा पनि न्यूनतम तापक्रम निरन्तर घटेको छ । उपत्यकामा बिहान र बेलुकी निकै चिसो छ भने तुसारोसमेत पर्न थालेको छ । दिउँसो घाम लागेर न्यानो भए पनि बिहान र बेलुका निकै चिसो छ ।  

विभागका अनुसार शनिबार पनि पूर्वदेखि पश्चिमसम्म पूरै तराई बाक्लो हुस्सु लाग्यो । तराईमा दिनभर घाम नलाग्दा निरन्तरको चिसोले जनजीवनमा असर परेको छ ।  

शनिबार विराटनगरमा न्यूनतम तापक्रम ७ दशमलव ७, डिग्री सेल्सियस रहृयो । दाङमा न्यूनतम तापक्रम २ डिग्री सेल्सियस, धनगढीमा ७ दशमलव २, जनकपुरमा ७ दशमलव ५, भैरहवामा ५ दशमलव ३, सिमरामा ३ डिग्री सेल्सियस रहृयो । 

उच्च पहाडी तथा पहाडी क्षेत्रमा शनिबार न्यूनतम तापक्रममा डडेल्धुरामा २ दशमलव ५, पोखरामा ४ दशमलव,  ओखलढुंगामा ३ दशमलव ५, ताप्लेजुङमा २ दशमलव ४, धनकुटामा ५ दशमलव ८, लुम्लेमा २ दशमलव ५ डिग्री सेल्सियस रहृयो ।  

काठमाडौं उपत्यकामा अझै तापक्रम घट्न सक्नेछ । काठमाडौं उपत्यकामा १४ जनवरी सन् २०१७ मा न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियस विभागले मापन गरेको थियो । विभागका अनुसार अहिलेकै जसरी तापक्रम घट्दै जाने हो भने गत वर्षभन्दा यस वर्ष न्यूनतम तापक्रम बढी हुने सम्भावना छ । 

विभागका अनुसार ११ जनवरी सन् १९९८ मा काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्री सेल्सियस मापन भएको थियो ।  काठमाडौं उपत्यकामा यो हालसम्मकै सबैभन्दा बढी न्यूनतम तापक्रम हो । 

चिसोबाट बच्न बालबालिका र वृद्धवृद्धा घरमै बस्न, न्यानो लुगा लगाउन र तातो झोल पदार्थ खान चकित्सकको सल्लाह छ ।